क्लिंकर उत्पादन गर्न अर्काे उद्योग स्थापना गर्नुपर्छ «

क्लिंकर उत्पादन गर्न अर्काे उद्योग स्थापना गर्नुपर्छ

गोपीकृष्ण न्यौपाने, महाप्रबन्धक, उदयपुर सिमेन्ट उद्योग लिमिटेड

वि.सं २०४४ मा स्थापना भएको उदयपुर सिमेन्टले गैंडा छाप सिमेन्ट उत्पादन गर्दै आएको छ । गुणस्तरीय चुनढुंगा, जापानी प्रविधिबाट उत्पादित सिमेन्ट भएकाले गर्दा सिमेन्टको माग अत्यधिक रहेको छ । दैनिक ८ सय मेट्रिक टन उत्पादन क्षमता भए पनि करिब तीन दशक पुरानो मेसिन, कोभिड–१९ र प्राविधिक समस्याका कारण उद्योग कुल क्षमतामा उत्पादन हुन नसकेको बताइन्छ । करिब दुई वर्षदेखि महाप्रबन्धक खाली रहेकोमा सरकारले गत माघमा खुला प्रतिस्पर्धाबाट गोपीकृष्ण न्यौपानेलाई महाप्रबन्धकमा नियुक्त गरेको थियो । व्यवस्थापन र कानुनमा स्नातकोत्तर शैक्षिक योग्यता हासिल गरेका न्यौपानेसँग यसअघि चौधरी ग्रुपको महाप्रबन्धक, तत्कालीन नेपाल अटो डिलर एसोसिएसनको महासचिव, निजी स्वास्थ्य संघको महासचिव, माछापुच्छ्रे बैंकको निर्देशक, मूलतः अडिट सिस्टम, कानुनी व्यवस्थापन, जोखिम व्यवस्थापन, स्वास्थ्य तथा शैक्षिक क्षेत्रका करिब १ दर्जन संघसंस्थामा विभिन्न पदमा रहेर काम गरेको अनुभव छ । अटो, इन्जिनियर, शैक्षिक, स्वास्थ्य, कानुन, वित्त, जोखिम व्यवस्थापनमा काम गरेको अनुभव भएकाले उद्योगलाई सोही अनुभवको प्रयोग गरी नयाँ उचाइमा पु¥याउने न्यौपानेको दाबी छ । जिम्मेवारी सम्हालेकोे सय दिनमा उद्योगले ४९ करोड रुपैयाँ आम्दानी गरेको दाबी गर्छन् उनी । करिब दुई वर्ष नेतृत्व नहुँदा धराशायी बन्दै गएको उद्योगलाई गति दिन र समग्र विकासका लागि अल्पकालीन र दीर्घकालीन योजनासहित उद्योगको सम्पत्ति संरक्षण, कम्पनी अपग्रेड, सुशासन कायम गर्न अगाडि सरेका महाप्रबन्धक न्यौपानेसँग कारोबारकर्मी दीपेन्द्र थापाले गरेको कुराकानीको सार :

सरकारले उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएको छ । उदयपुर सिमेन्टको वर्तमान अवस्था कस्तो छ ?
