खाली हुँदै मनाङका बस्ती «

खाली हुँदै मनाङका बस्ती

लमजुङ-हिमालपारीको जिल्ला भनेर चिनिने मनाङका बस्तीहरू खाली हुन थालेका छन् । मनाङमा चिसो बढेसँगै स्थानीय जाडो छल्न सहरतिर झरेपछि मनाङका बस्ती खाली हुँदै गएका हुन् ।
जाडो बढेपछि मनाङका अधिकांश स्थानीय तीन महिनाको लागि सहर झर्ने गर्दछन् । माथिल्लो मनाङमा धेरै जाडो हुन थालेपछि पुसको आधाआधीदेखि फागुनसम्मका लागि सहर झर्ने मनाङीहरू यसवर्ष भने छिटै जाडो बढेकाले मंसिर अन्तिममा नै जाडो छल्न सहर झरेका हुन् ।
माथिल्लो क्षेत्रमा हिउ“ पर्न शुरु भएपछि चिसो अत्यधिक बढ्दै गएको नेस्याङ गाउँपालिका अन्तर्गत माथिल्लो मनाङका विनोद गुरुङले बताए । गुरुङका अनुसार पानी अत्यधिक चिसो भएको र चिसोका कारण पाइपमा जम्न थालेपछि स्थानीयहरू सहरतर्फ झर्नेक्रम शुरु भएको हो । “मनाङमा निकै चिसो बढेको छ,” गुरुङले भने, “पाइपको पानी पनि जम्न थालेपछि समस्या हुँदै गएको छ ।”
घर कुरुवा केही व्यक्ति र गोठालाहरू राखेर अधिकांश मनाङ्गीहरू लमजुङ, काठमाडौं, पोखरा, चितवन लगायतका जिल्लामा पुग्ने गर्दछन् । पर्यटकीय सिजनमा जिल्लामै व्यस्त हुने मनाङका पर्यटन व्यवसायीहरू पनि चिसो मौसममा सहरमा आराम गर्ने गर्दछन् ।
मनाङको माथिल्लो क्षेत्रमा हिउँ पर्न शुरु भइसकेको छ । जिल्लाको सदरमुकाम चामे लगायत तल्लो क्षेत्रमा भने अत्यधिक चिसो भएपनि हिउँ भने परेको छैन । “चिसो निकै बढेको छ तर हिउँ परेको छैन,” नेस्याँङ गाउँपालिकाका कर्मचारी कृष्ण तिमिल्सेनाले भने, “सेवाग्राहि छैनन्, आगो तापेर दिन कटाउन परेको छ ।”
स्थानीयबासीस“गै सरकारी कार्यालयका कर्मचारीहरू पनि जिल्ला छोड्ने गर्दछन् । जाडोमा मनाङ्गीहरू समेत अन्य जिल्लामा झर्ने भएकाले सरकारी निकायमा खासै काम नहुने हु“दा कर्मचारीहरू पनि घरबिदामा हिँड्ने गर्दछन् । हाल माथिल्लो मनाङ गाउँमा रातको समय तापक्रम माइनस १५-१६ डिग्री सेन्टीग्रेटसम्म झरेको पाइएको छ । माथिल्लो मनाङमा घाम नउदाउँदासम्म त्यहाँको तापक्रम माइनसमै हुने बताइएको छ ।
माथिल्लो क्षेत्रमा हिउँ पर्न शुरु गरेपछि विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा आएका पर्यटकहरू पनि फर्कन थालेका छन् । बाक्लो हिउँका कारण यात्र गर्न नसकेपछि केही दिन मनाङमै बसेर फर्कनेहरू बढेको मनाङका पर्यटन व्यवसायीहरूले बताएका छन् ।
चिसोका कारण पर्यटन व्यवसायीहरू पनि जिल्ला छोड्न थालेपछि पर्यटकहरूलाई खानबस्नको लागि पनि समस्या हुने गर्दछ । सिजनमा पर्यटकहरूले भरिभराउ हुने मनाङमा यो मौषममा न्यून होटलहरूमात्र खुल्ने गर्दछन् ।

विद्यालय पनि बन्द
जाडो बढेपछि मनाङका सबै सामुदायिक विद्यालयहरू बन्द हुने क्रम शुरु भएको छ । संघीयता कार्यान्वयन सँगै चार गाउँपालिका रहेको मनाङमा फरक फरक तालिकामा विद्यालय बन्द भएका छन् । जिल्ला शिक्षा समन्वय इकाई मनाङका अनुसार जिल्लाको माथिल्लो भागमा रहेको नेस्याँङ र नारफु गाउँपालिका अन्तर्गतका विद्यालय मंसिरमै बन्द भइसकेका छन् । इकाईका संयोजक खुलानाथ गौतमका अनुसार सदरमुकाम चामे गाउँपालिका अन्तर्गतका विद्यालयहरू पुस १ गतेबाट बन्द गरिएका छन् ।
परीक्षा सकिएपछि विद्यालयहरू बन्द भएको र अब माघको दोश्रो साताबाट नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्र सञ्चालनमा आउने बताइएको छ । माथिल्लो मनाङका केही विद्यालयमा मुस्किलले ६ महिनामात्रै पढाइ हुने गरेको स्थानीय बताउँछन् । चार गाउँपालिका रहेको मनाङमा चारवटा माध्यमिक, सातवटा आधारभूत, १४ वटा प्राथामिक र एक निजी विद्यालय छन् ।

नेगम परियार-सन्देश पौडेल

प्रतिक्रिया दिनुहोस्