निरीह सेबोन र निष्क्रिय लगानीकर्ता संघहरू «

निरीह सेबोन र निष्क्रिय लगानीकर्ता संघहरू

सेयर लगानीकर्ताका संघहरूले आमलगानीकर्ताका समस्या र सेयर बजारमा रहेका विकृति–विसंगति, बेथितिहरूलाई समाधान गर्न सकिरहेका छैनन् ।

सेबोन अर्थात् नेपाल धितोपत्र बोर्ड निरीह भएको भन्ने चर्चाबजारमा ब्यापक छ । पछिल्लो समयमा सेबोनमा नयाँ अध्यक्ष आएदेखि मात्रै होइन पहिला पनि सेबोन निष्क्रियजस्तै भएको चर्चा चल्ने गरेका छन् । पछिल्लो समयमा एक जना ठूला खेलाडी लगानीकर्ताले एउटा अनलाइन पत्रिकालाई अन्तर्वार्ता दिने क्रममा लगानीकर्ताले व्यक्त गरेको भनाइलाई लिएर विज्ञप्ति निकालेर प्रतिक्रिया दिएको थियो सेबोनले, तर सेयर बजारमा भएको बेथितिहरूका बारेमा भने कुनै चासो राखेको देखिएन । कतिपय लगानीकर्ताहरूले यसलाई ठीक नै भने पनि धेरैजसो लगानीकर्ताहरूले यसलाई गलत नै भने । सेयर बजारमा धेरै बेथिति छन् । कुनै लगानीकर्ताले मिडियामा नै सार्वजनिक रूपमा लगानीकर्ताहरूलाई यो कम्पनीको सेयर किन्न र यो कम्पनीको सेयर बेच्न भनेर भन्नु ठीक होेइन । यदि व्यक्तिगत रूपमा कसैले सल्लाह मागेको भए ठीक हुन्थ्यो होला । तर, सार्वजनिक रूपमा नै यस्तो भन्न ठीक भने होइन । अहिलेका लगानीकर्ताहरू बुझ्ने भइसकेका छन् । विगतमा पनि बैंकहरूको मर्जरको बेला मर्जरसम्बन्धी गोप्य कुरा बाहिर ल्याएका कारणले निकै आलोचना भएको थियो । एउटा बैंकको एजीएममा त गालीको वर्षा नै भएको थियो त्यो बेला । यसबारेमा सेबोनले निकालेको विज्ञप्तिलाई अधिकांशले ठीक नै भनेका थिए । त्यसबारेमा तत्काल विज्ञप्ति निकाल्न सक्ने सेबोनले सेयर बजारमा भइरहेको बेथितिका बारेमा किन एक्सन लिन सकिरहेका छैन ? सेयर बजारमा खुलेआम इन्साइडर ट्रेडिङ भइरहेका छन् । पछिल्लो समयमा मात्र एउटा हाइड्रो कम्पनीको सेयरमा इन्साइडर ट्रेडिङ भएको थियो । कम्पनीले लगानीर्ताहरूलाई दिने ३५ प्रतिशत बोनसको सूचना बाहिर नै नआएकोमा सूचना चुहाएर बजारमा चलखेल गरेका थिए । लाभांशको सूचना आउनुभन्दा पहिले नै ४ सयमा पाइरहेको सेयरलाई ८ सय पु¥याइयो । त्यसैले योभन्दा पहिले पनि एउटा नन् लाइफ इन्स्योरेन्सको सेयरमा पनि इन्साइडर ट्रेडिङ भएको थियो । यसमा पनि सेबोन मूकदर्शक भएको थियो, सेवोनले कुनै कारबाही गरेन ।
साथै, सेबोनले बैंकहरूलाई ब्रोकरको लाइसेन्स दिनेमा पनि हलो अड्काइराखेको छ । बैंकलाई ब्रोकरको लाइसेन्स दिनेमा कुनै निर्णय गरेको छैन । त्यसैगरी आईपीओ निष्कासनमा बुक बिल्डिङ प्रणालीका बारेमा प्रक्रिया अगाडि बढाउन सकिरहेको छैन । यस कारणले कतिपय कम्पनीहरूले आईपीओ जारी गर्न सकिरहेका छैनन् । तर, पछिल्लो समयमा नयाँ–नयाँ लगानीकर्ताहरू सेयर बजारमा प्रवेश गरिरहेका छन् । यसले पनि हालका ब्रोकर कम्पनीहरूले धान्न सकिने अवस्था रहेन भन्दा पनि फरक नपर्ला । यदि बैंकलाई मात्रै ब्रोकरको लाइसेन्स दिएको भए कतै सेबोन ब्रोकर कम्पनीहरूको आर्थिक दबाबमा त परिरहेको छैन । लगानीकर्ताहरूको कमिसनले चलिरहेको सेबोनले लगानीकर्ताहरूको समस्या समाधान गर्न