यो सरकारको पूर्ण स्वामित्व भएको उद्योग हो । सरकारले जारी गरेको औद्योगिक व्यवसाय ऐन, आर्थिक ऐनलगायत विभिन्न प्रचलित कानुनबाट विभिन्न सुविधाहरू औद्योगिक क्षेत्र प्रवद्र्धनका लागि भनेर सुविधा दिएको अवस्था छ । स्थापनासँगै उद्योगले जापान सरकारबाट जुन सेवा–सुविधा पायो त्योबाहेक यो उद्योगले नेपाल सरकारबाट कुनै पनि ठूलो सेवासुविधा प्राप्त गरेको छैन । यो आफैंमा एक सुखद कुरा हो । उद्योगको आयआर्जनबाट हालसम्म उद्योग नियमित करिब तीन दशकसम्म सञ्चालनमा हुनु भनेको नै महत्वपूर्ण कुरा हो । यसलाई सरकारले हेर्ने दृष्टिकोण तथा यसलाई प्राथमिकता दिने कुरा त छँदैछ । नेपालको सिमेन्ट उद्योगका पायनियोर उद्योगको स्थान ओगट्दै आएको छ । तर पनि पछिल्लो समय फरक ढंगले जानुपर्छ भन्ने मलाई लाग्छ ।
सरकारले लगानी गरेको धेरै संस्थानहरू घाटामा छन् । तर, उदयपुर सिमेन्ट मैले चार महिनाको जिम्मेवारी पाएपछि हेर्दा यहाँ व्यवस्थापकीय कमजोरी रहेको पाएँ । सिमेन्ट उद्योगको २० वर्षको आयु मानिन्छ, हामी त्यसै पनि २८-३० वर्ष पूरा भइसकेका छौं । मिल मेसिनरीहरू पुराना भएका छन् । जापानको कावासाकी कम्पनीको मेसिन भएकाले गर्दा हालसम्म मर्मत गर्दै चलेको छ । यद्यपि मर्मत खर्च भने धेरै छ । यसरी हेर्दा उद्योगलाई नयाँ स्वरूपमा लानका लागि आर्थिक अभावलगायतका समस्या छन् । हालसम्म यसको ५ अर्ब २५ करोड रुपैयाँको सञ्चित नोक्सानी देखिन्छ । यो नोक्सानी देखिए पनि नेपाल सरकारले जापान सरकारद्वारा लोनको रूपमा प्राप्त ग¥यौं, पछि अनुदानमा प्रदान ग¥यो । तर, हामीलाई सरकारले लोनको रूपमा नै राखेको छ । त्यसको ब्याज ५ प्रतिशतका दरले सरकारलाई भुक्तानी गर्नुपर्छ । तिर्ने कुरा कम भए पनि दायित्व भएकाले गर्दा प्रतिबोरा सिमेन्टमा ५० रुपैयाँ लागत बढिरहेको छ । यसरी करिब–करिब ९ करोड रुपैयाँजति हुन्छ ।
९५ प्रतिशत कच्चा पदार्थ भनेको चुनढुंगा हो यो सिमेन्टको । ९५ पदार्थ कच्चा पदार्थ चुनढुंगा प्रयोग भएर बन्ने सिमेन्ट उद्योग यही हो । ९५ प्रतिशत भ्यालु एडिसन भएको उद्योगबाट उत्पादन भएको सिमेन्टमा प्रतिबोरा ११ रुपैयाँ अन्तःशुल्क लाग्छ, १३ प्रतिशत भ्याट लाग्छ, त्यस्तै अन्य २० प्रतिशत आयकर गरी करिब ५०-६० करोड राजस्व तिर्छौं । सरकारकै लगानी भए पनि सरकारले नै राजस्व उठाउँछ, यसरी झट्ट सञ्चित नोक्सानी देखिए पनि यसमा निराश हुनुपर्ने अवस्था छैन । उद्योगको सम्पत्तिको भ्यालुऐडिसन गरेर ब्यालेन्स ऐड गर्नुपर्ने हो, त्यो एनएफआर सिस्टममा जानुपर्ने त्यसमा गइसकेको अवस्था छैन । एनएफआरमा गएर भ्यालु एडिसन गर्ने हो भने हामी सञ्चित नोक्सानीबाट बाहिर आउँछौं भन्ने हो । यसरी हेर्दा सञ्चित नोक्सानी रहेको छ, तर त्यसलाई पूर्ति गर्न सक्ने अवस्थामा उद्योग रहेको छ ।

पछिल्लो समय उद्योगको अवस्था कस्तो छ ?
