Logo

खानीजन्य उत्पादन बेच्दा प्राकृतिक संकट

हाम्रो देश नेपाल भौगोलिक क्षेत्रका आधारमा हिमाल, पहाड अनि तराई र तराईका चुरे क्षेत्रहरूको बनावटमा सुन्दर अनि मनोरम प्राकृतिक स्रोत र साधनले भरिपूर्ण भएको मुलुक हो । अटुट रूपले बग्ने खोलानाला तथा प्राकृतिक वनजंगलले ढाकिएको सौन्दर्यताको खानी हो, नेपाल । नेपालमा रहेका प्राकृतिक स्रोत र साधनले गर्दा नै हरेक जैविक प्राणीहरू आजसम्म पनि जीवित अवस्थामा रहन सकेका छन् । अनगिन्ती प्राकृतिक जीव, जनावर तथा चराचुरुङ्गीहरूले वातावरण, पर्यावरणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका हुन्छन् । बोटबिरुवा, जनावर तथा चराचुरुङ्गीहरूले गर्दा नै आजको यो मानवरूपी संरचना निरन्तर चलिरहेको छ । एकपटक ध्यान दिएर सोचौं त, के प्राकृतिक स्रोत र साधनको विनाश भयो भने कति डरलाग्दो विपत्ति आइपर्छ ? हरेक जीवित प्राणीहरू जिउनलाई कति गाह्रो पर्छ ? अहँ, तर अब यो सम्भव हुने अवस्था देखिँदैन ।
विगत केही हप्ताअघि मात्रै संघीय सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरी मुलुकको व्यापारघाटालाई कम गराउने भन्ने जुन योजना रहेको छ, के प्राकृतिक स्रोत र साधनको उत्खनन गर्नाले मुलुकको व्यापारघाटा कम हुन्छ ? अहँ, पक्कै हुँदैन । प्राकृतिक स्रोत र साधनको उत्खनन गर्न दिनु हुँदैन । यसको सर्वत्र विरोध गर्नुपर्छ । विरोध पनि भएकै छ ।
नेपाल सरकारको आर्थिक वर्ष २०७८-७९ को आयव्ययको सार्वजनिक वक्तव्यको बुँदा नम्बर १९९ मा उल्लिखित वातावरणीय प्रभाव मूल्याङ्कनका आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापारघाटा न्यूनीकरण गरिने, निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी बिन्दुसम्म रोपवे निर्माण गर्न आयातमा लाग्ने भन्सारमा महसुल छुट दिने व्यवस्था मिलाएको विषयमा प्रदेश सरकार, नागरिक, वातावरण संरक्षणकर्मी तथा विभिन्न राजनीतिक दलहरूले पनि विरोध जनाएका छन् । प्रमुख राजनीतिक दलहरूले त झन् विज्ञप्ति नै जारी गरी विरोधसमेत जनाइसकेका छन् ।
प्रदेश–२ सरकारले पनि गम्भीर ध्यानाकार्षण गरेको छ । सप्तरीदेखि पर्सासम्म फैलिएको चुरे पहाड त्यस प्रदेशको रक्षा कवचका रूपमा समेत रहेको छ भने यस प्रदेशका जनता प्रत्येक वर्ष आउने बाढीपहिरोजस्ता डरलाग्दा प्राकृतिक विपत्तिको सामना, खानेपानीको समस्या र कृषि उपजको समेत समस्याबाट प्रभावित हुँदै आएकाले माटो एकदमै कमजोर भएको र चुरे क्षेत्रको कमजोर भू–बनोटका कारण यहाँका ढुङ्गा, बालुवा, गिट्टी निकालियो भने वर्षायाममा नदीको बहाव तीव्र हुने र यसले मानव जगत्मा नराम्रो क्षति हुनुका साथै चुरे क्षेत्र उत्खनन गर्नाले चराचुरुङ्गी तथा जनावरहरूको बासस्थानमा समेत प्रतिकूल असर पर्ने भएकाले गर्दा दिगो भविष्यमा प्राकृतिक संकट उत्पन्न हुने निश्चित देखिन्छ । तर, सरकारले गत आइतबार वक्तव्य जारी गरी चुरे क्षेत्रमा पर्ने ढुङ्गा, बालुवा मास्ने कुनै योजना नभएको र मुलुकको हिमाली र पहाडी भूभागमा रहेको केही ढुङ्गा, बालुवा मात्र उत्खनन गर्ने निर्णय भएको बताएको थियो ।
नेपाल सरकारले आफ्नो व्यापारघाटा न्यूनीकरणका लागि बजेटमार्फत अध्यादेश ल्याएको छ, खानीजन्य पदार्थ उत्खनन गरी व्यापारघाटा कम गराउने भन्ने विषयमा यसको चौतर्फी विरोध भएको छ । मुलुकभित्र रहेको प्राकृतिक खानीजन्य वस्तुहरूको उत्खनन गर्नाले दिगो भविष्यमा मानवीय क्षति हुनुका साथै प्राकृतिक प्रकोपको पनि सामना गर्नुपर्ने हुन्छ र पछि भविष्यमा प्राकृतिक संकटसमेत आईपर्छ । हिमाली तथा मध्यपहाडी क्षेत्रमा रहेको ठूलाठूला पहाड भत्काएर भित्रभित्रै ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्नाले प्राकृतिको चरम संकट हुने देखिन्छ । त्यसैले यस्ता प्राकृतिक स्रोत र साधनहरूको दोहन गर्नुबाट सबैले जोगाउनुपर्छ । क्षणिक स्वार्थको भरमा प्राकृतिक स्रोतसाधनको विनाश गर्नु हुँदैन । त्यसैले भविष्यमा आइपर्ने संकटको समाधान आजैबाट खोजौं ।

प्रतिक्रिया दिनुहोस्