पुँजीबजार सुधार गर्ने कि लगानीकर्ता भड्काउने

पछिल्ला महिनाहरूमा सेयर बजारले लगानीकर्ताका लागि राम्रो अवसर सिर्जना गरेको छ । कारोबार रकममा भएको वृद्धिका कारण सरकारलाई पनि यसबाट राम्रै राजस्व प्राप्त भइरहेको छ । लगानीकर्ताहरूलाई नियमपूर्वक खेल्न दिन र उनीहरूको लगानी सुरक्षाका लागि सरकार तथा नियामक निकाय सजग हुन आवश्यक छ । बजारमा कुनै लगानीकर्ताले नियम मिचेर खेले भने नियामक निकायले उसलाई दण्डित गर्ने र अन्य लगानीकर्ताको सुरक्षा गर्ने दायित्व नियामक निकायको हो । नेपालको पुँजीबजार अर्थात् हाल सर्वसाधारणको भाषामा सेयर बजार भनेर मात्र बुझिएको छ, समस्यारहित छैन । तर पनि पछिल्ला समयमा वैश्विक महामारी कोरोनाका कारण नेपालका अन्य क्षेत्रमा संकुचन आएको तथा लगानीका अवसर पनि नभएका कारण सेयर बजारमा धेरैको आकर्षण बढेको छ । हरेक दिन नै १५ अर्बभन्दा बढीको कारोबार हुनुले पनि बजारको आकर्षण बढेको बुझ्न सकिन्छ ।
सरकारले नियामक निकायलाई बलियो बनाएर सेयर बजारको विकास तथा विस्तारलाई प्रवद्र्धन गर्ने हो भने शिवालिक, चुरे वा नेपालका महाभारत क्षेत्रका कुनै पहाड मासेर प्रकृति दोहन गरेको भन्दा बढी राजस्व सेयर बजारबाट उठाउन सक्ने देखिएको छ । तर, त्यसका लागि सरकार र नियामक निकाय दुवैको एउटै नीति तथा योजना हुन आवश्यक छ । सरकारले नियामक निकायलाई कानुनी आधार तथा जनशक्ति थपेर स्वायत्त बनाइदिएर बजारमा कडा अनुशासन कायम राख्न मद्दत गर्ने हो । साथै, धितोपत्र बोर्डले पनि आफू नियामक निकाय भएको सम्झेर बजारमा त्यसैअनुरूपको व्यवहार प्रदर्शन गर्नुपर्छ । करिब तीन दशक पुग्न लागेको धितोपत्र बोर्डलाई सही अर्थमा पुँजीबजारको नियामक निकाय बन्न केहीले छेकेको छ भने सरकारले ती व्यवधान हटाइदिने हो ।
साथै, धितोपत्र बोर्डले पनि आफूले ल्याउने हरेक नीति दीर्घकालीन तथा बजारसँग छलफल गरेर ल्याउनु आवश्यक छ । अन्यथा कोरोना कहरका बीच पनि उत्साहित बजार निराश हुन बेर लाउँदैन । सेयर बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आइतबारबाट सेयर ब्रोकरको ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा भएको एओएन (अल अर नन) सुविधा हटाइदिएको छ । भन्न त धितोपत्र बोर्डको निर्देशनअनुसार सेयर बजार सञ्चालक नेप्सेले आइतबारबाटै खरिद आदेशतर्फको उक्त सुविधा हटाएको जनाएको छ, तर बिनासूचना यसरी अचानक बजारमा खेलको नियम परिवर्तन गर्दा बजारमा पर्न सक्ने असरमा नियामक निकायको पनि ध्यान नपुगेको हो कि ? हुन त बिक्रीतर्फको नभई खरिदतर्फको मात्र एओएन हटाइएकाले यसले बजारमा खासै असर नपर्ने नेप्सेको दाबी छ, तर यसरी बजारमा बिहान भएको सिस्टम दिउँसो अचानक हटाउने नीतिले लगानीकर्ताको मनोविज्ञानमा असर पार्छ नै ।
हालसम्म सेयर ब्रोकरको प्रणाली अर्थात् टीएमएसमा खरिदकर्ता वा बिक्रीकर्तालाई आफूले खरिद गर्न चाहेको कम्पनीको चाहेको मूल्यमा चाहेको संख्याबराबरको सेयर पाएपछि मात्रै खरिद वा बिक्री गर्न पाइने व्यवस्था भएकोमा अब परिवर्तित प्रणालीअनुसार खरिदकर्ताले आफूले चाहेको कित्ता सेयर होइन कि सोभन्दा कम कित्ता सेयर पनि किन्नुपर्ने हुन्छ । यसबाट सीधै लगानीकर्ताको लगानी व्यवस्थापनमा प्रतिकूल असर पर्छ । यदि बजारमा कसैले उक्त सुविधाको दुरुपयोग गरेको भए कारबाही गर्नुपर्नेमा नियामक निकायले सुविधा नै स्थगित गरिदिनु भनेको झ्यालबाट लामखुट्टे आयो भनेर झ्याल नै हटाइदिनु हो । नियामक निकायको काम झ्याल हटाउने होइन कि जाली हाल्ने वा अन्य वैकल्पिक व्यवस्था गरेर स्वच्छ वायुको प्रवाह नियमित गर्ने हो । बजारमा केहीले बदमासी गरे भनेर अन्य लगानीकर्ताको लगानी योजना नै प्रभावित बनाउनु बजारमा प्रतिगमन हो । तसर्थ नियामक निकायले बजारमा लगानीकर्ताको लगानी सुरक्षा गर्नुको साटो लगानी योजना नै प्रभावित पार्ने यस्तो नयाँ व्यवस्था लागू गर्नुअगाडि प्रशस्त छलफल गरेर लगानीकर्ताको विश्वास जितेर मात्र लागू गर्नुपर्छ ।