शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ : पौडेल «

शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ : पौडेल

दमौली-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शिक्षा र स्वास्थ्य सेवालाई निःशुल्क बनाउनुपर्नेमा जोड दिएका छन् । तनहुँको दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयको ४३ औं वार्षिकोत्सवको आइतबार उद्घाटन गर्दै नेता पौडेलले राज्यले शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाएर बालबालिकालाई गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिएका हुन् ।
पैसा तिरेर मात्रै गुणस्तरीय शिक्षा प्राप्त गर्न नसकिने भन्दै नेता पौडेलले शिक्षा प्रणालीमा आमुल सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए । अहिलेको आवश्यकता रोजगारीमूलक शिक्षाको भएको भन्दै नेता पौडेलले सरकारले प्राविधिक शिक्षालाई विशेष जोड दिनुपर्ने समेत बताए । सत्यवती माध्यमिक विद्यालय नेपालमै उत्कृष्ट विद्यालयको रुपमा परिचित हुन सफल भएको चर्चा गर्दै पौडेलले सरकारले हरेक विद्यालयलाई सत्यवती जस्तै बनाउनुपर्ने बताए ।
सोही अवसरमा पौडेलले कम्युनिष्ट सरकार बनेपछि विकास निर्माणका काम ठप्प भएको आरोप लगाए । गत निर्वाचनको परिणामले विकासको काम ठप्प भएको बताउँदै उनले भने, “कम्युनिष्ट सरकार बनेपछि नेपाल स्वर्ग बन्छ भनेर गफ लाउँथे आज त्यो सपना चकनाचुर भएको छ ।” नेपालमा भ्रष्ट प्रवृत्ति मौलाएको आरोप लगाउँदै नेता पौडेलले भएका विकासका काम समेत गुणस्तरहीन भएको बताए ।
दुईतिहाई बहुमत प्राप्त सरकारलाई काम गर्नका लागि कुनै अप्ठ्यारो नभएपनि देश प्रगतिको बाटोमा हिँड्न नसकेको पौडेलको आरोप थियो । तनहुँमा केन्द्रीय बजेट एउटा पनि पर्न नसकेको बताउँदै उनले तनहुँको विकास समेत ठप्प भएकोले जनताले सोच्नुपर्ने बेला आएको जिकिर गरे । “बुद्धसिं मार्गमा गत वर्ष २८ करोड बजेट खर्च भएको, यो वर्ष कालोपत्रे गर्नुपर्ने थियो, घुमाउने पुल पूरा गर्नुपर्ने थियो,” उनले भने, “तर विडम्बना यी सबै कामका लागि यो वर्ष सरकारले बजेट छुट्याएन ।”
विकास एउटा व्यक्तिको मात्रै जिम्मा होइन
नेता पौडेलले विकासको जिम्मा कुनै एक व्यक्तिको मात्रै नभएको बताएका छन् । विकास र समृद्धिका लागि सबै स्थानीय जनता उत्तरदायी हुनुपर्ने भन्दै उनले भने, “मैले बारम्बार भन्दै आएको छु, यहाँको विकासको जिम्मा एउटा मात्र व्यक्तिको होइन, विकासको चिन्ता सबैलाई हुनुपर्छ ।” उनले दमौलीका व्यवसायीले कमाएको पैसा काठमाडौं लैजाने अनि विकास गरेन भनेर आफूलाई गाली गर्ने गरेको उल्लेख गर्दै गलत–गलत ठाउँमा भोट हालेर तनहुँका जनताले जिल्लाको विकास ठप्प पारेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्