गाउँमा बढ्दै संक्रमण, सदरमुकाम मात्रै उच्च सावधानी «

गाउँमा बढ्दै संक्रमण, सदरमुकाम मात्रै उच्च सावधानी

गाउँमा स्थानीयको चरम लापरबाहीले दोस्रो लहरको कोरोना संक्रमण भयाभह रुपमा फैलिएको छ । साबुन पानीले हात नधुने, सामाजिक दूरी कायम नगर्ने, मास्क नलगाउने लगायतका सावधानिक नअपनाउँदा कोरोना फैलिएको हो । यही साता तातोपानी गाउँपालिका¬–१ राँका गाउँमा २५ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण पृष्टि भयो । त्यसपछि राँका गाउँलाई १० दिनसम्म सिल गरिएको छ ।
गाउँमा एकाएक संक्रमण बढेपछि गाउँका नागरिक त्रसित भएका छन् । त्यस्तै डेढ साताअघि मात्रै तातोपानी ६ कै रावतबाडा गाउँमा पनि एकाएक संक्रमण बढेपछि गाउँ सिल गरिएको थियो भने अन्य गाउँमा पनि संक्रमण बढी रहेकै छ ।
पछिल्लो समय सदरमुकाम संक्रमण घट्नु र गाउँमा संक्रमण फैलिनुको कारण गाउँमा बढ्दो लापरबाही र सदरमुकाममा उच्च सावधानीनै हो । जुम्लाका ग्रामीण क्षेत्रमा कोरोना संक्रमण फैलन नदिन पालना गर्नुपर्ने कुनै पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेको भेटिँदैन । घरबाहिर निस्कँदा मास्कको प्रयोग हुँदैन । घरमा आउँदा नियमित साबुनपानीले हात धुने गरेको भेटिँदैनन् । खेती किसानीको काम गर्दा सामाजिक तथा व्यक्तिगत दूरी कायम गरिएको समेत पाइँदैन ।
जताततै भीडभाड र लापारबाही बढिरहेको छ । तातोपानी १ का वडाध्यक्ष प्रेम कठायत भन्छन्, खेतीपातीको सिजन भए पनि सावधानी छैन् स्वास्थ्यभन्दा काममै बढी ध्यान दिन्छन् । घरघरमा ज्वरोका विरामी भेटिएपछि परिक्षण गर्दा संक्रमण देखियो ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । गाउँमा न निषेधाज्ञाको पालना गरिएको छ, न त निषेधाज्ञाबारे अनविज्ञ नै छन् । स्थानीय लोक दमाईले स्थानीयकै लापरबाहिले संक्रमण बढ्न सक्ने जोखिम भएकाले गाउँमा कडा निषेधाज्ञा गर्नुपर्ने बताए ।
उनले भने, बिना सावधानिक गाउँगाउँमा विकासे काम, खेतीपाती भइरहेका छन् एक गाउँदेखि अर्को गाउँमा गएर खेतिकिसानीको काम भइरहेका छन् गाउँमा जमघट हुने, भीडभाड गर्नेदेखि मन्दिरमा देवताको पूजा गर्ने र सामूहिक रूपमा छलफल भइरहेका छन् ।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लादेखि एन्टिजेन र पीसीआर परीक्षण गर्न जाँदा कोरोना जचाउँन मान्दैनन्न् । कतिपय युवाहरू गाउँमा कोरोना जाँच गर्छन् भनेर जडिबुटी खोज्न जंगलतिर जाने गरेको स्थानीय बताउँछन् ।
स्थानीयले गाउँका जनप्रतिनिधिले कोरोना रोकथाममम सक्रिया बढाए पनि स्थानीयको लापरबाहीले जोखिम बढेको छ । कोरोना रोकथामका लागि जारी लकडाउन प्रभाव सदरमुकाममा मात्रै देखिन्छ । गाउँमा होटल, पसल सबै खुल्लै छन् । मास्कसमेत स्थानियले नियमित प्रयोग गरेको पाइँदैन ।
सदरमुकाम खलंगा आसपासमा भने निकै कडा छ । स्थानीयले प्रशासनले तोकेको समयमा बाहेक अरू बेला बजार खुल्न पाउँदैनन् स्वास्थ्यकर्मी र कर्मचारीबाहेक अन्यले आवतजावत गर्न पाउँदैनन् चोकचोकमा प्रहरी परिचालन गरिएको छ ।
औषधि पसल तथा खाधबस्तु बाहेक सबै सेवा ठप्प गर्न आदेश दिएको छ । सदरमुकाम खलंगामा निषेधाज्ञाको पालना राम्रै भएको छ । तर, गाउँमा बेहाल नै छ । जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्यांकअनुसार हालसम्म जुम्लामा ४ सय ९६ जना संक्रमित छन् । २ सय ५७ जना निको भएर घर फर्किएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ३६ जनाको उपचार भइराखेको छ । जुम्ला बाहिरका तीनजना र जुम्लाका दुईजना गरेर पाँच जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्