सरकार भ्रष्टाचारलाई संस्थागत गर्दैछः कांग्रेस «

सरकार भ्रष्टाचारलाई संस्थागत गर्दैछः कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओली नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचारलाई संस्थागत गरेको आरोप लगाएको छ । आइतबार सम्पन्न महासमिति बैठकबाट पारित समसामयिक प्रस्तावमा कांग्रेसले सरकारमाथि भ्रष्टाचार संस्थागत गरेको गम्भीर आरोप लगाएको हो ।
“वर्तमान ओली सरकार भ्रष्टाचारलाई संस्थागत गर्दैछ, राज्यका साधन र स्रोतको व्यापक दुरूपयोग गर्दैछ र अधिकारको केन्द्रीकरण गर्दैछ,” महासमिति बैठकबाट पारित प्रस्तावमा उल्लेख छ, “वर्तमान सरकारको ५० अर्ब माथिका आयोजनालाईहरूलाई बिनाप्रतिस्पर्धा प्रधानमन्त्री नेतृत्वमा निर्णय गर्ने कानुनी प्रबन्ध गर्ने पहल घोर आपत्तिजनक छ ।” यस्तै, कांग्रेसले बूढीगण्डकी जलविद्युत् आयोजनालाई स्वदेशी लगानीमा सम्पन्न गर्ने तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको निर्णयलाई उल्टाएर बिनाप्रतिस्पर्धा अपारदर्शी ढंगबाट विवादास्पद गेजुवा कम्पनीलाई दिने निर्णय गलत भएको पनि निष्कर्ष निकालेको छ । बूढीगण्डकी विवादास्पद चिनियाँ कम्पनी गेजुवालाई दिने सो निर्णय तत्काल बदर गर्न पनि कांग्रेसको माग छ । त्यस्तै वाइडबडी जहाज खरिदमा भएको घोटालाको तत्काल उच्चस्तरीय छानबिन गरी दोषीलाई कानुनी कठघरामा उभ्याउन पनि महासमिति बैठकले माग गरेको छ । “ चिनी काण्ड, सुन काण्डलगायतका तमाम भ्रष्टाचार र दुरूपयोगलाई कार्पेटमुनि छोप्ने सरकारको कामको घोर निन्दा गर्दै निष्पक्ष छानबिन गरी दोषीहरूलाई कारबाही अगाडि बढाउन माग गर्दछ,” कांग्रेसले भनेको छ, “साथै, सम्बन्धित संवैधानिक र कानुनी निकायहरूको यस्ता भ्रष्टाचार काण्डहरूको छानबिनको लागि यो बैठक गम्भीर ध्यानाकर्षण गर्दछ ।”
महासमितिबाट पारित समसामयिक प्रस्तावमा सातै प्रदेशमा सरकार गठन भएको लामो समय भइसक्दा पनि संघीय व्यवस्थाको कार्यान्वयनमा आवश्यक कानुनी व्यवस्था र कर्मचारी समायोजनमा सरकार उदासिन देखिएको भन्दै ध्यानाकर्षण गराइएको छ । राष्ट्रिय प्राकृतिक तथा वित्त आयोग तत्काल गठन गरी संघीय संरचनाको तीनै तहको वित्तीय व्यवस्थापनमा देखिएको अन्योल अन्त्य गर्न पनि कांग्रेसले माग गरेको छ । कांग्रेस महासमिति बैठकले मलेसियालगायतका वैदेशिक रोजगारीमा देखिएको अन्यौलले हजारौं युवा विचल्लीमा परेको भन्दै अन्योल हटाइ सम्मानजनक र सुरक्षित वैदेशिक रोजगारीको वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

जथाभावी वैदेशिक ऋण नस्वीकार्न चेतावनी

कांग्रेसले सरकार व्यक्तिगत निहित स्वार्थका आधारमा जथाभावी विदेशी ऋण स्वीकार्ने बाटोमा हिँडेको भन्दै आपत्ति जनाएको छ । यसरी जथाभावी विदेशी ऋण स्वीकार्दा भविष्यमा नेपाललाई ठूलो ऋणको बोझमा पार्ने सम्भावना बढेको भन्दै नेपालको वैदेशिक सम्बन्धलाई मुलुकको राष्ट्रिय स्वार्थ र भूपरिवेष्ठित राष्ट्रको अधिकार तथा विशिष्ट आवश्यकताहरूलाई मध्यनजर राखी सञ्चालन गर्न सरकारलाई चेतावनी दिएको छ । देशको आवश्यकता, ऋणको शर्त र सम्भाव्य प्रतिफलको आधारमामात्र वैदेशिक ऋण स्वीकार गर्न कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्