सेयर बजार परिसूचक ३ हजार माथि

सेयर बजार परिसूचक (नेप्से)ले मनोबैज्ञानिक बिन्दु ३ हजार पार गरेको छ । साताको दोस्रो दिन सोमबार बजार नयाँ कीर्तिमान कायम गर्दैै आइतबारभन्दा ४२.७२ अंकले बढेर ३०२५.८२ अंकमा बन्द भएको छ ।
सोमबार २२१ कम्पनीका ३ करोड ५० लाख कित्ता सेयर किनबेच भई १८ अर्व ८८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबारको तुलनामा कारोबार रकम भने घटेको छ ।
सोमबार बैंकिङ, फाइनान्स, होटल तथा टुरिजम, निर्जीवन तथा जीवन बिमा र लगानी समूह उकालो लाग्दा नेप्सेमा सकारात्मक प्रभाव परेको हो । आइतबार बढेको विकास बैंक समूह भने ५६ अंकले घटेको छ । यसैगरी व्यापार, जलविद्युत, लघुवित्त र अन्य समूह पनि घटेका छन् । यसदिन ९४ कम्पनीको सेयर मूल्य बढेको, ८५ कम्पनीको घटेको छ भने ४ कम्पनीका मूल्य स्थिर रहेको छ ।
निषेधाज्ञाका कारण अनलाइनमार्फत कारोबार हुने सेयर बजारमा व्यापारी, व्यवसायी समेत अल्पकालिन रुपमा लगानी गर्दा बजार बढ्न सघाएको हो । यसैगरी बजारमा नयाँ लगानीकर्ताको प्रवेश, बैंकको सस्तो व्याजदरलाई पनि बजार बढ्नुको कारणका रुपमा आंैल्याउने गरिएको छ ।
दिनहुँ कीर्तिमान कायम गरिरहेको बजारको वृद्धि अस्वभाविक र चलखेल भएको भन्दै सचेत हुन नियामकले भने सर्वसाधारणलाई आग्रह गर्दै आएका छन् । नेपाल धितोपत्र बोर्डले समेत बजारमा कारोबार वृद्धिसँगै सेयर कर्नरिङ र सर्कूलर ट्रेडिङ भएको विषयमा अध्ययन सुरु गरिएको भन्दै लहैलहैमा लगानी नगर्न समेत सुझाव दिएको छ ।