‘१७ हजार मेगावाट स्वदेशी लगानीबाटै’ प्रथम

सरकारले अघि सारेको ७ वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका लागि स्वदेशी लगानीबाटै सम्भव हुने योजनासहितको कार्यपत्र प्रथम भएको छ ।
हिमालयन हाइड्रो एक्स्पो २०१८ मा भएको प्रतिस्पर्धामा विदेशी लगानीकर्ता र दाताहरूको भर नपरी स्वदेशी लगानीमै जलविद्युत् सम्भव भएको कार्यपत्र प्रथम भएको हो । साउथ वेस्टर्न विजनेस कलेजका विद्यार्थीले प्रोडक्ट एन्ड सर्भिसबारे तयार पारेको कार्यपत्रमा १७ हजार मेगावाट जलविद्युत् उत्पादनका लागि रेमिट्यान्स तथा आन्तरिक स्रोतबाट गर्न सकिने लगानीको खाका उल्लेख छ । सरकारी कर्मचारी, विद्यार्थी, रेमिट्यान्स र प्रत्येक घर परिवारको संलग्नताबाट स्वदेशी लगानीमै जलविद्युत् आयोजना निर्माण गर्न सकिने योजनासहितको कार्यपत्र प्रतिस्पर्धामा प्रस्तुत गरेका थिए । प्रतिस्पर्धामा कलेजमा बीबीए पाचौं सेमेस्टरमा अध्ययनरत सविन तामाङ, स्मृति श्रेष्ठ, प्रतीक्षा लोहनी, आशिष गुरुङ, सदिक्षा ढकाल तथा तेस्रो समेस्टरमा अध्ययनरत अनुशा राजभण्डारी र प्रियंका कोइराला सहभागी थिए ।
पहिलो स्थान प्राप्त गरेका विद्यार्थीहरूलाई साउथ वेस्टन विजनेस कलेजले सम्मान गरेको छ । बिहीबार विजेताहरूलाई एक कार्यक्रमका बीच कलेजका अध्यक्ष कृष्णबहादुर कार्की र प्रिन्सिपल डा. जयहरिराज पाण्डेले प्रमाणपत्र प्रदान गरेका थिए ।
पुस २१ गतेदेखि २३ गतेसम्म राजधानीको भृकुटीमण्डपमा सञ्चालन भएको एक्स्पोमा उनीहरूले आफ्नो योजना प्रस्तुत गरेका थिए । उनीहरूले यस विधामा एक दर्जन बढी कलेजका प्रतिस्पर्धीहरूलाई पछि पार्दै पहिलो स्थान हासिल गरेका हुन् ।