सीईएस २०१८ मा विश्वकै ठूलो टेलिभिजन ‘दि वाल’ «

सीईएस २०१८ मा विश्वकै ठूलो टेलिभिजन ‘दि वाल’

हरेक वर्षको जनवरीमा अमेरिकामा आयोजना हुने कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस) अहिले चलिरहेको छ । प्रदर्शनीमा सयौं नयाँ प्रविधि सार्वजनिक गरिँदै आइएका छन् ।
यो वर्षको कार्यक्रममा सार्वजनिक गरिएका प्रविधिमा विश्वकै ठूलो स्क्रीनको टेलिभिजन पनि आकर्षणको केन्द्र बनेको छ । कोरियन कम्पनी सामसङले सार्वजनिक गरेको १४६ इन्च डिस्प्ले भएको टेलिभिजन विश्वकै हालसम्मको सबैभन्दा ठूलो स्क्रीन भएको टेलिभिजन हो । पहिलो मोडूलर माइक्रो एलईडी प्रविधिमा आधारित टेलिभिजनसमेत रहेको यो उत्पादनलाई सामसङले ‘द वाल’ नाम दिएको छ । हाल बजारमा ओएलईडी डिस्प्लेका टेलिभिजन सेटहरू चल्तिमा छन् तर माइक्रो एलईडी भने यो नै पहिलो हो । यससँगै प्रविधि बजारमा ओएलईडी प्रविधि विस्थापन हुने चर्चा गर्न थालिएको छ ।
मोबाइल फोनदेखि फ्रिज, ओभन, टेलिभिजन लगाएतका घरायसी इलेक्ट्रिक तथा सूचना प्रविधिमा आधारित स्मार्ट ग्याजेट उत्पादनमा सामसङ अग्रणी मानिन्छ । सामसङले सार्वजनिक गरेको यो टेलिभिजन कम्पनीको भ्वाइस फिचर बिक्सबी सपोर्ट गर्नेछ । कम्पनीले २०१८ मा उपलब्ध हुने बताएको यो उत्पादनको मूल्य भने सार्वजनिक गरिएको छैन । टेलिभिजनले सपोर्ट गर्ने माइक्रो एलईडी प्रविधिले पिक्चरको हरेक पिक्सेलमा उनीहरूको आफ्नै लाइट हन्छ, जसले गर्दा एलसिडीको जस्तो ब्याक लाईट आवश्यक पर्दैन ।
सामसङको टेलिभिजनमा माइक्रो एलईडीले उच्चस्तरको ब्राइटनेस तथा पावर कार्यदक्षता हुने बताइन्छ । ओएलईडी डिस्प्लेभन्दा लामो अबधिसम्म टिक्ने कम्पनीको दाबी छ । यो टिभीको सबैभन्दा ठूलो विशेषता भनेको यसलाई आफूले चाहेअनुसारको साइजमा तयार पार्न सकिन्छ । यसो त सीइएसमा अन्य कम्पनीहरूले पनि स्मार्ट टेलिभिजनहरू सार्वजनिक गरिरहेका छन् । गत वर्षको सीइएसमा प्रभावशाली उपस्थिति जनाउन नसकेको सामसङले यो वर्ष भने पर्याप्त उत्पादन प्रदर्शन गरिरहेको छ । सामसङ ग्यालेक्सी एसएट स्मार्टफोन, सामसङ फ्लीप डिजिटल ह्वाइटबोर्ड, सामसङ गियर एस थ्री स्मार्टवाच, नोटबुक सेभेन स्पेन, साउन्डबार, स्मार्ट फ्रिज लगाएत सामसङले सीइएसमा सार्वजनिक गरेका नयाँ उत्पादन हुन् ।

प्रतिक्रिया दिनुहोस्