चालू आर्थिक वर्षको प्रथम छ महिनामा ३५ हजार ८५ मेट्रिक टन क्लिंकर उत्पादन भएकोमा माघदेखि वैशाखसम्म अर्थात् पछिल्लो चार महिनामै ३६ हजार ५० मे. टन क्लिंकर उत्पादन भएको छ । त्यसैगरी पुससम्म ५२ करोड ६७ लाख ९५ हजारबराबरको ६ लाख ९८ हजार ५ सय ८६ बोरा सिमेन्ट बिक्री भएको देखिन्छ भने माघदेखि वैशाखसम्म अर्थात् पछिल्लो चार महिनामै ६१ करोड १३ लाख ५० हजारबराबरको ८ लाख २६ हजार ६ सय ८८ बोरा सिमेन्ट बिक्री भएको छ । २०७८ वैशाख महिनामा ११ हजार ६ सय मेट्रिक टन क्लिंकर उत्पादन भएको छ, यो महिनामा यो आर्थिक वर्षको सर्वाधिक क्लिंकर उत्पादन भएको हो । उत्पादन क्षमताको ५० प्रतिशतभन्दा कम सञ्चालन भए पनि यो आर्थिक वर्षमा करिब १६ करोड राजस्व संकलन गरेको छ ।
२०७७ माघ १ गतेदेखि मैले महाप्रबन्धकको जिम्मेवारी सम्हालेको हुँ । चार महिनामै पहिलो ६ महिनाको रेकर्ड तोडेको छु । पहिलो ६ महिनामा ८ हजार ९ सय ५५ मे.टन कोइला खपत भएकोमा पछिल्लो चार महिनामा उत्पादन बढे पनि कोइला खपत ८ हजार ८ सय १४ मे.टन मात्रै भएको छ । यसैगरी आइरन ओर, रातोमाटो, जिप्समलगायतका कच्चा पदार्थको खपत पनि पहिलो ६ महिनाको अनुपातमा घटेको छ । यसबाट उत्पादन लागत घटाउन मद्दत पुगेको छ । गुणस्तरीय उत्पादन गैंडाछाप सिमेन्टको माग देशभरि नै रहे पनि यस उद्योगको अवस्थितिका कारणले यसको मुख्य बजार भनेको बर्दिबासदेखि काँकडभिट्टासम्म नै हो, त्यसपछिको बजार भनेको काठमाडौं उपत्यका रहेको देखिन्छ । नयाँ बिक्री नीति जारी गरी अधिकृत बिक्रेतालाई बिक्री कमिसन र इन्सेन्टिभजस्ता सुविधाहरू दिन सुरु गरिएको छ । यो बिक्री नीतिअन्तर्गत हालसम्म १ सय १४ स्थानमा अधिकृत बिक्रेताहरू नियुक्ति गरी बजार विस्तार गरिएको छ । २०७७ माघदेखि २०७८ वैशाखसम्ममा ५८ करोडको दायित्व भुक्तानी गरी उद्योगलाई गतिशिलता दिएको देखिन्छ । लगभग २८ वर्ष पुरानो मिल मेसिनरीको मर्मत–सम्भारमा ठूलै रकम पनि खर्च हुने र उत्पादन अवधि पनि घट्ने भएकाले क्षमताअनुसार उद्योग सञ्चालन हुने स्थिति देखिँदैन । हाल उद्योगको क्षमता दैनिक ८ सय मेट्रिक टन रहेको छ । अहिले सबैभन्दा बढी दुःख दिएको क्लिन सेल फेर्नका लागि टेन्डर आह्वान भइसकेको छ भने उत्पादन बढाउन रिइन्फोर्समेन्ट सस्पेन्सन प्रेहिटर जडान गर्न अध्ययन भइरहेको छ । विद्युत् ब्याकअपका लागि १ मेगावाटको सोलार पावर प्लान्ट लगाउने सम्बन्धमा पनि अध्ययन भइरहेको छ । यसका लागि लाग्ने लगभग ७० करोड रकम व्यवस्थापन गरिदिन