सम्झौताको तीन वर्षसम्म पुल निर्माण अलपत्र «

सम्झौताको तीन वर्षसम्म पुल निर्माण अलपत्र

कञ्चनपुरको लालझाडी गाउँपालिकास्थित देखतभुली–पर्सिया जोड्ने निमार्णाधीन अलपत्र पुल । तस्बिर : कारोबार


कञ्चनपुरको लालझाडी गाउँपालिकास्थित देखतभुली–पर्सिया जोड्ने पुल ठेक्का सम्झौता भएको लामो समय बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । पुलको निर्माणकार्य अलपत्र पर्दा ठेक्का सम्झौता सम्पन्न भएको तीन वर्षसम्म पनि पुल निर्माण सम्पन्न हुन नसकेको हो ।
वि.सं २०७२ सालमा पुलको ठेक्का सम्झौता भएर २०७२ सालकै पुस २५ देखि सुरु भएको पुलको निर्माणकार्य झण्डै तीन वर्षदेखि ठप्प रहेको छ । देखतभुली–पर्सिया जोड्ने १७० मिटर लामो पक्की पुल वि.सं २०७५ पुस २५ गतेसम्म निर्माण सम्पन्न गरिनुपर्ने गरी समय निर्धारण गरिएको थियो । पुलको डिजाइनमा प्राविधिक समस्या देखिएपछि निर्माणकार्य सम्झौता सम्पन्न भएको तीन वर्ष पछाडि आएर पनि सम्पन्न हुन सकेको छैन । निर्माणकार्य अगाडि नबढ्दा पुल अलपत्र परेको छ ।
“देखतभुली–पर्सिया जोड्ने १७० मिटर लामो पक्की पुलको छवटा फाउन्डेसन रहेको छ, छवटा फाउन्डेसनमध्ये चार वटा फाउन्डेसनको निर्माणकार्य पूरा भएको अवस्था छ,” सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख नरेन्द्रप्रसाद भट्टले भने, “पुलको जम्मा फाउन्डेसनमध्ये दुईवटा फाउन्डेसनको जगमा केही समस्या देखिएको छ, फाउन्डेसन हालेको केही समयपछि जमिनमुनिको फाउन्डेसनको भागलाई पानीले भित्रपट्टीबाट बगाएपछि निर्माणकार्य रोकिएको हो ।” पानीले भित्रतिरबाट फाउन्डेसनको जग बगाएपछि पुल निर्माणको अगाडि बढाउनु पर्ने काम रोक्नु पर्ने हुन्छ । ठेकेदारले समयमै निर्माणकार्यलाई तदारुकता नदिएका कारणले पुल निर्माणमा ढिलाइ भएको प्रमुख भट्टले बताए । २४ करोड ५२ लाखमा फुटपाथसहित दुई लेनको पुल बनाउने जिम्मा पाएको ठेकेदार कम्पनी लुम्बिनी राजेन्द्र श्रेष्ठ जेभीले पुलको समयसीमा ठेक्का सम्झौतापछि केही समयसीमा थप पाएको थियो । समयसीमा थपेपछि २०७७ फाल्गुन १५ गतेसम्म पुल निर्माणकार्य सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म पुल निर्माणको कुनै छाँटकाँट देखिएको छैन ।
पुलको फाउन्डेसनमा समस्या आएपछि निर्माण कम्पनीले उक्त पुलको नयाँ डिजाइन मन्त्रालयबाट स्वीकृत गराएर निर्माणकार्य अगाडि बढाउनु पर्ने भए पनि हालसम्म निर्माण कम्पनीले पुलको नयाँ डिजाइन स्वीकृत गर्न सकेको छैन । हाल निर्माण कम्पनीको डिजाइन स्वीकृत हुने अवस्थामा मन्त्रालयमा पुगेको र डिजाइन स्वीकृत भएपछि नयाँ आर्थिक वर्षबाट अलपत्र पुलको निर्माणकार्य अगाडि बढ्ने सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख भट्टको भनाइ छ ।

समयमै पुल सम्पन्न नहुँदा स्थानीय निराश
अलपत्र देखतभुली–पर्सिया जोड्ने पुल भएर दोदा नदी बहने गर्दछ । वर्षायाममा उर्लेर आउने दोदा नदीले स्थानीयलाई आवतजावतमा समस्या पार्ने गर्दछ । नदीमा निर्माणाधीन पुल लामो समयदेखि अलपत्र भएका कारण स्थानीयले आवतजावतमा समस्या खेप्नुपर्ने बाध्यता छ ।
“वर्षाैंदेखि नदी वारिपारि लालझाडी क्षेत्रमा धेरै किसान खेतीकिसानी गर्दै आएका छन्, बाढी आउन थालेको पनि धेरै वर्ष भयो, बाढीले गर्दा धेरै खेतीयोग्य जमिन नदीले कटान गरेर बगरमा परिणत गरिसकेको अवस्था छ ।” लालझाडीका स्थानीय प्रेमलाल रानाले भने, केही वर्षअगाडि निर्माण सुरु भएको पुल केही समयमै अलपत्र परेको छ, यसले गर्दा पुलबाट स्थानीयले लिएको आश त्रासमा परिणत भएको छ, नदीमा निर्माणाधीन पुल अलपत्र हुँदा आवतजावतमा समस्या हुने गरेको छ ।” हिउँदमा काठे पुलको प्रयोग हुने गरेको भए पनि वर्षात्मा नदीमा पानीको बहाव उच्च हुने भएकाले यस क्षेत्रको आवतजावत ठप्प हुने गरेको छ । आकष्मिक समस्या परे स्थानीय बासिन्दाले वर्षाका बेला ज्यान जोखिममा राखेर दोदा नदी तर्नुपर्ने बाध्यता रहेको स्थानीय रानाले बताए ।
यसैगरी लाझाडीका अर्का स्थानीय श्रीकृष्ण रानाका अनुसार वर्षायाममा नदीमा आउने बाढीको समयमा बिरामी भएका मानिसलार्ई अस्पताल लैजान समस्या हुने गरेको बताए । “बाढी आएको समयमा नदी तर्ने क्रममा नदीमा बगेर धेरै स्थानीय मानिसको ज्यान गएको छ, कतिपय अवस्थामा भने मानिस बगेर वेपत्ता पनि भएका छन्,” स्थानीय श्रीकृष्ण रानाले भने, “वर्षाको समय हुन्छ, बिरामी हुने मानिस पनि धेरै हुन्छन्, नदीमा बाढी आएर गाउँसम्मै पस्ने गर्दछ, बिरामी तथा सुत्केरी महिलालाई बाढीको समयमा नदी तरेर अस्पताल लैजान ज्यानको बाजी लगाउनु पर्ने बाध्यता छ ।”

प्रतिक्रिया दिनुहोस्