बाँध भत्किँदा बाढीको उच्च जोखिममा चुरे बस्ती «

बाँध भत्किँदा बाढीको उच्च जोखिममा चुरे बस्ती


कञ्चनपुरको भीमदत्त नगरपालिका चुरेफेदीमा अवस्थित खन्याखोलाको बाँध बाढीले भत्काएको छ । शनिवार परेको पानीले चुरेफेदीमा रहेको खन्याखोलाको बाढीलाई नियन्त्रण गर्न निर्माण गरिएको बाँध बाढीले भत्किएको हो । बाँध भत्किएपछि स्थानिय भने त्रसित भएका छन् । बाँध निर्माण भएको लामो समयदेखि वर्षातको समयमा ढुक्क सँग बसेका स्थानिय नागरिकलाई वर्षातको मुखमा बाँध भत्किएपछि समस्या भएको छ ।
“लामो समय भयो बाँध निर्माण भएकोे, बाँध निर्माण भएपछि स्थानियले विगतको समस्था विर्सिएका थिए,” भीमदत्त नगरपालिका–७ स्थित स्थानिय उत्तर कुमार बोहराले भने, “विगतको समयमा बाँध निर्माण नहुन्जेल प्रत्येक वर्ष वर्षातको समयमा खोलाले स्थानियलाई धेरै त्रसित पार्ने गरेको थियो, लामो समयपछि बाँध भत्किएको छ, यसले गर्दा स्थानिय फेरी त्रसित हुने वातावरण सृजना भएको छ ।” भीमदत्त नगरपालिकाका चुरे सँग जोडिएका मुख्यगरी तिनओटा वडाका नागकिले बाँध निर्माण पछि बाढीबाट निकै राहात पाएको अवस्था थियो । विगतमा गाउँ पस्ने खोला नियन्त्रण भएपछि पनि बाँध भत्किदा पुन वर्षातको समयमा बाढी गाउँ पस्ने खतरा बढेको स्थानिय बोहराले बताए ।
विगतमा बाढीले बस्तीमा जोखिम निम्ताउने खतरा बढेपछि झण्डै बीस करोड लगानीमा चुरे फेदी देखि बस्ती किनार सम्म खन्याखोलाको करिब तिन किलोमिटर जति बाँध निर्माण गरिएको थियो । बाँध निर्माण भएको लामो समयपछि पहिलो पटक निर्माण गरिएको बाँधमा ठूलो क्षति भएको छ । निर्माण गरिएको बाँधको तिन सय देखि सय मिटर क्षेत्रमा पूर्णरुपमा बाँध भत्किएको अवस्था छ ।
“खन्याखोलाको इतिहास पनि एकदमै क्षती गर्ने खोला भन्ने गरिन्छ, वर्षातको समयमा एकदमै उर्लेर आउने खोला भनेर चिनिने गरिन्छ,” स्थानिय बोहराले भने, “चुरे पर्वतबाट वर्षातको पानी उर्लेर आउने भएकोले बाँध फुटेको अवस्थामा कुनै हालतमा नियन्त्रण गर्न सकिदैन, हाललाई तत्काल आजको भोलि नियन्त्रण गर्नको लागि केही प्रयास नभएपछि धनजनको ठूलो क्षती हुने सम्भावना रहेको छ ।” बाँध निर्माण नभएको अवस्थामा महेन्द्रनगर सदरमुकाम बजार क्षेत्रसम्म असर गर्ने खन्याखोला नियन्त्रण हुन नसक्यो भने फेरी सदरमुकाम सम्म प्रभावित गर्ने निश्चित छ । वर्षातको मुखमा बाँध भत्काएको अवस्था देखेर स्थानिय विचल्लीमा परेको अवस्था रहेको उनको भनाई छ ।
यसैगरी अर्का स्थानिय रमेश थापाले खन्याखोलामा बाढीले भत्काएको बाँध तत्काल पुनः निर्माण गर्न नसकिए बाढीले ठुलो असर गर्ने बताए । “बाँध पूर्ण रुपमा भत्किएको अवस्था छ, एक घण्टाको लगातार पानीले अब भएको बाँधलाई बगाउन बेर लगाउने स्थिती छैन । यसमा स्थानिय सरकार तथा सरोकारवाला निकायले बाँध निर्माण तथा खोला नियन्त्रणमा ध्यान नदिने हो भने वर्षातको समयमा गाउँबस्तीलाई खोलाले बगर बनाउने सम्भावना रहेको छ,” स्थानिय रमेश थापाले भने ।
गाउँमा बाढी पसेपछि गाउँका धेरै स्थानिय बाढी पीडित समेत हुने स्थानिय थापाले बताए । यसैगरी यता भीमदत्त नगरपालिका–७ वडा कार्यालयले भने नगरपालिकाका निश्चित साधन श्रोतले मात्रै खोला नियन्त्रण हुने अवस्था नरहेको बताएको छ । बडाध्यक्ष शंकर कँुवरले वर्षातको सुरुवाती चरणमा नै खोलाले ठूलो क्षती गरेको अवस्था भएको बताए ।
“वर्षात सुरु भएको अवस्था छैन, असार बाट सुरु हुने वर्षात जेटबाटै सुरु भएको छ,” वडाध्यक्ष शंकर कुँवरले भने, “खोला नियन्त्रण गर्नको लागि तत्काल नगरपालिकाको श्रोतसाधनको प्रयोग गरेपनि खोला नियन्त्रण गर्न सकिने अवस्था छैन ।” खोलाको ढाल परिवर्तन भएको अवस्था छ । विगतमा पूर्व दक्षिण भएर बहने खोला हाल आएर पश्चिम दक्षिण भएको छ । यसले गर्दा खोलाको ढाल बस्ती तिर फर्केका कारण चुरेफेदी सँग जोडिएका बस्ती उच्च जोखिममा रहेको वडाध्यक्ष कुँवरले बताए ।
खन्याखोलाको बाँध प्रत्येक वर्ष मर्मत सम्भार गरिने गर्दछ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत बाँध मर्मत गर्ने योजना बनाएको वडा कार्यालयले कोरोना महामारीका कारण मर्मत सम्भार गर्न पनि पाएन । यसले गर्दा बाँध केही कमजोर भएर खोलाले सजिलै बाँध भत्काएको अवस्था पनि रहेको वडाअध्यक्षको भनाई छ । यस्तै वडाध्यक्ष कुँवरले भत्केको बाँधलाई निर्माण गर्नेगरि बडा कार्यालय अगाडि बढ्ने बताए । यस्तै खोला नियन्त्रण गर्न वडा कार्यालय नगरपालिका लगायत अन्य क्षेत्रहरु सँग मिलेर तत्काल नियन्त्रणको प्रयास गर्ने पनि अध्यक्ष कुँवरले बताए । शनिवारको पानीले खोला किनारमा निर्माण गरिएको बाँधको केही ठाउँमा जाली भत्काएको छ भने केही ठाउामा जाली सहित बाँध नै भत्काएको छ ।

प्रतिक्रिया दिनुहोस्