भारतीय ठेकेदारकै ढिलाइले तामाकोसी लम्बियो «

भारतीय ठेकेदारकै ढिलाइले तामाकोसी लम्बियो

दोलखा-निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको लक्ष्य भेट्न भारतीय ठेकेदार कम्पनी बाधक भएको छ । भारतीय ठेकेदारकै कारण आयोजनाको निर्माण अवधि पटकपटक थपिँदै आएको छ ।
आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर कम्पनीले आयोजनाको काम समयमा नगर्ने कम्पनीको विकल्पको तयारी थालेको छ । आयोजनाको लट २ अन्तर्गतको हाइड्रोमेकानिकलको कामले गर्दा आयोजनाको समग्र प्रगति प्रभावित भएको छ । आयोजनाको हालसम्म करिब ९७.५ प्रतिशत काम पूरा भए तापनि हाइड्रोमेकानिकलकै कामको सुस्तताले आयोजनाको पछिल्लो लक्ष्यसमेत हासिल गर्न नसक्दा पुनः ६ महिना म्याद थप गरी विद्युत् उत्पादन हुने मिति पुसबाट असारमा सरेको छ । यसले अहिले समग्र आयोजना व्यवस्थापनको टाउको दुःखाइको विषय बनेको छ ।
आयोजनाको सिभिल, इलेक्ट्रिक तथा इलेक्ट्रोमेकानिकलका लक्ष्यअनुसारकै प्रगति भए तापनि हाइड्रोमेकानिकल र प्रसारण लाइनको कामले भने गति लिन सकेको छैन । हाइड्रोमेकानिकलको पेनस्टक पाइप ढुवानी र जडानमै समस्या छ । आयोजनाको हाइड्रोमेकानिकलको ठेक्का भारतीय कम्पनी टेक्सम्याको रेल एन्ड इन्जिनियरिङ लिमिटेडले पाएको छ । आयोजनाको ३७२ र ३१० मिटरको २ वटा ठाडो सुरुङसहित ९ सय मिटर सुरुङमा पेनस्टक पाइप जडान गर्नुपर्छ । तर त्यसको गति अत्यन्तै सुस्त छ । टेक्सम्याकोले काममा ढिलाइ गरेपछि लट ३ को ठेकेदार कम्पनी एन्द्रिजलाई केही कामसमेत दिइसकेको छ ।
टेक्सम्याकोले सन्तोषजनक रूपमा काम नगरेपछि उसको उच्च व्यवस्थापनसँग समेत आयोजना र ऊर्जा मन्त्रालयस्तरबाट समेत धेरै चरणमा बैठक भइसकेको छ । २ साताअघि मात्र ऊर्जामन्त्री वर्षमान पुनले ठेक्का तोड्नेसम्मको चेतावनी दिएका छन् । यही विषय आयोजनाको उच्च व्यवस्थापनले सरकारको उच्च तहसम्म डेढ वर्षदेखि जाहेर गर्दै आएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । गत वर्ष टेक्सम्याकोको उच्चस्थतरीय टोलीलाई भारतबाट बोलाएर साइटमै छलफल गराउँदा प्रगति हुने आशा गरे तापनि त्यो आशमै सीमित भएको छ ।
माथिल्लो तामाकोसीमा टेक्सम्याकोकै ढिलासुस्तीकै कारण आयोजना पूरा हुने लक्ष्य पनि पटकपटक सर्दै आएको छ । अब विकल्प खोजेर भए तापनि आयोजनाको काम नरोकिने अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । “जसरी पनि तोकिएको समयभित्र आयोजनाबाट विद्युत् उत्पादन गर्ने हाम्रो लक्ष्य हो,” उनले भने, “एउटा ठेकेदारका कारण समग्र आयोजनाको प्रगति रोक्न सकिन्न हाम्रो लक्ष्य भनेको आयोजना जतिसक्दो चाँडो सक्ने नै हो ।” आयोजनाले ठेकेदारलाई कामको स्पष्ट कार्यतालिका मागसहितको पत्र लेखेको छ । त्यसको जवाफ आउने बित्तिकै एक्सनमा जाने तयारी भएको उनले जानकारी दिए ।
आयोजनाको हाइड्रोमेकानिकल अन्तर्गत टेक्सम्याकोले बाँध, इन्टेक र डिस्यान्डरमा गेट, स्टपलग, पेनस्टक पाइप आदिको डिजाइन, ढुवानी, जडान, परीक्षण र कमिसनिङ आदि पर्दछन् । आयोजनामा १ हजार १३४ मिटर पेनस्टक पाइप जडान गर्नु पर्नेछ ।
पेनस्टकमा चाहिने ठूला र साना गरेर १ सय ९८ पाइपमध्ये आधाजसो सिन्धुपाल्चोकको सुनकोसीमा खसालिएका छन् । केही पाइप अझै भारतमै छन् । पेनस्टक पाइप जडान नभएका कारण सिभिलतर्फको ठेकेदार सिनो हाइड्रोले गर्नुपर्ने कंक्रिटिङको कामसमेत रोकिएको छ ।
वर्षात्को समयमा सडकलाई दोष दिएर काम रोकिए तापनि हिउँद लागेर सडक सुधार भए पछि ढुवानी प्रभावकारी हुन सकेको छैन । खाडीचौरदेखि–चरिकोटसम्मको ५५ किमि सडक विस्तारका कारण असहज भएको छ । तर त्यही सडक भएर पाइपभन्दा ठूला भार भएका उपकरण लट ३ को एन्द्रिजले गत वर्ष नै ढुवानी सकेर जडान गरिसकेको छ ।
२०७३ साउनबाट उत्पादन सुरु गर्ने लक्ष्य राखेको आयोजनाले भूकम्पपछि संशोधन गरी २०७५ असारबाट उत्पादन सुरु गर्ने लक्ष्य राख्यो । तर लट २ कै कारण ६ महिना थप भयो । त्यो समयमा पनि पूरा नहुने भएपछि अहिले २०७६ असारसम्म परीक्षण उत्पादन गर्ने संशोधित कार्यतालिका बनाइएको छ । भूकम्प र नाकाबन्दी, डलरको मूल्यवृद्धि, बजार मूल्य र समय लम्बिँदा हुने प्रशासनिक खर्चलगायतका कारण ३५ अर्ब २९ करोड अनुमानित लागतसमेत बढेर व्याजसहित दोब्बर हुने अनुमान छ ।
आयोजनाबाट उत्पादन हुने बिजुली प्रसारण गर्न विद्युत्गृह गोंगरबाट खिम्तीसम्म बिजुली जोड्नका लागि २२० केभी क्षमताको प्रसारण लाइनको काम भइरहेको छ । चार लटमा आयोजनाको काम भइरहेको छ । जसअनुसार आयोजनाको सिभिल निर्माणमा चीनको सिनो हाइड्रो कर्पोरेसन, हाइड्रोमेकानिकलमा टेक्सम्याको रेल एन्ड इन्जिनियरिङ लिमिटेड, इलेक्ट्रोमेकानिकलमा अस्ट्रियाको एन्ड्रिज हाइड्रो जीएमबी र प्रसारणलाइन तथा सबस्टेसन निर्माणमा भारतको केईसी इन्टरनेसनल लिमिटेडले गरिरहेका छन् । तर फुलासीमा बनाउने सबस्टेसनको काम पनि ढिलाइ भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्