अर्थमन्त्रीका कारण सरकारले सोचेजस्तो काम गर्न सकेन : त्रिपाठी «

अर्थमन्त्रीका कारण सरकारले सोचेजस्तो काम गर्न सकेन : त्रिपाठी

स्वतन्त्र राजनीतिक समूहका नेता एवम् सांसद हृदयेश त्रिपाठीले अर्थमन्त्री डा. युवराज खतिवडाका कारण सरकारप्रति विभिन्न टिप्पणी हुन थालेको बताएका छन् । रिपोर्टर्स क्लबले शनिबार गरेको साक्षात्कारमा सांसद त्रिपाठीले अर्थमन्त्रीका गतिविधिले सरकारले सोचेअनुरूप काम गर्न नसकेको टिप्पणी गरेका हुन् । “यो सरकारलाई बढी प्रभावित पार्नुको मुख्य कारण अर्थमन्त्री डा. खतिवडाले सार्वजनिक गरेको बजेट नै हो,” उनले भने, “अर्थमन्त्रीका गतिविधिले पनि सरकारलाई प्रभावित गरेको छ ।”
सांसद त्रिपाठीले सरकारको सफलता र विफलतामा ५० प्रतिशतभन्दा बढी अर्थ मन्त्रालयको भूमिकामा निर्भर हुने बताए । उनले बजेट प्रस्तुत भएकै दिनदेखि सरकारको कामबारे टिकाटिप्पणी सुरु हुने र त्यो सबै ठाउँमा पुग्न चार÷पाँच महिना लाग्ने बताए ।
नेपालको अर्थतन्त्रको सबैभन्दा कुरूप पक्ष नै विकास खर्च गर्न नसक्नु भएको उनले बताए । “२०३४ सालदेखि अहिलेसम्म हामीले विकास खर्च कहिल्यै पनि पूरा गर्न सकेनौं,” उनले भने, “जबसम्म विकास खर्च पूरा हुँदैन, तबसम्म आर्थिक रूपमा बजारलाई चलायमान र जनतालाई पनि विकासप्रति आकर्षित गर्न सकिँदैन ।”
संसद्मा वर्तमान सरकारको संख्यात्मक उपस्थिति बलियो हुँदाहुँदै पनि विकास खर्च गर्न नसकेको उनले आरोप लगाए । “सरकारले बरु विकास खर्च गर्न किन सकिएन भनेर समीक्षा गर्नुपर्ने हो, कानुनमा त्रुटी छ भने संशोधन गर्नुप-यो,” उनले भने, “यदी संरचनाको अभाव छ भने पनि निर्माण गर्नुप-यो ।” उनले त्यसतर्फ सरकार नगरेको दाबी गर्दै अहिलेसम्म विकास खर्च ५-६ प्रतिशतमै अलमलिएको बताए । यही प्रक्रिया कायम रह्यो भने सर्वाधिक कम विकास खर्च हुने आर्थिक वर्ष यही वर्ष सावित हुने चेतावनीसमेत उनले दिए ।
सांसद त्रिपाठीले किसानले उत्पादन गरेका कृषिउपजको मूल्य निर्धारण गर्न तत्काल आयोग गठन गर्नुपर्ने माग गरे । “किसानले आफ्ना उत्पादनको मूल्य निर्धारण गर्न पाउँदैनन्, यसले गर्दा नै किसानको दुरावस्था छ,” उनले भने । सरकार र कुनै पनि राजनीतिक दलको प्राथमिकतामा किसान वर्ग पर्न नसकेको गुनासो उनले गरे । सांसद त्रिपाठीले किसान असंगठित भएकाले दलहरूले प्राथमिकता नदिएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्