अध्यक्षद्वयको प्रतिवेदन सर्वसम्मतिले पारित हुन्छ : गजुरेल «

अध्यक्षद्वयको प्रतिवेदन सर्वसम्मतिले पारित हुन्छ : गजुरेल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री हरिबोल गजुरेलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित हुने स्पष्ट पारेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले बैठकमा वामदेव गौतमले छुट्टै प्रतिवेदन नभएर सुझावको रुपमा पेश गरेको जिकिर गरे । उनले भने, “वामदेवजीको सुझावमा पीडाहरु छन् । असन्तुष्टिहरु छन् । त्यो भनेको त भावनाको कुरा हो । त्यसलाई सम्बोधन गर्नुपर्छ ।”
उनले पार्टीको जारी स्थायी समिति बैठकमा सदस्यहरुले खुलेर आफ्ना कुराहरु राखेको सुनाए । उनले भने, “कम्तिमा पनि २० मिनेटको पर्याप्त समय लिएर हामी नेताहरुले आ–आफ्नो कुरा राख्यौं । हामीले आफ्ना कुराहरु खुलेर राखेका छौं । यो बैठकसँगै हामी अब सम्भावना पहिल्याउन र चुनौतीहरु सामना गर्न सफल भएका छौं ।”
उनले अब पार्टी एकताबद्ध भएर अघि बढ्ने पनि विश्वास दिलाए । स्थायी समिति बैठकमा मन्त्रीहरु फिर्ता बोलाउने भन्नेबारे पनि नेताहरुले आवाज उठाउनुभएको थियो भन्ने सुनियो नि भनेर सोधेको प्रश्नमा उनले भने, “सरकारलाई सफल बनाउनुपर्छ । प्रधानमन्त्रीलाई काम गर्नको लागि आरामदायी वातावरण बनाउनुपर्छ भन्ने कुरा आएका छन् । यो उहाँले निर्णय गर्ने कुरा हो ।”
फरक प्रसंगमा गजुरेलले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हिन्दू राष्ट्रको कुरा उठाएकोमा आपत्ति जनाए । उनले आक्रोश पोखे, “कांग्रेसलाई उल्टो बुद्धि आएको छ । राज्यको नजरमा सबै धर्मको स्टाटस बराबर छ । विपीको छोराले हिन्दू राष्ट्रको कुरा उठाउनुभयो, यसले उहाँको क्रेज घटाइदिएको छ । फेरि २०१७ सालको वातावरण बनाउन खोजेको हो ?”
काठमाडौंमा हालै सम्पन्न भएको एशिया प्यासिफिक समिटमा सरकारले भाग लिएर गलत गरेको भनेर बाहिर आलोचना भएकोप्रति टिप्पणी गर्दै उनले भने, “कम्युनिष्ट सरकार गठन भएकोमा धेरैलाई चित्त बुझेको छैन, त्यही भएर सरकारको आलोचना भैरहेको छ ।” उनले एशिया प्यासिफिक समिट धार्मिक कार्यक्रम नभएको पनि जिकिर गरे ।
आफूले स्थायी समिति बैठकमा यसबारेमा लिखित रुपमै सुझाव राखेको पनि उनले सुनाए । शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने बारेपनि पार्टीमा गम्भिर रुपमा छलफल भएको उनको भर्ना छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हालै अमेरिका भ्रमण गरेको र अमेरिकाले नेपालमा स्थायी सरकार आएकोले विशेष महत्व दिएको उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्