उद्योग र अर्थमन्त्री दुवैलाई अनुरोध गरिएको छ । करिब ७ करोड ६२ लाख मेट्रिक टन उत्पादन हुने चुनढुंगा खानी उपयोगका लागि उदयपुर सिमेन्ट उद्योग, कर्मचारी, स्थानीय बासिन्दा र सर्वसाधारणबाट सेयर संकलन गरी बाँकी रकम स्वदेशी तथा विदेशी लगानीबाट दैनिक ६ हजार मेट्रिक टन क्लिंकर उत्पादन गर्ने उद्योग खोल्नका लागि समेत अध्ययन भइरहेको छ ।
धेरैजसो कर्मचारी दुई–चार वर्षभित्रै सेवानिवृत्त भएर जाँदै छन्, सेवा अवकाशपछि एकजना कर्मचारीले २५ लाखदेखि ८० लाखसम्म सुविधा पाउने देखिन्छ । यो पैसा पाइनेमा आस मारिसकेका कामदार-कर्मचारीले महाप्रबन्धकले पछिल्लो चरणमा अवकाश कोषमा ४ करोड ५० लाख जम्मा गरिदिएर क्यूमा बसेका कर्मचारीहरूले भुक्तानी पाएपछि भने अवकाशपछि भुक्तानी पाइन्छ भन्नेमा आशावादी देखिएका छन् ।

नेपाल सिमेन्टमा आत्मनिर्भर रहेको बताइँदै आएको छ । तर, ठूला खाले पूर्वाधारमा नेपाली सिमेन्टको प्रयोग किन हुन नसकेको हो ?
अहिले नेपालमा भएको उद्योग पूर्ण क्षमतामा चल्दाखेरि यहाँको मागलाई सम्बोधन गर्न सक्ने अवस्था रहेको छ । आत्मनिर्भर पनि भइसकेको अवस्था छ र बाहिरबाट सिमेन्ट आउन छाडिसकेको अवस्था छ । तर पनि केही उद्योग जसले क्लिंकर उत्पादन नगर्ने सिमेन्ट उद्योगले क्लिंकर आयात गरिरहेको अवस्था छ ।
यसरी हेर्दा नेपालमा उत्पादन भएका सिमेन्टको उपयोग हुनुपर्ने हो, त्यसको तादात्म्यता भने कताकता नमिलेको जस्तो लाग्छ । नेपालमा उत्पादित सिमेन्ट खपतका लागि योजना तथा कार्यक्रम बन्नुपर्ने, त्यसमा भने कमी–कमजोरी भएको छ । नेपालका उत्पादित सिमेन्टको प्रयोग भनेको पहाडी इलाकामा बन्ने सडक (आरसीसी ढलान गर्ने) मा यसरी सिमेन्टको पनि खपत हुने र सडक पनि दीर्घकालसम्म टिक्ने हुन्छ । सुरुङमार्गमा पनि आरपीसी सिमेन्टको उपयोग राम्रो छ । हाम्रो उद्योगले उत्पादन गर्ने सिमेन्ट गुणस्तरीय रहेको छ भने अरू उद्योगलाई पनि सन्तुलनमा राख्न सहयोग गरिरहेको छ । साथै, मूल्यमा पनि अस्वाभाविक छैन र बजारको अवस्थाका आधारमा बढाउने र घटाउने गर्दैनौं, त्यसैले गर्दा हाम्रो मूल्यका आधारमा अन्य सिमेन्ट उद्योगले मूल्य कायम गरेका छन् । सरकारले केही सिमेन्ट उद्योग स्वयंले सञ्चालन गरेकाले गर्दा अरू उद्योगलाई सन्तुलनमा राख्न, नियमन नियन्त्रण गर्न गुणस्तर र मूल्य कायम गर्नेमा सहयोग पुगेको मैले विश्वास लिएको छु ।

सरकारले सिमेन्ट निर्यातको कुरा पनि गर्दै आएको थियो, तर हाल यसमा के–कस्तो प्रक्रिया सुरु भएको छ ?
