तेस्रो दिनसम्म ६० हजार जनाद्वारा अवलोकन «

तेस्रो दिनसम्म ६० हजार जनाद्वारा अवलोकन

राजधानीको भृकुटीमण्डपमा जारी निक इलेक्ट्रो टेक २०१८ (विद्युतीय सामग्रीहरुको प्रदर्शनी) को तेस्रो दिन आइतबारसम्ममा २० हजार जनाले अवलोकन गरेका छन् । पहिलो दिन शुक्रबार १५ हजार जनाले मेलाको अवलोकन गरेकोमा दोस्रो दिन शनिबार २५ हजार जनाले अवलोकन गरेका थिए । तेस्रो दिनसम्म आइपुग्दा ६० हजार जनाले मेलाको अवलोकन गरिसकेका छन् ।
प्रदर्शनीस्थलमा आइतबार पनि अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता रह्यो । अधिकांश स्टलहरुमा अवलोकनकर्ताहरुको भिड लाग्यो । स्टलका कर्मचारीहरु आफ्नो उत्पादनको प्रचार गर्न व्यस्त देखिए ।
मेलामा राठी ग्रुपले ल्याएको तीनपुस्ते स्विच अवलोकनकर्ताहरुको नजरमा प-यो । १० वर्षको वारेन्टी भएको यो स्विच ३ पुस्तासम्म टिक्ने कम्पनीको दावी छ । सामान्य स्विचहरु कपर र ब्रासले बन्ने भएता पनि यसमा चाँदी मिश्रित भएकाले गुणस्तरीय भएको कम्पनीले जनाएको छ । अन गर्दा स्पार्क कम हुने भएकाले स्विचको लाइफ टाइम बढ्ने कम्पनीले जनाएको छ ।
त्यसैगरी क्रम्पटनको नेबुला र जुपिटर फ्यानले अवलोकनकर्ताहरुको ध्यान खिच्यो । सामान्य फ्यानमा ३ वटा प्लेट हुनेमा नेबुलामा ४ वटा र जुपिटरमा ५ वटा प्लेट रहेको छ । जसले गर्दा पनि आकर्षक देखिन्छ । यी फ्यानहरुले अरुले भन्दा बढी हावा फाल्ने कम्पनीले जनाएको छ । नेपालमा पहिलो पटक भित्रिएको यो फ्यानमा एलइडी बल्व जडान गर्न मिल्ने खालको छ । यी फ्यानहरुमा २ बर्षको वारेन्टी छ ।
‘आर्थिक समृद्धिको संवाहक ऊर्जा’ भन्ने नारासहित सञ्चालित मेलाको ऊर्जामन्त्री वर्षमान पुनले उद्घाटन गरेका थिए । मेलाको नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङ, हास्य कलाकार शिवहरी पौडेल, विभिन्न क्षेत्रका उद्योगी व्यवसायी लगायत व्यक्तिहरुले अवलोकन गरेका छन् ।

सुरक्षित र गुणस्तरीय सामग्रीबारे गोष्ठी
आइतबार सुरक्षा र गुणस्तरीय सामग्री सम्बन्धी गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा सोसाइटी अफ ईलेक्टोनिक्स ईन्जिनियर्स नेपाल (सिन) का उपाध्यक्ष सिनियर ईञ्जिनियर तिर्थमान शाक्यले प्रस्तुतीकरण दिए । उनले गुणस्तरीय सामानहरुको उत्पादन, आयात र विक्री वितरण गर्न सुझाव दिए । विद्युतीय सामग्रीहरुलाई सुख्खा ठाउँमा राख्न, पानीबाट जोगाउन, प्लगहरुलाई कसिलो रुपमा जडान गर्न उनले सुझाए । त्यसैगरी उनले सस्तो सामान प्रयोग गर्दा जोखिम बढ्न सक्ने भन्दै गुणस्तर सामान प्रयोग गर्न आग्रह गरे । नेपाल विद्युत प्राधिकरणले दुर्घटनाका पीडितलाई वार्षिक १२ करोड रुपैयाँ क्षतिपूर्ति दिने गरेको तथ्यांक सार्वजनिक गर्दै उनले न्यून गुणस्तरको सामानहरुको आयातमा रोक लगाउनुपर्ने बताए ।
राष्ट्रिय एवं अन्तर्राट्रिय इलेक्ट्रीक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीहरूका नविनतम उपलब्धीहरू बारे सूचना आदानप्रदान गर्ने तथा उपभोक्ता वर्गलाई यस सम्बन्धी जानकारी अद्यावधिक गराउने उद्धेश्यसहित सञ्चालित प्रदर्शनीमा अवलोकनकर्ताहरुको उल्लेख्य सहभागिता र जिज्ञासाले हामीलाई थप हौसला मिलेको छ ।
मेलामा ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामाग्री, वायर, केबुल एवं कण्डक्टर, हाउसहोल्ड उपकरण, फिक्चर्स, इलेक्ट्रोनिक उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिएको छ ।
मेलामा स्वदेशी तथा मल्टिनेसनल कम्पनीहरुको विद्युतीय उत्पादनहरुका ७७ वटा स्टल छन् ।

प्रतिक्रिया दिनुहोस्