लगानी सम्मेलन, परियोजना शोकेसमा «

लगानी सम्मेलन, परियोजना शोकेसमा

सरकारले आगामी चैतमा गर्न लागेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा विदेशी लगानीकर्तालाई आकर्षित गर्न विभिन्न परियोजना शोकेसका रूपमा राख्ने भएको छ । २०७३ सालमा निकै तामझामका साथ गरिएको सम्मेलनमा लगानी प्रतिवद्धता अपेक्षाभन्दा निकै धेरै आए पनि वास्तविक लगानी आउन नसकेपछि यसपटक भने परियोजना शोकेसका रूपमा राख्न लागिएको हो । सम्भाव्यता अध्ययन पूरा भएका आयोजनाहरू सम्मेलनमा राख्ने र लगानीकर्ताहरूलाई स्पष्ट मार्ग देखाउने लक्ष्य रहेको छ ।
लगानी बोर्डका प्रवक्ता उत्तम वाग्लेले०७३ को लगानी सम्मेलनले नेपाल लगानीका लागि उचित गन्तव्य हो भन्ने सन्देश दिएको र अबको सम्मेलनले लगानी आउने दाबी गरे । “हामीले अब सन्देशमात्रै नदिएर नेपाल लगानीका लागि उचित गन्तव्य भइसकेको तथ्य पुष्टि गर्न गइरहेका छौं,” उनले भने “देशमा तीनै तहको निर्वाचन सम्पन्न भई दुईतिहाई बहुमतप्राप्त स्थायी सरकार गठन भएको छ, लगानीसँग सम्बन्धित ऐन कानुनहरूलाई सरल पार्ने भएका अप्ठ्याराहरू हटाउने काम भएको छ ।” एकद्वार पद्धतिबाट लगानी ल्याउने प्रक्रिया अगाडि बढेका छन् । अब नेपालमा लगानी ल्याउन र परियोजना सञ्चालन गर्न कुनै कठिनाइ छैन भन्ने तथ्य सम्मेलनले दिने उनको दाबी छ । देशमा पर्याप्त अवसर भएका क्षेत्रहरूलाई किटान गरेर प्रोजेक्ट शोकेसका रूपमा सम्मेलनमा राखिने र यसबाट लगानीकर्तालाई सम्भावित परियोजनामा लगानी गर्न सहज हुने उनको भनाइ छ ।
नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले सम्मेलन गर्नु राम्रो कुरा भए पनि प्रडक्टबिनाको मार्केटिङ प्रभावकारी नहुने बताए । नीतिगत रूपमा धेरै परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उनले छुटको सुविधासहित परियोजनाको स्पष्ट किटान हुनुपर्ने धारणा राखे । थाइल्याण्ड, म्यानमार, भियतनाम, कम्बोडियालगायतका देशहरू विदेशी लगानीका लागि रेड कार्पेट ओच्छ्याएर बसेको बेला नेपालमा भने नीतिगत रूपमा संकुचित रहेको र उद्योगीलाईे हेर्ने मानसिकता ठिक नभएको उनको भनाइ छ । विदेशी लगानी ल्याउन आवश्यक सुविधा र काुननी सहजीकरण गनुपर्छ । विदेशी लगानीकर्तालाई आकर्षित गर्ने हो भने कम्तिमा ५० वटा परियोजना तयारी अवस्थामा राखेर मात्रै सम्मेलन गर्नुपर्छ ।
नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष सतिशकुमार मोर पनि विदेशी लगानीका लागि नेपालमा प्रक्रियागत झन्झट धेरै भएको बताउँछन् । एकद्वार नीतिको व्यवस्था नभएसम्म विदेशी लगानीकर्ताले समस्या झेल्नुपर्ने र लगानी गर्न चाहाने लगानीकर्ता पनि अन्यन्त्र जाने उनी बताउँछन् ।
आर्थिक रूपमा सम्पन्न मुलुकहरूले समेत विदेशी लगानी भित्र्या उन खुकुलो नीति बनाएका हुन्छन् । समयअनुसार नीति तथा ऐन परिमार्जन गरी लगानीकर्ता आकर्षित गर्ने होडबाजी अहिले विश्व समुदायमा चलिरहेको छ । छिमेकी मुलुक चीन र भारतले विदेशी लगानी भित्राउन विभिन्न सेवा सुविधा तथा सहुलियतको घोषणा गरिरहेका छन् । नेपालले पनि छिमेकी राष्ट्रबाट सिक्नु जरुरी भएको चेम्बरका उपाध्यक्ष कमलेश अग्रवाल बताउँछन् । नेपालमा अहिले पनि लगानीमैत्री वातावरण छैन । लगानीकर्तालाई पूर्ण रूपमा विश्वास दिलाउन नसकेसम्म कुनै पनि विदेशी नेपालमा लगानी गर्न आउँदैन । सम्मेलन गर्नु राम्रो भए पनि लगानीका लागि विश्वासिलो वातावरण महत्वपूर्ण हुने उनको अनुभव छ ।
विश्व बैंकले सार्वजनिक गरेको डुइङ विजनेस इन्डेक्समा नेपालको अवस्थामा ११० औं स्थानमा छ । नेपाल लगानीमैत्री राष्ट्र बन्नका लागि कर तिर्ने पद्धतिमा सुधार गर्न आवश्यक रहेको प्रतिवेदनले देखाएको छ । नेपालमा कर तिर्ने प्रणाली निकै झन्झटिलो भएकाले व्यवसाय गर्न पनि झनै असहज छ ।

 

प्रतिक्रिया दिनुहोस्