कन्जुस्याइँ गरिरहेका छन् । पछिल्लो समयमा नेपाल उद्योग वाणिज्य महासंघको पँुजीबजार विकास फोरमको दबाबमा परेर १० कित्ते नीति हटाउनमा लागिपरेको भन्ने पनि चर्चा छ । प्राथमिक बजार पनि ठूलाबडा लगानीकर्ताहरूको पोल्टामा पार्न चलखेल भइरहेको पनि सेयर बजारमा चर्चा छ । त्यसो त सेयर बजारमा लगानीकर्ताहरूको हक, हित र अधिकारका लागि भनेर विभिन्न संघहरू पनि नभएको होइन, तर पनि यिनीहरूको काम भनेको हात्ती आयो हात्ती फुस्सा भनेजस्तै भइरहेको छ ।
आ–आफ्नो पेसा–व्यवसाय गर्नेदेखि राजनीतिक दलका थुप्रै संघ–सगठनहरू रहे झैं सेयर बजारमा सेयरमा लगानी गर्ने लगानीकर्ताका संघहरू पनि छन् । बजारमा सेयर लगानीकर्ताहरूका पाँचवटा संघ छन् । सेयर लगानीकर्ताहरूका लागि पाँच–पाँचवटा संघ आबश्यक छ कि छैन । अझ पछिल्लो समयमा त अर्को एउटा पँुजीबजार विकास अभियान भन्ने संस्था पनि थपिएको छ । सेयर लगानीकर्ताहरूको संघ नै किन चाहियो र उीहरूले बजारमा के गरेका छन् भन्ने प्रश्न पनि नभएका होइनन् । लगानीकर्ता संघले केही काम पनि नगरेको भने होइन । तर, अधिकांश लगानीकर्ताका संघ भने निष्क्रिय नै छन् । बजारमा सेयर लगानीकर्ताहरूका पाँच–पाँचवटा संघ भए पनि सर्वसाधारण लगानीकर्ताहरूसम्म पुग्न सकेका छैनन् । नेपाल इन्भेस्टमेन्ट फोरम, नेपाल पुँजीबजार संघ, सेयर लगानीकर्ता संघ, नेपाल पुँजीबजार लगानीकर्ता संघ, सेयर लगानीकर्ता दबाब समूह पुँजी बजार विकास अभियानमा छन् भने नेपाल सेयर होल्डर एसोसिएसनको हाल अत्तोपत्तो छैन । यति धेरै संघ भए पनि यिनीहरूले सर्वसाधारण लगानीकर्ताहरूलाई समेट्न सकेका छैनन् । आमसर्वसाधारण लगानीकर्ताको हक, हित र अधिकार तथा सेयर बजारका समस्याहरूलाई समाधान गर्नका लागि भनेर स्थापना भए-गरेका सेयर लगानीकर्ताका संघहरूले सर्वसाधारण लगानीकताहरूको समस्या र सेयर बजारमा देखिएको समस्या तथा बेथितिहरूलाई उजागर गर्न सकिरहेका छैनन् । कतिपय सेयर लगानीकर्ताका संघहरू बजारमा नेप्से घटेको बेलामा मात्र सक्रिय हुने गरेको भनेर पनि भन्ने आरोप पनि छ ।
सेयर लगानीकर्ताहरूको हक, हित र अधिकारका लागि भनेर स्थापना भएका संघहरू वास्तवमा आम सेयर लगानीकर्ताहरूको हक, हित र अधिकारको संघ भनेका सेयर लगानीकर्ताका संघहरूले आमलगानीकर्ताका समस्याहरू र सेयर बजारको विकास, विस्तार र सुधारका लागि काम गर्नु पदृछ । न कि सेयर लगानीकर्ताहरूका लागिभन्दा पनि आ–आफ्नो स्वार्थका लागि मात्र काम गर्ने । यस्ता सेयर लगानीकर्ताका संघहरूले आमलगानीकर्ताका समस्या र सेयर बजारमा रहेका विकृति–विसंगति, बेथितिहरूलाई समाधान गर्न सकिरहेका छैनन् । सेयर बजारमा सुधार गर्नुपर्ने थुप्रै काम छन् । जसमा यी संस्था बोल्नु आवश्यक छ र साथै सेयर बजारका नियामक निकायले बेला–बेलामा आफ्ना नीतिनियमहरू लगानीकर्ताहरूको टाउकोमा बजार्ने काम नगरेर बजारमा देखिएका विकृति–विसंगति, बेथितिहरूलाई व्यवस्थित गर्ने र सेयर बजारको विकास, विस्तार र सुधार गर्नका लागि लाग्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्