नगरपालिकालाई फोहोर व्यवस्थापन गर्न बजेट अभाव «

नगरपालिकालाई फोहोर व्यवस्थापन गर्न बजेट अभाव


बजेट अभावका कारण नगरपालिकाहरूको फोहोर व्यवस्थापनमा समस्या भएको अध्ययनले देखाएको छ ।
केन्द्रीय तथ्यांक विभागले गरेको फोहोरमैला व्यवस्थापन सम्बन्धि सर्वेक्षणले पछिल्लो समय बढ्दै गएको सहरीकरणसँगै फोहोरजन्य वस्तु पनि बढेको र बजेट अभावले व्यवस्थापनमा चुनौती भएको देखाएको हो । सर्वेक्षण गरिएका २७१ नगरपालिकामध्ये ९४.८ प्रतिशत अर्थात २५७ नगरपालिकाले फोहोर व्यवस्थापनका लागि स्रोत व्यवस्थापन सबैभन्दा ठूलो चुनौती रहेको देखाएका छन् । अध्ययनले स्रोत अभाव देखाईरहेको बेला सरकारले हालै सार्वजनिक गरेको बजेटमा स्थानीय तह र निजी क्षेत्रको साझेदारीमा वातावरण मैत्री प्रविधिमा आधारित फोहोर प्रशोधन प्लाण्टको स्थापना गर्न स्थानीय तहलाई अनुदान उपलब्ध गराउने उल्लेख छ ।
सर्वेक्षणको नतिजाअनुसार नगरपालिकाहरूमा दिनप्रतिदिन फोहोर बढिरहेकाले यसको व्यवस्थापनमा चुनौती देखिएको छ । सर्वेक्षणले देखाएका मुख्य चुनौतीहरूमा जनचेतनाको कमी, ल्याण्डफिल्ड साइटको समस्या तथा नगरपालिकाहरूमा जनशक्ति, बजेट र पूर्वाधारहरूको कमि देखाएको छ । सर्वेक्षणमा ११३ नगरपालिकाले ल्याण्डफिल्ड साइटकै अभाव हुने समस्या रहेको उल्लेख गरेका छन् ।
सर्वेक्षणबाट प्राप्त नतिजा अनुसार औसतमा एउटा नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ मा २२३२.७ टन फोहोर संकलन गरेको देखिन्छ । “दैनिक रुपमा भन्ने हो भने प्रतिदिन ६.१ टन पर्न आउँछ । जसमा जैविक ५४ प्रतिशत, अजैविक ३३.३ र अन्य फोहोर १२.७ प्रतिशत रहेको छ,” सर्वेक्षणको नतिजामा भनिएको छ, “४२.२ नगरपालिकाहरुले ल्याण्डफिल साइटको प्रयोग गरेको पाइन्छ । संकलित फोहोरमध्ये ४८.६ प्रतिशत फोहोरलाई ल्याण्डफिल साइटमा व्यवस्थापन गरिएको देखिन्छ । ”
तथ्यांक संकलन गरिएको मध्ये ३० वटा नगरपालिकाहरुले जम्मा उत्पादित फोहोरको ४.१ प्रतिशत पुनः प्रशोधन कार्य गरेका छन् । फोहोरमैलाको उत्पादन दिनप्रतिदिन बढे पनि आगामी दिनहरुमा त्यसको व्यवस्थापनमा चुनौती देखिएको अध्ययनमा उल्लेख छ ।
वातावरणविद् डा.रमेश सापकोटाले फोहोरजन्य वस्तुलाई प्रशोधन गरेर मल तथा विद्युतिय उर्जा उत्पादन गर्नुका साथै कतिपय नकुहिने फोहोरलाई रिसाइकलबाट पुनः प्रयोग गर्दा वातावरणीय प्रदूषण कम हुने बताए । “फोहोरको राम्रो व्यवस्थापन हुन नसक्दा कतिपय सहरी क्षेत्रहरुमा वायु प्रदुषणको दर बढिरहेको छ,” उनले भने, “अब स्थानीय तहहरुले कसरी फोहोरको राम्रो व्यवस्थापन गर्ने र बढ्दै गइरहेको वायु प्रदुषण नियन्त्रण गर्ने भनेर नीति लिनुपर्ने आवश्यकता छ ।”
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का वैज्ञानिक डा. रविन्द्र ढकालले पछिल्लो समय नास्टले फोहोरको रुपमा फालिने प्लाष्किजन्य धातुलाई तेल बनाउनका लागि अध्ययन भइरहेको बताए । “प्लाष्टिकजन्य वस्तुबाट तेल उत्पादन गर्न सकिन्छ,” उनले भने, “नसड्ने र नगल्ने फोहोर हो प्लाष्टिकजन्य वस्तु । यसले प्रदुषण बढाइरहेको छ । त्यसैले यसको व्यवस्थापनका लागि तेल बनाउन सकिन्छ भनेर नै अध्ययन सुरु गरेका हौं ।”

प्रतिक्रिया दिनुहोस्