पहिलो किस्ता लिने नै दोस्रो किस्ता पाउन वञ्चित

विगू गाउँपालिका– ४ सिंगटीका जगतबहादुर खत्रीले भूकम्पपछि घर बनाएको डेढ वर्ष भयो । उनले पहिलो किस्ता लिएको २ वर्ष पुग्न लाग्यो । तर घर बनाए पनि दोस्रो किस्ताका लागि धाएको डेढ वर्ष पुगे पनि दोस्रो किस्ता पाउन सकेका छैनन् ।
उमेरले ७० कटेका खत्री भूकम्पले क्षति भएका निजीआवास अनुदान लिने देशकै पहिलो व्यक्ति हुन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका तत्कालीन कार्यकारी प्रमुख सुशील ज्ञवालीले निजीआवास अनुदान सम्झौताको सुरुवात सिंगटीबाटै गरेका थिए । २ वर्षअघि ज्ञवालीकै हातबाट सम्झौतापत्र गरी पहिलो किस्ता पाएका व्यक्ति हुन् खत्री ।
भूकम्पले क्षति पु¥याएको संरचना पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण बन्यो । प्राधिकरण बनेपछि डा. गोविन्द पोखरेल, सुशील ज्ञवाली, पुनः पोखरेल र अहिले युवराज भुसालसम्म ४ जना प्रमुख कार्यकारी अधिकृत बने । सबैको भनाइ चाँडोभन्दा चाँडो पुनर्निर्माण गर्ने र सबैलाई पक्कि घरमा सार्ने छ । तर पहिलो पटक प्रमुख कार्यकारी अधिकृतसँगै सम्झौता गर्नेले त दोस्रो किस्ता लिन सकेका छैनन् भने अरुको त के हालत होला ?विगू गाउँपालिका–४ का वडाध्यक्ष बुक्ताम तामाङले भने ।
पहिलो किस्ता लिएपछि बलियो घर यसरी बनाउन सकिन्छ भन्ने छिमेकीले भनेको सुनेर पिलर राखेरै जगतबहादुरले साविककै ठाउँमा घर बनाए । उनले घर बनाउँदा न कोही प्राविधिक हेर्न आए त न कसैले यसरी बनाऊ भन्ने सल्लाह दिए । केबल छिमेकीहरूकै सल्लाहअनुसार घर बनाए । त्यो पूरा गरी अहिले २ बूढाबूढी त्यहीं बस्दै आएका छन् ।
“अब त दोस्रो किस्ता पनि माग्न छाडिसकें,” उनले भने, “वडा कार्यालय, तत्कालीन गाविस र अहिलेको गाउँपालिका, पुनर्निर्माण प्राधिकरण धाउने जति धाएँ, भन्ने जतिलाई भने केही लागेन अब जे होला ।” सिंगटीमा खत्रीजस्ता धेरैले पहिलो किस्ता लिएर घर बनाएका छन् । तर त्यहाँ न कसैले रोक्यो न त प्राविधिक रेखदेख नै गरे । सबै आफ्नै जोखिमले घर बनाएका छन् ।
जलविद्युत् आयोजनाहरूका कारण सिंगटी बजार भूकम्पले तहसनहस पारे पनि केही समयपछि नै गुलजार बनेको थियो । २०७२ वैशाख २९ गतेको भूकम्पको केन्द्रविन्दु यो बजारनजिकै परेकाले बढी क्षति भएको हो । वडाध्यक्ष तामाङले सिंगटीमा यस्ता ४ सय जति घर निर्माणाधीन र बनाउन बाँकी छन् ।जनप्रतिनिधि भएपछि सिंगटीबासीलाई दोस्रो किस्ता अनुदान उपलब्ध गराउन सक्दो पहल गरेको बताए ।
यस कारण रोकियो अनुदान
सिंगटी तामाकोसी र सिंगटी खोलाको दोभानमा पर्ने बजार हो । भूकम्पले पनि बढी क्षति भएकाले सुरुमा सिंगटीमा बस्ती राख्न नहुने प्राविधिकहरूले सुझाव दिएका कारण प्राधिकरणले पहिलो किस्ता दिए पनि दोस्रो किस्तामा आनाकानी गर्दै आएको छ ।
अहिले सुरक्षित बासका लागि भीरबाट १० मिटर टाढा र खोला तथा नदीबाट ५० मिटर टाढामात्र आवास निर्माण गर्न पाउने व्यवस्था गरेको छ । यो नियम लागू भएमा सिंगटीका लादुकतिरको बजारमा कुनै पनि घर नै बनाउँन मिल्दैन । विगु गाउँपालिका—४ अन्तर्गत पर्ने सिंगटीमा गएको वैशाखमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका तत्कालीन प्रमुख डा. गोविन्द पोखरेल पनि आएका थिए । उनले तत्काल दोस्रो किस्ताको व्यवस्था मिलाइ दिने आश्वासनसमेत दिएका थिए ।
