कांग्रेसले हिन्दू राष्ट्रको मुद्दा बोकेको छैन «

कांग्रेसले हिन्दू राष्ट्रको मुद्दा बोकेको छैन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले कांग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पारेका छन् । सोमबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले धर्मनिरपेक्षताको ठाउँमा धार्मिक स्वतन्त्रता बनाउने बहस पार्टीभित्र चलेको बताए । यद्यपि, उनले कांग्रेसले हिन्दू राष्ट्रको मुद्दा नबोकेको जिकिर गरे ।
साउदले हालै सम्पन्न पार्टीको महासमिति बैठक ऐतिहासिक भएको र यसले देशैभरि एकताको सन्देश दिएको पनि दाबी गरे । महासमिति बैठकमा धर्मनिरपेक्षताबारे गम्भिर प्रश्न उठेको पनि उनले सुनाए । उनले भने, “आधाभन्दा बढी सदस्यहरुले यसबारे प्रश्न उठाउनुभएको छ ।”
सरकार एशिया प्यासिफिक समिटमा सहभागी भएको कुरा उल्लेख गर्दै उनले राज्य आफै नयाँ–नयाँ धर्मको प्रचारमा लागिपरेको गम्भिर आरोप लगाए । उनले भने, “कोरियाका विवादित व्यक्तिलाई बोलाउने काम यो सरकारले गरेको र सरकार आफै सहभागी भएकोबारे हाम्रो पार्टीभित्र समिक्षा भएको छ । कांग्रेसले सरकारको यो कदमलाई भत्र्सनायोग्य र गम्भिर कदमको संज्ञा दिएको छ ।” पछिल्लो समय धर्मनिरपेक्षताको विषयमा लगातार बहस चलेको पनि उनले टिप्पणी गरे ।
साउदले महासमितिका धेरै साथीहरुले धर्मनिरपेक्षताको ठाउँमा धार्मिक स्वतन्त्रता हुनुपर्छ भनेर आवाज उठाएको र यसप्रति पार्टीभित्र छलफल हुनेपनि जनाए । उनले भने, “सरकार धर्मनिरपेक्षताको आचरणमा धर्म रुपान्तरणमा सामेल भएको छ । यो जघन्य कुरा हो ।” पछिल्लो समय नेपालमा धार्मिक अहिष्णुताको जोखिम बढेको पनि उनले खतरा औंल्याए ।
फरक प्रसंगमा उनले वर्तमान सरकारले एउटा पनि राम्रो काम गर्न नसकेको आरोप लगाए । उनले भने, “सुशासनको ठाउँमा कुशासन दिएको छ । होली वाइन पिउने काम गरेको छ । वाइडबडी जहाज प्रकरण हेर्नुहोस् । नेकपाभित्रै अहिले घम्साघम्सी चलिरहेको छ ।”
साउदले निर्मला पन्तको बलात्कारपछि हत्या भएको १५० दिन बितिसक्दा पनि अहिलेसम्म वास्तविक अपराधी पत्ता लगाउन नसकेकोमा सरकारप्रति आक्रोश पोखे । उनले भने, “एउटी अबोध बालिकाको यसरी निर्मम तरिकाले हत्या भएको छ । तर, सरकारले घटनाको अनुसन्धानबारे लापरवाही गरिरहेको छ । नक्कली मान्छे खडा गरेको छ । वास्तविक अपराधी पत्ता लगाउन सकेको छैन ।” उनले कांग्रेसले अब संसद र सडक दुवै ठाउँमा संघर्ष गर्ने पनि जनाए ।

प्रतिक्रिया दिनुहोस्