अध्यक्ष महिला बनेपछि सुध्रिँदै विद्यालय «

अध्यक्ष महिला बनेपछि सुध्रिँदै विद्यालय

रौतहट – प्रदेश नं.२ मा मुख्यमन्त्री लालबाबु राउतको ‘बेटी बचाऔं, बेटी पढाऔं’ कार्यक्रम सञ्चालन भइरहँदा रौतहटको एक उच्च माध्यमिक विद्यालयकी महिला अध्यक्षले आफ्नो विद्यालयलाई प्रदेशमै नमुना विद्यालय बनाउने अभियानमा लागेकी छिन् । मधेशमा अझै पनि ‘छोरीलाई विद्यालय पठाउँ र पढाऔं भन्ने नारा चलिरहेको अवस्थामा पनि रौतहट जिल्लाको गुजरा नगरपालिका वार्ड नं. ९ स्थित रहेको श्री मावि सिमरा भवानीपुर विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रत्ना चौधरीले पुरुषले चलाएको विद्यालयभन्दा उत्कृष्ठ विद्यालय बनाउने अभियानमा लागेकी हुन् ।
मधेशमा छोरीलाई पढाउनु हुँदैन भन्ने धारणा रहिरहेको भएपनि २०७३ साल असार १८ गते स्थानीय अभिभावकले विद्यालय सुधारको लागि पनि रत्ना चौधरीलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाएपछि उनी झन् सक्रिय भएर काम गर्दै आएकी छिन् । अभिभावककै आग्रहमा सो विद्यालयको अध्यक्ष भएकी चौधरीले विद्यालयको धेरै कुराहरूमा सुधार ल्याएको जानकारी दिइन् । विद्यार्थी संख्या घट्दै गएको सो विद्यालयमा अहिले आएर हरेक कक्षाकोठा भरी विद्यार्थीहरू अध्ययन गर्न आउने गरेको उनको भनाइ रहेको छ ।
हाल सो विद्यालयमा बाल कक्षादेखि १२ कक्षासम्म करिब ९ सय विद्यार्थी अध्ययनरत रहेको अध्यक्ष चौधरीको दाबी छ । त्यतिमात्र नभएर आफू सो विद्यालयको अध्यक्ष हुनुपूर्व शिक्षकहरू नै अनियमित आउने गरेको अवस्थामा अहिले आएर शिक्षकहरू पनि नियमित रुपमा आएर अध्यापन गराउँदै आएको अध्यक्ष चौधरीले जानकारी दिइन् । समाज सेवालाई नै प्रमुख लक्ष्य लिएर अगाडि बढेको बताउँदै अध्यक्ष चौधरीले भनिन् “समाजको र विद्यार्थीको आवश्यकतालाई मध्यनजर गर्दै यस वर्षदेखि प्राविधिक शिक्षा सिटिभिटी मार्फत् पशु विज्ञानको १८ महिने कक्षा सञ्चालन गरेको छ ।”
प्लस टुसम्म अध्ययन पूरा गरी स्नातक तहको अध्ययन शुरु गरेकी अध्यक्ष चौधरीले थपिन्, “आफ्नै पहलमा बेरोजगार युवाहरूलाई रोजगार दिने उद्देश्यले जिल्लामै पहिलो पटक यस विद्यालयमा यस प्राविधिक शिक्षा भित्र्याउन सफल भएकोमा एकदमै खुशी छु ।”
विद्यालयको भौतिक पूर्वाधार विकासको लागि पनि आफू सक्रिय भएर लागिपरेको उनले बताइन् । अध्यक्ष चौधरी भन्छिन्, “विद्यालयको भौतिक पूर्वाधार विकास अन्तर्गत तत्कालीन जिल्ला शिक्षा कार्यालय रौतहटमार्फत् बजेट ल्याएर ४ वटा कोठा निर्माण भइरहेको छ र अन्य कोठा निर्माणको लागि पनि पहल भइरहेको छ,” उनले थपिन्, “विद्यालयको सम्पत्तिको रुपमा रहेको ६५ बिगाहा जमिन मध्ये ३० बिगाहा जमिनमा माछापालनको लागि पोखरी पनि खनिसकेको छु । त्यसबाट आएको आम्दानीले विद्यालयको भौतिक पूर्वाधार जिकासको लागि ठूलो सहयोग हुन्छ ।”
जिल्लाभरीका उच्च माध्यमिक विद्यालयका व्यवस्थापन समितिमध्ये आफू एक्लो महिला अध्यक्ष भएको बताउँदै चौधरीले भनिन्, “पुरुष अध्यक्ष भएको विद्यालय भन्दा यो विद्यालयलाई उत्कृष्ट विद्यालय बनाउने नै मेरो मुख्य लक्ष्य हो ।” अहिले सो विद्यालयमा प्रावि, निमावि, मावि र उच्च मावि तह गरेर २४ जना शिक्षक रहेका छन् । अध्यक्षको साथ र सक्रियताले अहिले विद्यालयमा शिक्षण कार्यमा पनि परिवर्तन आएको विद्यालयका प्रधानाध्यापक राम नारायण चौधरीले जानकारी दिए । महिला अध्यक्ष भएको कारणले गर्दा पनि विद्यालयको विकासले फड्को मारेको प्रधानाध्यापक चौधरीको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्