सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापकद्वारा ‘पेनडाउन’ «

सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापकद्वारा ‘पेनडाउन’

कञ्चनपुर-सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापकहरुले आइतबार पेनडाउन गरेका छन् । विश्वविद्यालयका क्याम्पस प्रमुख डा. भुपेन्द्र विष्टले मापदण्डविपरीत भागबण्डाको आधारमा कर्मचारी भर्ना गरेको भन्दै गरेको आइतबार विश्वविद्यालयका प्राध्यपकहरूले पेनडाउन गरेको सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्राध्यापक यज्ञराज पाठकले बताए । “आज हामीले सांकेतीक रुपमा पेन डाउन गरेका हौँ, अवैधानिक नियुक्ति खारेज नभएसम्म हाम्रो आन्दोलन जारी रहनेछ,” उनले भने । प्राध्यापक पाठकले विद्यार्थीहरूको पठन पाठनलाई मध्यनजर गरी पठाई प्रभावित नहुने गरी आन्दोलन गर्ने बताए ।
क्याम्पस प्रमुखले सामान्य मापदण्ड पनि पूरा नगरी कर्मचारी भर्ना गरेकाले यस्ता निर्णय बदर गर्नुपर्ने प्राध्यापकहरूको भनाइ छ । क्याम्पस प्रमुखले कर्मचारी भर्ना गर्दा कति कर्मचारी आवश्यक छन् भन्ने जानकारी नगराएरै भर्ना गरेको, कर्मचारी भर्ना गर्दा पनि विज्ञापन नखोलेको, लिखित तथा मौखिक परीक्षा नलिएको तथा भर्ना गरिएका कर्मचारीसमेत सम्बन्धीत विषयको नभएको प्राध्यापकहरूको आरोप छ ।
आन्दालोनरत प्राध्यापकहरूले सोमबारदेखि थप संघर्षका कार्यक्रम तय गरेका छन् । क्याम्पस प्रमुख डा. भुपेन्द्र विष्टले भने आफूले प्रक्रियागत रुपमा कर्मचारी भर्ना गरेको बताएका छन् । उनले विज्ञप्ति जारी गर्दै आन्दोलनरत सबै पक्षलाई वार्तामा आउन समेत आग्रह गरेका छन् । विश्वविद्यालयमा कर्मचारी भर्नाको विषयलाई लिएर एक सातायता पठनपाठन प्रभावित भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्