अवैध रुपमा भारत जाने बढे «

अवैध रुपमा भारत जाने बढे

कञ्चनपुर-पछिल्लो समय अवैध रुपमा भारत जाने नेपालीको संख्यामा वृद्धि भएको माइती नेपाल कञ्चनपुरले जनाएको छ । रोजगारीको लागि भन्दै नेपालबाट भारतको विभिन्न सहरहरुमा जाने नेपालीहरु जोखिममा रहेको र बेचबिखनमा पर्ने गरेको माइती नेपालको भनाइ छ ।
पछिल्लो समय नेपालीहरु भारतको देहरादून बढी गइरहेको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बताइन् । माइती नेपाल कञ्चनपुरले भारतका विभिन्न सहरमा जोखिमपूर्ण अवस्थामा रहेका १० जना महिला तथा बालबालिकाको उद्धारसमेत गरेको छ । माइती नेपाल कञ्चनपुरको तथ्यांकअनुसार सन् २०१८ मा मानव वेचविखनको जोखिममा रहेका १ सय ९५ जना महिला तथा बालबालिकालाई सीमा नाकामा रोकथाम गरिएको छ । माइती नेपालले पश्चिमी नाका गड्डाचौकी र दोधरा चाँदनी झोलुङ्गे पुलमा बिट राखेर काम गर्दै आएको भएपनि दलालहरु बेलौरी र ब्रम्हदेवको नाका प्रयोग गर्ने गरेको पाइएको छ ।
माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले दललाहरुको बलियो सञ्जालले मानब बेचबिखन रोकथाममा चुनौती रहेको बताइन् । उनले परिवारले पनि दलालहरुको बढी विश्वास गरेकोले पारिवारिक पुनर्मिलन गराउन समस्या भएको जानकारी दिइन् । उनले भनिन्, “सीमा नाकामा हामीले रोकथाम गरेपनि जान दिनु भनेर वडाअध्यक्षहरुको फोन आउँछ । पछिल्लो समय छुटाउनको लागि जनप्रतिनिधीहरुले नै दबाब दिने गरेका छन् ।” संयोजक भट्टले सामाजिक सञ्जालमा जोडिएर पनि थुप्रै नेपालीहरु भारत जाने र त्यहीबाट बेचिने गरेको बताइन् ।
सन् २०१७ मा २०६ जना महिला तथा बालबालिकालाई सीमा नाकामा रोकिएको थियो । विगतको तुलनामा सन् २०१८ मा भारतबाट उद्धार गरिएका महिला तथा बालबालिकाको संख्या कम देखिए पनि मानव बेचबिखनलाई पूर्ण रुपमा न्यूनिकरण गर्न नसकिएको माइती नेपाल कञ्चनपुरको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्