सुदूरपश्चिमको नीति तथा कार्यक्रम पारित «

केन्द्रको आर्थिक वितरण प्रणाली न्यायपूर्ण छैन : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिमको नीति तथा कार्यक्रम पारित

सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।
प्रदेश सभाको आइतबार बसेको बैठकले आर्थिक वर्ष २०७८/७९ को लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम पारित गरेको हो । बिहीबार प्रदेश सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम तीन दिन सभामा छलफल गरी पारित गरिएको छ ।
कोरोनाको कारण लामो समय सदन सञ्चालन गर्न नसकिने भएको भन्दै प्रदेश सरकारले अध्यादेश मार्फत् बजेट ल्याउने प्रक्रिया नै छोट्याएको हुनाले तीन वटा बैठकमा मात्रै नीति तथा कार्यक्रममाथि छलफल गरिएको छ । छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ मुख्यमन्त्री त्रिलोचन भट्टले संसद्मा दिएपछि बहुमतको आधारमा नीति तथा कार्यक्रम पारित गरियो ।
सदनमा जवाफ दिँदै मुख्यमन्त्री भट्टले सांसद्ले छलफलका क्रममा माग गरेका र नीति तथा कार्यक्रममा रहेका कार्यक्रममा बजेट बिनियोजन हुने बताए । ‘सांसदले उठाएको विषयलाई सरकारले सुझावको रुपमा लिएको छ,’ उनले भने, ‘उठेका कुरालाई बजेटमा समावेश गर्न सकिने विषयलाई समावेश गर्ने छौं ।’
मुख्यमन्त्री भट्टले सुदूरपश्चिमलाई सरकारले देवभूमि भनेकोमा कुनै आश्चर्य मान्न नहुने बताए । उनले प्रदेशमा पर्यटनका लागि मठमन्दिरहरु रहेको र सोको प्रचार प्रसार गरी विकास गर्नका लागि सो नारा बनाएको बताए । मुख्यमन्त्री भट्टले विकासको मोडल कस्तो बनाउने भन्ने विषयमा छलफल व्यापक गर्न आवश्यक रहेको बताए । उनले सरकारले विकासको मोडेल बनाउन चाहेको भए पनि त्यसमा छलफल हुन नसकेको बताए ।
उनले सडक एक वर्षपछि पुगेपछि पनि हुने तर खानेपानी नबने मानिस बाँच्न नसक्ने बताउँदै पूर्वाधार विकासमा खानेपानीलाई प्राथमिकता दिएको बताए । ‘स्वास्थ्य बिना मानिसले विकास गर्न सक्दैन । कोरोनाले गर्दा सबैको ध्यान स्वास्थ्यतिर केन्द्रित भएको छ । यो आवश्यकता पनि हो । त्यसैले हामीले स्वास्थ्यमा धेरै नै गर्न खोजेका छौं,’ उनले भने । मुख्यमन्त्री भट्टले केन्द्रको आर्थिक वितरण प्रणाली न्यायपूर्ण नरहेको बताए । ‘सुदूरपश्चिमलाई र कर्णालीलाई अन्य प्रदेश जस्तै गरी रकम दिइयो भने यि प्रदेश अगाडि बढ्न सक्दैनन् । जनसंख्या र भूगोलको आधारमा मात्रै बजेट वितरण गरेर हुँदैन । पिछडिएका जाति, समुदाय र वर्गको आधार पनि बजेट दिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्