अर्थतन्त्र पुनस्र्थापना बहस «

अर्थतन्त्र पुनस्र्थापना बहस

भारत नोट छापेर नागरिकलाई बाँड्ने छलफलमा, नेपाल के गर्दैछ ?
छिमेकी राष्ट्र भारतमा कोरोनाले अर्थतन्त्रमा चरम संकट ल्याएपछि नोट नै छापेर नागरिकहरुमा बाँड्नुपर्ने छलफल अघि बढेको छ । तर नेपाल के गर्दैछ भन्ने चासो सबैलाई छ ।
सरकारले कोरोनाको कारण संकटग्रस्थ अवस्थामा पुगेको अर्थतन्त्रको पुर्नस्थापनाका लागि चालु वर्ष र आगामी वर्षका लागि विभिन्न कार्यक्रम अघि सारेको छ । तर भारतमा जस्तो नोटनै छापेर छलफल औपचारिक रुपमा अघि बढाएको छैन । नेपालमा अर्थतन्त्रका जानकारहरु भने, अहिले नै नोट छाप्नुपर्ने अवस्था नआएको बताउँछन् । नोट छाप्दा त्यसका नकारात्मक असरहरु पनि उत्तिकै पर्ने भन्दै उनीहरु अहिले नै त्यतातर्फ सोच्न नहुने तर्क गरेका छन् ।
अर्थविद् केशव आचार्य भने नोट छाप्नुपर्ने अवस्था आइनसकेको बताउँछन् । “नोट छापेर बाड्ने भनेको अन्तिम अवस्था अर्थात्, अर्थतन्त्र नै आइसियुमा पुगेको अवस्थामा हो” उनी भन्छन् “अहिले पनि सरकारसँग १ खर्ब रुपैयाँ आसपास बचत हुनुपर्छ । अहिले पनि बैंकहरुमा निक्षेप बढिरहेको छ, कर्जा पनि गइरहेको छ । राजस्व पनि उठिरहेको छ । नोट छाप्नु पर्दैन ।”
अहिले मुलुकलाई कायकल्प नै गर्ने विकास आयोजनाहरु सुरू गर्ने हो भने मात्र नोट छाप्नुपर्ने उनको तर्क छ । “कँही कतैबाट सहयोग आएन र राजस्वले अर्थतन्त्र धानेन भने, त्यस्तो अवस्थामा नोट छापेर विशेष खालका आयोजनाहरु सञ्चालन गर्न सकिन्छ” उनी भन्छन्, “जसले हजारौ÷लाखौँ रोजगारी सिर्जना गर्छ र मुलुकको कुल ग्राहस्थ उत्पादन (जीडीपी)लाई पनि बढाइदिन्छ ।”
नोट छाप्नु भन्दा आन्तरीक ऋण लिएर भएपनि दैनिक ज्याला मजदुरी गर्ने व्यक्तिहरुलाई सरकारले दिल खोलेर सहयोग गर्नुपर्ने आचार्य बताउँछन् । “निषेधाज्ञा भएको दुई महिना हुन थालिसक्यो, अनौपचारीक क्षेत्रमा दैनिक ज्यालादारी गरेर खाने शहरी इलाकाका मानिसहरु के गरेर बसिरहेका छन् ?” उनी भन्छन्, “यत्रो समय काम नगरेपछि कसरी खाइरहेका छन्, उनीहरुसँग त बचत पनि हुँदैन । त्यसैले यस्तो अवस्थामा सरकारले दिल खोलेर सहयोग गर्दा राम्रो हुने थियो ।”
विकास साझेदारहरुले दिल खोलेर सहयोग गरिरहेको अवस्थामा नोट छापेर जोखिम लिन नहुने उनी बताउँछन् । नोट नै छाप्नु प-यो भने त्यसका धेरै बेफाइदाहरु रहेको आचार्यको तर्क छ । “राष्ट्र बैंकले नोट निष्काशन गर्दा ९० प्रतिशत भन्दा बढी विदेशी मुद्रा र सुन चाँदी प्रयोग गरेको हुन्छ” उनी भन्छन्, “यदि खरबौ नोट निष्काशन गर्ने हो भने विदेशी मुद्रा सञ्चिती सखाप नै हुन्छ ।”
उनका अनुसार अहिले नेपालसँग १३-१४ अर्ब डलर बराबरको विदेशी मुद्रा सञ्चित रहेको छ । जसमा ८-९ अर्ब अमेरीकन डरल नै रहेको तथा त्यसपछि क्रमश युरो, भारु, चाइनिज लगायत अन्य मुद्राको सञ्चय रहेकाले नेपालको मुद्रा संसारकै सुुरक्षित मुद्राहरुमा पर्ने आचार्यको तर्क छ । पैसा नै छापेर बाढ्ने हो भने मुद्रास्फृति बढ्ने उनको तर्क छ ।
सरकारले गलत तरीकाले कोरोनाको आंकलन गरी पूर्व तयारी नगर्दा न्यून आय भएका र अनौपचारीक क्षेत्रबाट आर्यआर्जन गर्नेलाई ठूलो असर परेको भन्दै पूर्व अर्थसचिव विमल कोइराला उनीहरुलाई सहयोग गर्नुपर्ने बताउँछन् । तर, अहिलेको अवस्थामा अर्थतन्त्र चलायमान बनाउन पैसा नै छाप्नु नपर्ने उनको तर्क छ । नोट निष्काशन गर्दा धेरै विकृति उत्पन्न हुने भएकाले यस्तो कदम चाल्न नहुने उनको तर्क छ ।
“नोट छापेर वित्त असन्तुलनमा जानु भन्दा अनुशासन भित्रै रहेर केही कामहरु गर्न सकिन्छ” उनी भन्छन्, “यसका लागि केही आयोजनाहरुलाई स्थगित गरेर, त्यो रकमलाई विभिन्न क्षेत्र र तप्कामा वितरण गर्न सकिन्छ ।”
हाम्रो वित्त संरचनामा कुनै पनि स्पेस भएन भने त्यस्तो अवस्थामा नोट छाप्न सकिन्छ भएपनि यसले धेरै विकृति जन्माउने उनी बताउँछन् । “नोट छाप्दा बजेट घाटा हुन्छ” उनी भन्छन्, “मुद्रास्फृति बढ्छ, वित्तीय क्षेत्रमा चाप बढ्छ । त्यसैले सन्तुलित मार्ग खोज्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्