चुनाव जित्न राष्ट्रवाद, सरकारमा पुगेपछि लम्पसारवाद : कांग्रेस «

चुनाव जित्न राष्ट्रवाद, सरकारमा पुगेपछि लम्पसारवाद : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियताको नाराको चरम दुरुपयोग गर्दै निर्वाचित भएको वर्तमान सरकार अहिले लम्पसारवादमा परिणत भएको निष्कर्ष निकालेको छ । मंसिर २९ गते देखि सुरु भएर आइतबार सम्पन्न कांग्रेस महासमिति बैठकले सरकारका क्रियाकलाप लम्पसारवादी भएको ठहर गरेको हो ।
दुईपक्षीय र बहुपक्षीय वैदेशिक सम्बन्धमा सरकारले नेपालको राष्ट्रिय स्वार्थलाई प्रतिनिधित्व गर्न नसकेको कांग्रेसको आरोप छ । यस्तै, सरकारले दुईतिहाई बहुमतको दम्भमा विपक्षी दलहरूको भूमिकालाई समेत गौण बनाउन खोजेको कांग्रेसको आरोप छ । “यो सरकार प्रमुख विपक्षी दल र अन्य दलहरूले उठाएका राष्ट्रिय सरोकारका मुद्दा र जन–सरोकारका विषयहरू, संवैधानिक व्यवस्था र कानुनी व्यवस्थाका प्रावधानहरू पालन गर्न उठाइएका विषयहरूलाई घोर उपेक्षा गर्दैछ,” महासमिति बैठकपछि जारी समसामयिक प्रस्तावमा उल्लेख छ, “सरकारको अधिनायकवादी आकांक्षा पूरा हुन नदिने अठोटका साथ महासमिति बैठक सरकारलाई सचेत गराउन चाहन्छ ।” महासमिति बैठकपछि केन्द्रीय कार्यालय सानेपामा आयोजित समापन समारोहमा सभापति शेरबहादुर देउवाले सरकार अधिनायकवादी बन्दै गएकाले त्यसकाविरुद्ध आन्दोलनका लागि तयार रहन कार्यकर्ताहरूलाई निर्देशन दिए । सरकार राज्य संरचनालाई पार्टीकरण गर्ने अभियानमा लागेको पनि कांग्रेसको ठहर छ । उसले सरकार कर्मचारी र सुरक्षा निकायहरूमा पार्टीकरण गर्न लागिरहेको भन्दै महासमिति बैठकले त्यस्ता क्रियाकलाप तत्काल बन्द गर्न पनि माग गरेको छ । समापन समारोहमा बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको पार्टी विधान संसारकै दलहरूमध्ये उत्कृष्ट विधान भएको बताए ।
कांग्रेसले धर्मका विषयमा संविधानको व्यवस्थालाई अक्षरशः कार्यान्वयन हुनुपर्ने पक्षमा आफू रहेको प्रष्टसमेत पारेको छ । प्रधानमन्त्रीको नेतृत्वमा सरकारको प्रत्यक्ष सहभागिता, सहयोग र संरक्षणमा केही समय अघि धर्मप्रचारक विवादित संस्था युनिभर्सल पीस फेडरेसनको कार्यक्रम सम्पन्न गरिएकोमा कांग्रेसले आपत्ति जनाउँदै यस्ता क्रियाकलापमा सरकारको संलग्नता बन्द गर्न सरकारलाई सचेत गराइएको छ । महासमिति बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनामा प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसलाई धर्मका बारेमा कम्युनिष्टहरूले सिकाउन जरुरी नरहेको बताए । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले शनिबार कांग्रेसमा हिन्दु राष्ट्रका बारेमा बहस भएकोमा आपत्ती जनाउकोप्रति लक्षित गर्दै शर्माले धर्मलाई अफिम भन्नेहरूले कांग्रेसलाई सिकाउन जरुरी नरहेको बताए । “धर्मका बारेमा कम्युनिस्ट पार्टीका नेताहरू जो द्वन्द्वात्मक भौतिकवाद पढेर हुर्किनुभएको छ, जसले धर्म अफिम हो भनेर बाल्यकालमै आफ्नो जीवन सुरुवात गर्नुभएको छ, उहाँहरूले अहिले काँग्रेसलाई धर्मका बारेमा सिकाउन थाल्नुभएको छ,” उनले भने, “कसैले पनि धर्मकर्म, संस्कार र संस्कृतिको विषयमा कांग्रेसलाई पढाउनु र सिकाउन जरुरी छैन ।” हिन्दु राष्ट्रका बारेमा कांग्रैसभित्र कुरा उठेपनि महासमिति बैठकको निर्णयमा भने संविधानमा धर्मका बारेमा उल्लेख कुरामा कांग्रेस अक्षरसः प्रतिवद्ध भएको निर्णय गरिएको छ ।
संसदको बैठक छलेर अध्यादेशमार्फत् आफूखुसी व्यवस्था गर्ने निर्णय सरकारले गरेको कांग्रेसको आरोप छ । कांग्रेसले सरकारसँग शान्ति सुरक्षा र कानुनी शासनको प्रत्याभूति गर्न पनि माग गरेको छ ।
“यो सरकार सत्ताधारी दल बाहेकका पार्टीका कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूप्रति असंहिष्णुता र वैरभाव प्रदर्शन गर्दै राज्यबाट प्राप्त गर्ने विकास, सेवा र सुविधामा भेदभाव गर्ने कामलाई तिव्रता दिँदैछ,” कांग्रेसले भनेको छ, “यो बैठक यस्ता विभेदकारी क्रियाकलाप तत्काल बन्द गर्न यो सरकारसँग माग गर्दछ ।”
बैठकले विदेशमा रहेर पनि देशका लागि ठूलो योगदान पु¥याइरहेका नेपाली नागरिकहरूलाई निर्वाचनमा मतदानको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ । सर्वोच्च अदालतले समेत सरकारका नाममा ओदश जारी गरिसकेको भन्दै अविलम्व यससम्बन्धी आवश्यक तयारी गर्न सरकारसँग कांग्रेसले माग गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्