व्यापार घाटा कम गर्न उत्पादनलाई गुणस्तरीय बनाउन जोड «

व्यापार घाटा कम गर्न उत्पादनलाई गुणस्तरीय बनाउन जोड

मुलुकको अर्थतन्त्रको आधारस्तम्भका रूपमा रहेका लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरूलाई गुणस्तरीय, प्रतिस्पर्धी बनाइ बजारीकरण ध्यान दिनुपर्ने सरोकारवालले बताएका छन् । बढ्दो व्यापार घाटा कम गरी निर्यात बढाउने विषयमा नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग बुधबार मन्त्रालयमा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा  वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मुख्य माध्यम बनेका यस्ता उद्योगको विकास र बजारीकरणमा सरकारले उच्च प्राथमिकता दिएको जानकारी गराए । 

वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले मुलुकको व्यापारको अवस्था कहाली लाग्दो अवस्थामा रहेको बताए । “साना उद्योगद्वारा उत्पादित सामानहरूलाई उच्च गुणस्तरीय बनाउन सकेमा अन्तर्राष्ट्रिय बजारका लागि हाम्रा प्रतिस्पर्धी कोही हुन सक्दैनन्,” विश्वकर्माले भने, “यसले  व्यापार घाटा कम गर्न सकिनेछ ।” उनले घरेलु तथा साना उद्योग विकासका लागि गुणस्तरमा ध्यान दिनुपर्ने बताए ।

सहकारीको माध्यमबाट मुलुकका लागि बचत तथा ऋण सहकारी होइन हस्तकला, घरेलु उद्योग जस्ता विषयगत सहकारीको अवधारणा विकास गर्नुपर्ने उनको भनाइ छ । साना उद्योगहरूलाई समूहगत रूपमा विकास गर्दै लैजानु पर्ने उनले बताए । छिट्टै नाफा कमाउने लोभमा कम गुणस्तरीय वस्तु उत्पादन गर्नेतर्फ लाग्दा नेपाली ब्रान्ड नै बिग्रँदै गएकोे व्यवसायीलाई त्यसतर्फ नलाग्न आग्रह गरे ।

छिटो नाफा कमाउने लोभमा चिया, अदुवा, पश्मिना, सुपारीलगायतका ब्रान्डलाई छिमेकी मुलुकबाट ल्याएर निर्यात गर्ने प्रवृत्तिले देखिएकाले त्यसलाई अन्त्य गर्नुपर्ने बताए । उनले नेपालको आर्थिक रूपान्तरण गर्न लघु, घरेलु तथा साना उद्योगहरूमा समय सुहाउँदो प्रविधि र सीपको विकास जोड दिएका थिए ।

लघु, घरेलु तथा साना उद्योगको विकास गर्न सकेमा मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले बताए । “साना उद्योगको विकास गर्न लघु तथा घरेलु उद्यमीलाई आत्मनिर्भर बनाउनुपर्छ,” चन्दले भने । उनले स्वदेशी मौलिक उत्पादनहरूलाई अन्तराष्ट्रिय बजारमा बजारीकरण गर्ने उद्देश्यका साथ वाणिज्य मन्त्रालयको स्थापना भएको स्पस्ट पारे । घरेलु तथा साना उद्योगहरूलाई प्रवद्र्घन र विकास गर्ने मुख्य दायित्व मन्त्रालयको रहेको उनको भनाइ छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले लघु, घरेलु तथा साना उद्योगमा नीतिगत प्रष्टताको अभावमा फष्टाउन नसकेको बताए । उनले संख्यात्मक हिसाबले समेत यस्ता उद्योगहरू कम हँुदै ३ लाख २० हजार उद्योगबाट अहिले १ लाख ९५ हजार उद्योगहरू सञ्चालनमा रहेको जानकारी गराए ।

“नीति निर्माण एक जीवन्त प्रक्रिया हो, जसले गर्दा लघु घरेलु तथा साना उद्योग सम्बन्धि नीतिहरू समयअनुसार परिमार्जित गर्दै जानुपर्छ,” गिरीले भने, “वित्तीय तथा प्रविधि पहुँच नै साना उद्योगहरूका मुख्य चुनौती हुन् ।” उनले मुलुकका वाणिज्य तथा विकास बैंकहरूले ठूलाठूला लगानीमा रुचि देखाउने तर ग्रामीण क्षेत्रमा सञ्चालित साना उद्योगलाई सम्बोधन गर्न नसकेको बताए । कार्यक्रममा हासंघका पूर्वअध्यक्षहरू वासुदेव गिरी, लता प्याकुरेल, सुरेश प्रधानलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्