नीति तथा कार्यक्रम ल्याउने गण्डकी प्रदेश सरकारको तयारी «

नीति तथा कार्यक्रम ल्याउने गण्डकी प्रदेश सरकारको तयारी


सरकार गठन भएको तेश्रो दिनमै गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को लागि नीति तथा कार्यक्रम ल्याउने भएको छ । शनिबार गठन भएको सरकारले असार १ गते बजेट ल्याउने भएकाले त्यसअघि नीति तथा कार्यक्रम सरकार गठन भएको तेश्रो दिनमै सोमबार ल्याउने भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।
सोमबार बस्ने प्रदेशसभा बैठकमा हालै नियुक्त भएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको श्रोतको दाबी छ । नीति तथा कार्यक्रमका विषयमा समेत अघिल्लो सरकारले प्रस्ताव गरेको र बहुवर्षिय योजनालाई प्रथामिकता दिँदै अत्यावश्यक केही योजनाहरु मात्र समेटिने गरी बजेट आउने भएको बताइएको छ ।
प्रदेश सरकारले असार १ गतेभित्र बजेट ल्याउनु पर्ने कानुनी प्रावधान अनुसार नीति तथा कार्यक्रम ल्याउने भएको प्रदेश सरकारका प्रवक्ता एंव विना विभागिय मन्त्री कुमार खड्काले बताए । मन्त्रालय बाडँफाँट र बजेट ल्याउनु पर्ने समय सीमा थोरै भएकोले यति वेला प्रदेश सरकार र गठबन्दनलाई निकै हतारो भएको छ ।
बजेट ल्याउने विषयमा अर्थ मन्त्रालय तयारी अवस्थामा रहेको अर्थ मन्त्रालयका सचिव राजकुमार केसीले बताए । उनले भने, “हामी कर्मचारी भएकाले हामीलाई जुन सरकार आए पनि बजेट ल्याउने विषयमा कुनै समस्या छैन, यद्यपी बजेटको अन्तिम समयमा नयाँ सरकार गठन हुनुले थोरै असर भने पर्छ नै ।”
यसैबीच, गण्डकी प्रदेश सरकारले पूर्व मुख्यमन्त्रीहरूलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले संघको सुविधासमेत हरेर पूर्व मुख्यमन्त्रीको सुविधा दिने निर्णय गरेको हो । एउट कार्यविधि बनाएर पूर्व मुख्यमन्त्रीहरुलाई सुविधा तोक्ने भएको प्रवक्ता खड्काले जनाए । आइतबारको मन्पिरिषद बैठकले सरकारको प्रवक्तामा विना विभागीय मन्त्री कुमार खड्कालाई जिम्मेवार दिएको हो ।

प्रतिक्रिया दिनुहोस्