सुदूरपश्चिम प्रदेश सरकारले पूरानै कार्यक्रममलाई निरन्तरता दिने «

सुदूरपश्चिम प्रदेश सरकारले पूरानै कार्यक्रममलाई निरन्तरता दिने



सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ । प्रदेश सभाको बिहीबार बसेको बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
गत वर्ष नयाँ नारा कार्यक्रमहरुले भरिएको नीति तथा कार्यक्रम ल्याएको प्रदेश सरकारले यस वर्ष अधिकांश पुरानै कार्यक्रमहरुलाई निरन्तरता दिएको छ । अघिल्लो आर्थिक वर्षहरुबाट सुुरू गरी चालु आर्थिक वर्षमा पनि निरन्तर रहेका केही कार्यक्रमहरुको नीति तथा कार्यक्रममा समावेश नगरेको प्रदेश सरकारले थोरै मात्रामा नयाँ कार्यक्रमहरु समावेश गरेको छ ।
प्रदेश सरकारले स्थानीय स्रोत र कच्चा पदार्थ प्रयोग गरी नेपाली कागज उत्पादन गर्नका लागि विउ पुँजी उपलब्ध गराउने र उत्पादित नेपाली कागज सरकारी कामकाजमा प्रयोग गर्ने व्यवस्था मिलाउने नयाँ कार्यक्रम जोडेको छ । औद्योगिक व्यवसायलाई प्रबद्र्धन गर्न प्रदेश सरकारले न्युन व्याजमा ५० लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने, दुर्गम क्षेत्रमा ‘विकाससँग रोजगारी कार्यक्रम ल्याएको छ ।
आउँदो आर्थिक वर्षभित्रै प्रदेशलाई पूर्ण साक्षर घोषणा गर्ने, १२ महिना सिँचाई सुविधा पुर्याउन सतह, भूमिगत र लिफ्ट सिँचाई योजनाहरु सञ्चालन गर्ने, उच्चपदस्थ कर्मचारीका लागि एकीकृत आवास गृह निर्माण गर्ने, सडक र पुल मर्मत सम्भार कोष स्थापना गरी सोमार्फत् सडक र पुललाई निरन्तर मर्मत गर्ने, सुन्तला र ओखरलाई प्रदेश गुणस्तर चिन्हसहित बजारीकरण गर्ने, सञ्चार क्षेत्रको विकासका लागि आमसञ्चार नीति ल्याउने, सेती प्रादेशिक अस्पताललाई शिक्षण अस्पताल बनाउने, आवास सुधार कार्यक्रमअन्तरगत विपन्न नागरिकको खरको छानो फेर्ने, जस्ता नयाँ कार्यक्रमहरु प्रदेश सरकारले थपेको छ ।
प्रदेश सरकारले कोरोनाबाट प्रभावित साना तथा मझौला व्यवसायीलाई पुर्नकर्जा दिने, कोरोना प्रभावित तथा विदेशबाट फर्केका युवाहरुलाई स्वरोजगार बन्न, उद्योग व्यवसाय स्थापना गर्न स्वरोजगार कोषबाट सहुलियतपूर्ण ऋण उपलब्ध गराउने, ‘देवःभूमि सुन्दर ठाउँ, सुदूरपश्चिम घुम्न जाउँ’ भन्ने नारासहित पर्यटन प्रबद्र्धन गर्ने, मुख्यमन्त्री एकीकृत वस्ती विस्तार, मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम, कृषिमा आत्मनिर्भर बन्न पकेट क्षेत्र विकास कार्यक्रम, मसिना तथा बास्नादार धान उत्पादन तथा बजारीकरण गर्ने, किसानसँग कृषिका विद्यार्थी, ठाउँ सुहाउँदो बाली उत्पादनका लागि माटो परीक्षण कार्यक्रम, युवालाई कृषिमा आकर्षित गर्न युवा लक्षित कृषि कार्यक्रम, मत्स्य विकासमा नविनतम प्रविधिको प्रयोग गरी भुरा तथा माछा उत्पादन कार्यक्रम, साना तथा मझौता सिँचाई आयोजना, प्रदेश गौरवका सडकहरु, अधुरा खानेपानी आयोजनाहरुलाई सम्पन्न गर्नेलगायतका कार्यक्रमहरुलाई निरन्तरता दिएको छ ।
यसैगरी, प्रदेशको अधिकार क्षेत्रमा रहेका जलविद्युत् आयोजनाहरुलाई प्रदेश सरकार आफैले वा साझेदारीमा निर्माण गर्ने, ‘एक घर, एक धारा कार्यक्रम’ अन्तरगत माग र स्रोतलाई ध्यान दिँदै विस्तार गरिने कार्यक्रमलाई प्रदेश सरकारले निरन्तरता दिएको छ । प्रदेश सरकारको यस वर्षको नीति तथा कार्यक्रममा निरन्तरता दिइनेछ, विस्तार गरिनेछ, व्यवस्थित गरिनेछ, सुधार गरिनेछ जस्ता शब्दहरु बढी प्रयोग भएका छन् ।

स्वास्थ्यपछि कृषिमा जोड
कोरोना महामारीका कारण कमजोर भएको स्वास्थ्य प्रणालीलाई सुधार गर्ने, व्यवस्थित गर्ने, अस्पतालका भौतिक संरचना सुधार र विस्तार गर्ने, जनशक्तिको क्षमता विकास गर्ने लगायतको स्वास्थ्यको क्षेत्रलाई पहिलो प्राथमिकता दिइको छ । प्रदेश सरकारले नेपाल सरकार र स्थानीय तहको समन्वयमा ‘एक स्वास्थ्य रणनीति’ कार्यान्वयन गर्ने नीति लिएको छ ।
प्रदेश सरकारले कोरोना महामारीसँग प्रदेश सरकारले नै खोप व्यवस्थापन गर्ने कार्यक्रम ल्याएको नीति तथा कार्यक्रममा उल्लेख छ । सेती र महाकाली प्रादेशिक अस्पतालमा ‘विस्तारित स्वास्थ्य सेवा’ सञ्चालन गरी अन्य अस्पतालमा पनि विस्तार गर्ने, सेती, महाकाली र टीकापुर अस्पताललाई विशिष्टीकृत सेवा दिने अस्पताल बनाउने, टेलिमेडिसिन सेवालाई विस्तार गर्ने, जनस्वास्थ्यलाई पहिलो प्राथमिकता दिइएको नीति तथा कार्यक्रममा आर्थिक क्षेत्रलाई बलियो बनाउन कृषि कार्यक्रमहरुमा बढी जोड दिइएको छ । नीति तथा कार्यक्रममा भनिएको छ, “प्रदेशको आवश्यकतालाई परिपूर्ति गर्न, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग, जलस्रोत र पूर्वाधार जस्ता क्षेत्रलाई उच्च प्राथमिकतामा राखी प्रस्तुत नीति तथा कार्यक्रम तर्जुमा गरिएको छ ।”

प्रतिक्रिया दिनुहोस्