विकास निर्माणका प्रक्रियामा बल्ल सुरु भएको अवस्था छ । अझ पनि धेरै विकास निर्माण, पूर्वाधारको काम बाँकी नै छ । निर्माणकार्य धेरै नै छ, तदारुकताका साथ काम अगाडि बढ्न नसक्दाखेरि विकास खर्च हुन नसकी कागजमा सीमित हुने, कार्यान्वयनमा भने समस्या रहेको छ । बजेटमा समेटिएका कार्यक्रम कार्यान्वयन हुन सकेको खण्डमा धेरै विकास निर्माण हुन्छ । विकास निर्माणको काम अगाडि बढेसँगै निर्माण सामग्री, सिमेन्टको प्रयोग अवश्य बढी हुन्छ । बोर्डर क्षेत्रमा त्यति धेरै सिमेन्ट उद्योग छैन, भारतको विहार, उत्तराखण्ड क्षेत्रमा सिमेन्ट उद्योग छैन, त्यहाँ चुनढुंगा खानी नभएकाले गर्दा हो । त्यो क्षेत्रमा हामीले निर्यात गर्ने सम्भाव्यता रहेको छ । तर, हाम्रो नेपालमा नै धेरै सिमेन्टको खपत छ । तत्काल नै निर्यातको सम्भावना नभए पनि भावी दिनमा सरकारले नजिकका भारतीय बजारमा निर्यात गर्ने नीति तथा कार्यक्रम भने अगाडि बढाउनुपर्छ ।

कोभिड–१९ का कारण उद्योगमा केकस्तो असर परेको छ । कोभिड–१९ को नियन्त्रण तथा रोकथाम गर्दै उद्योगले कसरी व्यवस्थापन गरिरहेको छ ?
लकडाउनमा पनि स्वास्थ्य मापदण्ड अपनाएर उद्योग सञ्चालन उद्योग परिसरभित्र स्वास्थ्य मन्त्रालयले तोकेका सबै मापदण्ड परिपालना गर्दै उद्योग सञ्चालन भएको छ । गत वर्ष धेरै समस्या थियो, कसरी स्वास्थ्य मापदण्ड अपनाएर उद्योग सञ्चालन गर्ने भन्ने विषयमा म महाप्रबन्धक बनेर आएसँगै मसँग विगतमा अस्पताल सञ्चालनको अनुभव भएकाले मलाई व्यवस्थापनमा सहज भयो । हामीले प्रवेशद्वारदेखि नै स्वास्थ्य मापदण्ड अपनाएर काम गर्नका लागि जनचेतना प्रदान ग-यौं । मास्क, सेनिटाइजर, दूरी कायम गरेर कार्यसम्पादन गर्दै आएका छौं भने कामदारहरूलाई थोरै संख्यामा सिफ्टअनुसार खटाएका छौं । हाल कर्मचारीको बिदामा रहँदा कोभिड–१९ को संक्रमण भएर मृत्यु भयो । उद्योगभित्र रहेका कसैमा पनि कोभिड पोजिटिभ नदेखिएको तर बिदा सकेर फर्केकाहरूको पीसीआर टेस्ट गराउँदा पाँच जनामा पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएकामध्ये एक जनाको विराट नर्सिङ होममा उपचार भइरहेको र बाँकी घरमै बसी उपचार गरिरहनुभएको छ, सबै बिमारीको अवस्था सुध्रिँदै गइरहेको छ । उद्योगमा नै क्वारेन्टाइनसहितको बेड व्यवस्थापन गरेका छौं । केही मेडिकल सपोर्ट पनि थप गरेका छौं । कोभिड–१९ को परीक्षण मिलाएर गरेका छौं, उद्योगको आसपासमा नै बसेर काम गर्ने वातावरण मिलाएका छौं ।

नेपाल राष्ट्र बैंकले भर्खरै जारी गरेको ‘नेपालमा सिमेन्ट उद्योगमा वैदेशिक लगानी : आर्थिक–सामाजिक प्रभावको अध्ययन प्रतिवेदन’ ले सिमेन्टको बढ्दो आन्तरिक माग परिपूर्ति गर्न र आयात कटौती तथा निर्यात प्रवद्र्धन गर्न वैदेशिक लगानीमा थप सिमेन्ट उद्योगहरू खोल्न दिन उपयुक्त हुने सुझाएको छ । के नेपालमा सिमेन्ट उद्योग खोल्न विदेशी लगानी आवश्यक हो ?
