महाशिलाका छवटा सडक कालोपत्रेका लागि डीपीआर «

महाशिलाका छवटा सडक कालोपत्रेका लागि डीपीआर


पर्वतको महाशिला गाउँपालिकाले मातहतका छवटा मुख्य सडकको डीपीआर तयार गरेको छ ।
गाउँपालिकाभित्र बाह्रैैमास सडक सुविधा पुर्याउने उद्धेश्यले सडक स्तरोन्नति तथा कालोपत्रे गर्नका लागि छवटा सडकको डीपीआर तयार गरेको हो । पालिकाका सबै वडामा पुग्नेगरी एक वडा एक सडकअन्तर्गत छवटा सडकको डीपीआर गरिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए ।
छवटा वडामा पहुँच पुर्याउने गरी करिब ४८ किलोमिटर लामो सडकको डीपीआर गरिएको महाशिला गाउँपालिकाका प्रवक्ता उच्चैले जानकारी दिए । उनका अनुसार डीपीआर गरिएका सडकको कालोपत्रे गर्नका लागि करिब दुई अर्ब ५० करोड लागत अनुमान गरिएको छ । डीपीआर सम्पन्न भएका सडकको कालोपत्रे तथा स्तरोन्नतिका लागि प्रदेश तथा संघीय सरकारबाट बजेट माग गर्ने र स्थानीय सरकारले साझेदारी गर्ने योजनासमेत बनाइएको छ ।
महाशिलाले वडा नं. १ होश्राङ्दीमा अगाहगडि–पैयुभञ्ज्याङ् सडक, वडा नं. २ भोक्सिङमा सालडाडा–खोलाखर्क–पाखुरेडाँडा सडक, वडा नं. ३ बालाकोटमा हिरुखर्क–निगाली– दियालीडाडा–बारेडाडा सडकको डीपीआर सम्पन्न गरेको हो । यसैगरी वडा नं. ४ पाखापानीमा लाम्तुन–दर्जीडाँडा–थापथर, वडा नं. ५ लुंखुदेउरालीमा लुंखुदेउराली–बान्द्रे–धनुमासे–सेरा सडक र वडा नं. ६ फलामखानीका लागि घण्टेदेउराली–फलामखानी–घन्तरी सडकको डीपीआर तयार गरेको प्रवक्ता ठकुरीले जानकारी दिए ।
यस वर्ष पालिकाले आफ्नै लगानीमा ५ किलोमिटर सडक कालोपत्रेको काम अघि बढाएको छ भने दक्षिण पर्वत जोड्ने लमाय–लुंखु र लंखुदेखि पैंयुको हुवाससम्मको सडकसमेत कालोपत्रेको काम भइरहेको छ । डीपीआर गरिएका सबै सडक कालोपत्रे भएपछि गाउँपालिका सबै कालोपत्रे गरेको सडकयुक्त हुने अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए । कालोपत्रे गर्न पालिकाको बजेटले सम्भव नभएकाले डीपीआर गरेर प्रदेश र संघसँग बजेट माग गरिने अध्यक्ष पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्