८७ घर जलेर नष्ट, ३ करोडको क्षति «

८७ घर जलेर नष्ट, ३ करोडको क्षति

जुम्ला-कालिकोटको पलाँता गाउँपालिका–१ खाडामा भीषण आगलागी हुँदा ८७ घर जलेर नष्ट भएका छन् । आइतबार रातिदेखि लागेको आगोले खाडा गाउँको बस्ती नै सखाप भएको छ । आगलागीबाट करिब ५ करोड रुपैयाँबराबारको क्षति भएको स्थानीय प्रशासनले अनुमान गरेको छ ।
आगलागीबाट खाँडा गाउँका झण्डै ५ सय ४० घरपरिवार प्रभावित भएका छन् । आगलागीमा ७ स्थानीय घाइते भएको गाउँपालिका उपाध्यक्ष दानादेवी न्यौपानेले जानकारी दिइन् । आगलागीमा जलेर दुई भैंसी, १४ गोरु र दुई बाख्रा मरेका छन् । आइतबार राति सल्किएको आगोले गाउँका सबै घर ध्वस्त भएपछि खाडागाउँका बासिन्दा निराश छन् । मानवीय क्षति नभए पनि उनीहरूको बस्ने बास ध्वस्त भएको छ, खाद्यान्न नष्ट भएको छ र कतिपयका गोठमा बाँधिएका चौपाया पनि मरेका छन् ।
आइतबार राति करिब १० बजेदेखि सुरु भएको आगो सोमबार दिउँसो १२ बजे पछिमात्रै नियन्त्रणमा आएको स्थानीय जयमान बुढाले बताए । परम्परागत शैलीका खरले छाएका छाना भएको १ सय ७९ घरधुरी रहेको गाउँको तल्लो छेउमा रहेको नवीन न्यौपानेको घरबाट सुरु भएको आगोले ८७ घर जलेर नष्ट भएका छन् । प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीका अनुसार भागदौडका क्रममा ७ जना स्थानीय घाइते भएका छन् । उनीहरूको उपचारका लागि मान्मा ल्याइएको उनको भनाइ छ ।
जिल्लाको पलाँता गाँउपालिकाको खाडामा उद्धार तथा राहतका लागि खटिने मान्छेको पनि अभाव भएको थियो । अधिकांश युवाहरू रोजगारीका लागि कालापाड गएका छन् । गाउँ युवाविहीन छ । गाँउमा महिला, वृद्धवृद्धा र केटाकेटीमात्रै भएकोले समस्या भएको पीडित असारे न्यौपानेले बताए । “छोरा कालापहाड गएको छ । आगलागी भयो, अब कहाँ बस्ने के खाने, पत्तो छैन । कसले साथ देला,” उनले गुनासो पोखे । आगोले पूरै गाउँ जलाएपछि त्यहाँका ८७ घरपरिवार बिचल्लीमा परेका छन् । उनीहरूले पुस महिनाको कठ्याङ्ग्रिँदो जाडोमा आफ्नै घरमा लागेको आगो सेकेर चिसो कटाएकोे पलाँता गाउँपालिका उपाध्यक्ष दानादेवी न्यौपानेले बताइन् ।
पताँला गाउँपालिका अध्यक्ष लक्ष्मण बमले खान–बस्नको लागि गाउँपालिकाले बन्दोबस्त गर्ने छ बताए । राहत र उद्धारमा जुट्न सबैलाई अध्यक्ष बलमे अपिलसमेत गरेका छन् ।
यसैबीच, कर्णाली प्रदेश सरकारले कालिकोटका आगलागी पीडितलाई राहत उपलब्ध गराउने भएको छ । आगलागीबाट पूर्णरुपमा घर जलेपछि प्रदेश सरकारको बैठक बसी राहत उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री महेन्द्रबहादुर साहीका प्रेस सल्लाहकार धु्रव बुढाथोकीले जनाकारी दिए । उनका अनुसार मुख्यमन्त्रीको निर्देशनमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट राहतस्वरुप प्रति घरधुरी २० हजार नगद, आवश्यक लत्ताकपडा र खाद्यान्न उपलब्ध गराउने निर्णय भएको छ । ८७ घरधुरी लाई २० हजारका दरले प्रदेश सरकारले १७ लाख ४० हजारबराबरको राहत वितरण गर्ने भएको छ ।
आगलागीबाट घाइते भएकाको उपचारमा सजग रहन पनि मुख्यन्त्री साहीले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । कर्णाली सरकारले उक्त क्षेत्रका आगलागी पीडितलाई थप राहत र पुनस्र्थापनाको सहयोगका लागि नेपाल सरकार, गृह मन्त्रालय, रेडक्रस तथा अन्य सहयोगी संस्थालाई आग्रह गर्ने भएको छ ।
आगलागी पीडितको उद्धारका लागि कालिकोट उद्योग वाणिज्य संघको अगुवाइमा राहत संकलन अभियान थालिएको छ । कालिकोटका सबैजसो व्यापारीहरु राहत संकलनमा जुटेका छन् । कालिकोट उद्योग वाणिज्य संघका अध्यक्ष अध्यक्ष सूर्यबहादुर शाहीले भने पीडितलाई राहत पु-याउने उद्देश्यले आफूहरु लागिपरेको बताए ।

प्रतिक्रिया दिनुहोस्