अनुदान पाउने आशा
विगू गाउँपालिका– ४ सिंगटीका भूकम्पपीडितले अब आवास निर्माणका लागि अनुदान पाउने आशा पलाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १० दिनअघि सिंगटी बजार क्षेत्रमा आवास निर्माण गर्ने भूकम्पपीडितलाई अनुदान वितरणका लागि परिपत्र गरेपछि स्थानीयहरू घर बनाउन पाउनेमा आशावादी भएका हुन् ।
नदीकिनार र पहिरोको जोखिममा रहेका कारण सिंगटी बजारमा प्राधिकरणले आवास निर्माणका लागि अनुदान रोकेको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिरकण सचिव मधुसूदन अधिकारीले अब सिंगटीमा घर बनाउन खुल्ला गरिएको जानकारी दिए । प्राधिकरण दोलखाका प्रमुख सागर आचार्यले पनि केन्द्रबाट जिल्लामा परिपत्र आएको स्वीकार गरे ।
बजारभन्दा माथिको पहिलो माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले रोकथाम गर्ने काम सुरु गरेको र तामाकोसी नदीको कटान जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयले तटबन्ध गरेकाले बजार सुरक्षित हुनसक्ने भएकाले स्थानीय जनप्रतिनिधिले सुरक्षित ठाने मापदण्डअनुसार अनुदान वितरण गर्नसक्ने उनले बताए । विगतमा पहिलो र नदीको कटानकै समस्याका कारण अनुदान रोक्दै आएको थियो । प्राधिकरणमा परिपत्र आएपछि ठाउँ हेरेर घर बनाउनका लागि अनुमति दिने विगू गाउँपालिकाका अध्यक्ष युधिष्टिर खड्काले बताए ।
सोलुखुम्बुका ५० % भूकम्प प्रभावितले पहिलो किस्ता बुझे
सोलुखुम्बुमा ६ हजारभन्दा बढी भूकम्प प्रभावितले पहिलो किस्ताको रकम बुझेका छन् । लाभग्राहीको सूचीमा रहेका ११ हजार ९७९ जना प्रभावितमध्ये ६ हजार ३४० जनाले पहिलो किस्ता ५० हजार बुझेका हुन् । लाभग्राही र पहिलो किस्ता पाएको संख्यालाई हेर्दा ५० प्रतिशत भूकम्प प्रभावितले पहिलो किस्तावापतको अनुदान रकम हात पारेका छन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिले १० हजार ३५४ जना लाभग्राहीको सूची र रकम बैंकलाई पठाइसकेको जनाएको छ । राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले अनुदान रकम वितरण गरिरहेको छ । वाणिज्य बैंकले हालसम्म ३ हजार ८४९ लाभग्राहीलाई अनुदान रकम वितरण गरेको प्रबन्ध निर्देशक श्यामकुमार श्रेष्ठले बताए । श्रेष्ठले ६ हजार ९७० जनालाई रकम वितरण गर्नुपर्ने भए पनि ५० प्रतिशत वितरण गरिसकिएको बताए ।
त्यस्तै, कृषि विकास बैंकले २ हजार ४९१ जना भूकम्प प्रभावितलाई पहिलो किस्ता वितरण गरेको बैंकका प्रबन्ध निर्देशक मन्दीप न्यौपानेले जानकारी दिए । बैंकले देउसा, केरुङ, जुबु, पन्चन, मुक्लि, गोराखानी टाप्टिङ, जुभिङ, काँकु, तिङलाका लाभग्राहीलाई पहिलो किस्ता वितरण गरिसकेको छ भने बासा र तिङलाको छुटफुट गरि ५८३ जनालाई अनुदान रकम वितरण गर्न बाँकी रहेको बताएको छ ।
बेलाबेलामा इन्टरनेट र विद्युत् अवरुद्धले समस्या हुने भए पनि भूकम्प प्रभावितलाई सरल सेवा प्रवाह गरिरहेको सम्बन्धित बैंकहरूले जनाएका छन् ।