हाम्रो जस्तो उद्योगको कुरा गर्नुहुन्छ भने ७ करोड ३५ लाख ४० हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्न सक्ने क्षमता हाम्रो खानीमा रहेको छ । एउटै चट्टान छ, गुणस्तरीय छ, ५ वर्गकिलोमिटरमा फैलिएको छ, १ सय ६७ मिटर गहिराइ छ । आगामी दिनमा थप कहाँ चुनढुंगा छन्, त्यसको खोज जरुरी छ । हालकै अवस्थामा पूर्ण क्षमतामा पनि उद्योग सञ्चालन गर्दा ३ सय वर्ष खानीले धान्न सक्छ । यसलाई ५० वर्षमा नै उत्पादन गरेर आपूर्ति व्यवस्था मिलाउँदै अन्य खानीका क्षेत्रको अध्ययन गर्नु आवश्यक छ । सरकारी स्वामित्व भएकाले गर्दा यसको उपयोग गर्न सरकारले क्लिंकर उत्पादन गर्ने उद्योग स्थापना गरेर दैनिक ६ हजार मेट्रिक टन क्लिंकर बनाउने मात्र खोल्नुपर्छ । यो क्लिंकर गुणस्तरीय भएकाले गर्दा अन्य उद्योगलाई बिक्री गर्न सकिन्छ र आयका अन्य काम गर्न सकिन्छ । बोर्डर साइडमा नजिक भएकाले गर्दा भारतका क्षेत्रमा निर्यात गर्न सकिन्छ । लगानीको व्यवस्थापन भने बैंक तथा वित्तीय क्षेत्रबाट ५० प्रतिशत कर्जा लिएर उद्योग स्थापना गर्न सकिन्छ भने ५० प्रतिशत भने पब्लिकबाट सेयरमा उठाउन सकिन्छ । यसका लागि भने पर्याप्त तयारी र अध्ययन–अनुसन्धान गर्न आवश्यक छ । यसो हुन सकेको खण्डमा सरकारले सिमेन्ट पनि बिक्री–वितरण गर्ने र सिमेन्ट उत्पादन गर्ने उद्योगलाई कच्चा पदार्थ पनि बिक्री गर्नाले बजारमा गुणस्तरीय सिमेन्टको उपभोग हुन्छ, खानीको उपयोग लिएर जान्छ भने रोजगारी बढेर जाने, सरकारको राजस्व बढ्ने हुन्छ । यसतर्फ सरकारको पनि ध्यानाकर्षण हुनुपर्छ । सिमेन्टमा हेर्दा वैदेशिक लगानी आवश्यक छैन, यदि यहाँ भएका उद्योगलाई सरकारले विस्तारको नीति दिएको खण्डमा ।

बजारमा माग आपूर्तिको अवस्था कस्तो छ ?
