पाठ्यपुस्तक अभाव हुन्न : जनक शिक्षा सामग्री केन्द्र «

पाठ्यपुस्तक अभाव हुन्न : जनक शिक्षा सामग्री केन्द्र


शैक्षिक सत्र २०७८ का लागि पाठ्यपुस्तक अभाव नहुने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ ।


शैक्षिक सत्र २०७८ का लागि आवश्यक पर्ने सम्पूर्ण पाठ्यपुस्तक छपाई भइसकेको र जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालयसम्म पुगिसकेकाले छिट्टै पाठ्यपुस्तक विद्यार्थीको हात हातमा पुग्ने जनक शिक्षा सामग्री केन्द्रका प्रमुख अनिलकुमार झाले बताए ।

झाले पाठ्यपुस्तक छपाइको काम सम्पन्न भइसकेको जानकारी दिए । प्रादेशिक कार्यालयहरूबाट जनक शिक्षा सामग्री केन्द्रमा सूचीकृत १२ सय पुस्तक बिक्रेताले देशभरका विद्यालयमा पु¥याउने उनले बताए । देशभर निषेधाज्ञा भएको अवस्थामा बिक्रेताहरू प्रादेशिक कार्यालयमा आएर पाठ्यपुस्तक लैजान नसकेका कारण बिक्री वितरणमा भने समस्या भएको प्रमुख झाले बताए ।

असारको पहिलो सातासम्ममा विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्ने उनले बताए । उनले भने, “जुन गतिले वितरण हुनुपर्ने हो, त्यो हुन सकिरहेको छैन । कोभिड–१९ को निषेधाज्ञाका कारण पुस्तक पसल खुलेको छैन । पुस्तक व्यवसायीलाई प्रादेशिक कार्यालयमा आउन समस्या भएको छ । एक सातादेखि बिक्री वितरण भइरहेको छ । जेठ मसान्तसम्म धेरै ठाउँमा पाठ्यपुस्तक पु¥याइसक्छौँ । असारको पहिलो सातासम्म देशभर विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्छ ।”


यस वर्ष कक्षा ४ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक १ करोड ७० थान उत्पादन गरी प्रदेश कार्यालयमा पुगिसकेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।

विराटनगरमा २३ लाख २ हजार ५२० थान, जनकपुरमा १४ लाख २० हजार ३३ थान, भरतपुरमा १७ लाख ४७ हजार ४५५ थान, बुटवलमा १२ लाख ७९ हजार ४०६ थान, पोखरामा १२ लाख ७३ हजार ११ थान मौज्दात छ । यसैगरी सुर्खेतमा ११ लाख २१ हजार ९०६ थान, नेपालगञ्जमा १७ लाख ४७ हजार ८३९ थान, धनगढीमा २६ लाख ६५ हजार ५७८ थान र केन्द्रीय कार्यालयमा ३५ लाख २४ हजार ५० थान पाठ्यपुस्तक मौज्दात रहेको जनक शिक्षा सामग्री केन्द्रले जानकारी दिएको छ ।

केन्द्रले पाठ्यपुस्तक बाहेक अन्य विभिन्न निकायको पुस्तक पनि छापिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्