आधुनिक मदरसा बनाउन यूएईले सहयोग गर्ने «

आधुनिक मदरसा बनाउन यूएईले सहयोग गर्ने

संयुक्त अरब इमिरेट्स अन्तर्गत अबुधावीका स्थानीय शिक्षामन्त्री डा. अलि रसिद अल नुवामीले नेपालका सबै मदरसा प्रविधिमैत्री र आधुनिक बनाउने अभियानअन्तर्गत नेपाल सरकारसँग सहकार्यको अपेक्षा राखिएको बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसँगको भेटमा नुवामीले सो कुरा राखेका हुन् ।
मन्त्री पोखरेलसँगको भेटमा डा. नुवामीले सबै मदरसाहरुलाई सुधार गरेर आधुनिक बनाउने अभियानमा सहकार्य गर्न आग्रह गरेका छन् । उनले विश्व शान्ति, विश्व भाइचाराका लागी युएईले अन्तर्राष्ट्रिय अभियान चलाएको बताउँदै नेपाल पनि विविधतापूर्ण भएकाले यो अभियानमा सहभागी हुन आह्वान गरे । नेपाल सरकारलाई विज्ञान र प्रविधिको क्षेत्रमा सहयोग गर्न यूएई सरकार तयार रहेको डा. नुवामीले प्रतिबद्धता व्यक्त गरे ।
भेटमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेलले विज्ञान प्रविधि र शिक्षाको विकासका लागि सहकार्य सहयोग गर्न आग्रह गरेका थिए । यूएईको विकासका लागि नेपाली जनशक्तिले सहयोग गरेको स्मरण गराउँदै मन्त्री पोखरेलले यूएईमा रहेका विश्व स्तरका विश्व विद्यालयहरुबाट नेपाली विद्यार्थीहरु पनि लाभान्वित हुने अपेक्षा व्यक्त गरे । दुई देशबीचको सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै मन्त्री पोखरेलले समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा सहयोग गर्न यूएई सरकारसँग अनुरोध गरे ।

 

प्रतिक्रिया दिनुहोस्