मागभन्दा पछिल्लो समय आपूर्ति बढिरहेको छ । यो सधैं हुनुपर्छ । आपूर्ति बढी भएपछि मूल्यमा एकरूपता, बजारमा प्रतिस्पर्धा, उपभोक्तालाई सहज हुन्छ । गैंडाछाप सिमेन्ट उच्च गुणस्तरीय छ, मूल्यमा एकरूपता छ, हामी एक नम्बर र दुई नम्बर क्षेत्रको सीमा भएकाले गर्दा बजार वितरणमा सहज छ । यो क्षेत्रमा हाम्रो राम्रो उपस्थिति रहेको छ । यो क्षेत्रमा बिक्री–वितरण गर्न सहज छ । योबाहेक हामीले तीन नम्बर प्रदेशमा पनि आपूर्ति गर्दै लगेका छौं, तर अन्य क्षेत्रको मागलाई हेर्दा भने आपूर्तिभन्दा माग बढी छ । हामीले आपूर्ति गर्न सक्ने अवस्था छैन । ३ नम्बर प्रदेशमा पूर्वाधार बढी निर्माण हुने गरेकाले गर्दा त्यहाँबाट माग उच्च छ । त्यहाँसम्म पु¥याउन भने हामीलाई ढुवानी भाडा बढी लाग्छ । पुरानो उद्योग भएकाले गर्दा मेसिन पुरानो भएकाले कुल क्षमतामा सञ्चालन गर्न समस्या भएको छ । त्यसैले बजार मागलाई सम्बोधन गर्न समस्या भएको हो । केही मेसिनलाई नयाँ नै ल्याएर उद्योगलाई स्तरोन्नति गर्न प्रक्रियामा हामी लागेका छौं । दैनिक ८ सय मेट्रिक टन (१६ हजार बोरा) उत्पादन गर्न सक्ने भए पनि मेसिनलाई ब्रेक डाउन गर्दा ४ सय मेट्रिक टन मात्र उत्पादन भएको छ । माग अत्यधिक भए पनि आपूर्ति गर्न सक्ने अवस्था छैन । केही वर्षमा हामीले उत्पादन क्षमता बढाउनेछौं ।

जनशक्ति र कच्चा पदार्थको आयात व्यवस्थापन कसरी भएको छ ?
जनशक्तिमा ४ सय ७२ जना प्राविधिक र १ सय ४१ जना अप्राविधिकको दरबन्दी हो । हाल २ सय ६१ प्राविधिक र प्रशासनमा ७५ कर्मचारी कार्यरत रहेका छन् । आगामी असारमा अवकाश पाएर प्राविधिकमा २ सय ५६ जना र प्रशासनमा ७३ जना कर्मचारी रहनुहुनेछ । कर्मचारी खर्च वार्षिक २५ करोड ५० लाख खर्च हुन्छ । कर्मचारी खर्च बढी रहेको छ । कर्मचारीले अवकाश पाए पनि नयाँ पदपूर्ति भएको छैन । प्राविधिक कर्मचारीको भने जनशक्ति अभाव छ । अभाव रहेका जनशक्तिको व्यवस्थापन यही आर्थिक वर्षमा सर्भ गरेर लोकसेवाबाट माग गर्न प्रक्रिया थालेका छौं ।

उद्योगको पुँजी १० अर्ब बनाउन लाग्नुभएको छ ? भावी दिनमा उद्योगलाई कसरी अगाडि बढाउने योजना छ ?
१० अर्बको पुँजी बनाउन लागेको हामीले दुई कारणले हो । एक ४ अर्बको पुँजी छ । तर, हामीसँग सरकारको लोन करिब–करिब ३ अर्ब ३८ करोड रहेको छ । हामीले सरकारलाई के अनुरोध गरेका छौं भने त्यो लोनमा हामीलाई मुक्त गर्नुप¥यो, त्यसले हामीलाई ब्याजमा असर ग¥यो । सरकारकै पैसा हो, जापानले अनुदानमा दिएको भए पनि त्यो लोनलाई सेयरमा परिर्णत गरिदिनुस्, यसरी जारी पुँजी र चुक्ता पुंजी ७ अर्ब ३८ करोड हुन्छ । अर्थमन्त्रालयले स्वीकृति दिएको खण्डमा यसलाई हामीले साधारणसभामार्फत पारित गरी प्रक्रिया अगाडि बढाएका छौं । त्यसपछि बाँकी १० अर्ब रुपैयाँ र ७ अर्ब ३८ करोड घटाउँदा आउने जुन अंक छ, करिब २ अर्ब ६२ करोड पुग्न बाँकी रकम नयाँ लगानी तथा स्तरोन्नति गर्न चाहिने भएकाले गर्दा हो, अधिकृत पुँजीमात्र बढाइराख्दा खासै समस्या हुँदैन, त्यसैले कुनै न कुनै माध्यमबाट त्यो पूर्ति हुन्छ । यही योजनाअनुसार १० अर्ब रुपैयाँको पुँजी स्वीकृत गरेर जारी पुँजी ७ अर्ब ३८ करोड रुपैयाँ नै हुन्छ । भावी लक्ष्य भनेको स्तरोन्नति गर्न, अर्काे उद्योग स्थापना गरेर क्षमता वृद्धि गर्नका लागि सहज हुन्छ भनेर मोटामोटी हाल १० अर्बको पँुजी बनाउन खोजेको हो, भोलिको दिनमा आवश्यक परेमा अझ बढाउनुपर्ने पनि हुन सक्छ । अर्का एनएफआरएस लागू भएपछि सम्पत्तिको वास्तविक मूल्य कायम गर्नुपर्ने हुन्छ, यसले गर्दा यस उद्योगको भ्यालु बढेर माथि जान्छ, यसरी सेयर थप गर्नुपर्ने, नोक्सानी बेहोर्नुपर्ने हुन सक्छ । सरकारले कसरी निर्देशन गर्छ, सोहीअनुसार अगाडि बढ्ने हो । यो समयमा पनि त्यो पुँजीले काम गर्छ भनेर १० अर्ब रुपैयाँ बनाएको हो ।
अन्त्यमा, यो उद्योग २८ वर्षदेखि चलिरहेको छ । विभिन्न कच्चा पदार्थ (५ प्रतिशत) कोइला, जिप्सन, आइरनलगायत बाहिरबाट खरिद ऐनअनुसार टेन्डर प्रक्रिया पूरा गरी व्यवस्थापन गर्छौं । करिब दुई वर्ष महाप्रबन्धक नहुँदा केही व्यवस्थापन हुन सकेको थिएन । हाल त्यसको सहजीकरण गरेको छु ।
हाम्रो लक्ष्य भनेको उद्योगको पूर्ण मर्मतसम्भार गर्नुपर्ने भएको छ । अर्काको क्लिन सेल २० मिटरको क्षेत्र परिवर्तन गर्नुपर्ने भएको छ । त्यसको टेन्डर प्रक्रियामा छौं । उद्योगको ८ सय मेट्रिक टन उत्पादनलाई सुनिश्चित गर्नका लागि काम गर्नुपर्नेछ । यसो भएमा उद्योगको बिक्री हालको भन्दा दोब्बर हुनेछ । उद्योगको सुशासनमा पनि ध्यान दिएको छु, उद्योगलाई मितव्ययी गर्नतर्फ जोड दिनेछु । १४ वर्षदेखि हुन नसकेको साधारणसभा यही महिनामा गर्दैछौं । कम्पनीलाई कम्पनीको दायरामा लान खोजेको छु । उद्योगको हालसम्म बिमा छैन, त्यसैले भोलिका दिनमा हुने जोखिमलाई ध्यानमा राखेर जोखिमलगायतका बिमा प्रक्रियामा लगेर गर्दैछौं । उद्योगको जग्गा एकीकृत गर्नतर्फ मेरो आगामी दिन केन्द्रित हुनेछ । यसका लागि नापी विभागबाट प्रक्रिया अगाडि बढाएको छु । यसले उद्योगको जग्गा साँध–सीमा कायम गर्न सहयोग पुग्छ । यसरी मैले उद्योगको सम्पत्ति संरक्षण, कम्पनी अपग्रेड, सुशासन कायम गर्न लागेका छौं । यहाँस्थित देउरी स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर आधुनिक ल्याब टेस्ट, स्वास्थ्यकर्मीसहितको केन्द्र र एम्बुलेन्सको व्यवस्थापन गर्ने काम हामीले संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत अन्य बैंक–वित्तीय संस्थाको सहयोगमा गर्ने योजना छ । यसले यहाँको स्थानीय बासिन्दा तथा उद्योगका कर्मचारी प्रत्यक्ष लाभान्वित हुनेछन् । कोभिड–१९ को महामारीको नियन्त्रणका लागि उद्योगमा भएको अक्सिजन सिलिन्डर स्वास्थ्य केन्द्रमा दिएका छौं । हामीले ५ देखि ६ महिनामा स्वास्थ्य केन्द्रमा केही परिवर्तन गर्छौं ।

प्रतिक्रिया दिनुहोस्