तीन महिनादेखि जिल्ला समन्वय अधिकारीविहीन

तत्कालीन स्थानीय विकास अधिकारी (जिल्ला समन्वय अधिकारी) डिलाराम पन्थीले गत कात्तिक १ गते जिल्ला छाडेपछि अर्काे जिल्ला समन्वय अधिकारी दैलेख आएका छैनन् । उनी सरुवा भएसँगै जिल्ला समन्वय अधिकारीविहीन भएको छ । जिल्ला समन्वय समितिमा प्रशासनिक प्रमुख नहुँदा समितिका गतिविधि ठप्प भएका छन् ।
पछिल्लो व्यवस्थाअनुसार तत्कालीन जिल्ला विकास समितिलाई जिल्ला समन्वय समितिमा रूपान्तरण गरेर विकास निर्माणका कामको जिम्मेवारीबाट समितिलाई मुक्त गरिएको छ । विकास निर्माणका काम नहुने भएपछि स्वाभाविक रूपमा समितिमा बजेट पनि छैन । कमाउन पल्केका कर्मचारीहरू कमाउने अड्डा धाउँदा समन्वय समितिमा आउन रुचि देखाएका छैनन् । निमित्त समन्वय अधिकारी खमबहादुर थापाले समितिले स्थानीय विकास मन्त्रालयमा पहल गरे पनि कोही पनि कर्मचारी आउन रुचि नदेखाएको बताए । उनले कर्मचारी अपुग भएकाले पनि जिल्लामा लामो समयदेखि जिल्ला समन्वय अधिकारी नआएको हुनसक्ने बताए । कर्मचारीहरूले रुचि नदेखाउनु समितिमा बजेट नहुनु नै मुख्य कारण भएको एक कर्मचारीले बताए ।
समन्वय अधिकारी नहुँदा कर्मचारीले तलब खान नपाएको निमित्त समन्वय अधिकारी थापाले जानकारी दिए । उनले जिल्ला प्राविधिक कार्यालयको काम पनि रोकिएको बताए । स्थानीय तहमा कर्मचारी नहुँदा स्थानीय तहका कामकाज पनि प्रभावकारी बन्न सकेका छैनन् । उता राजनीतिक निकाय भए पनि समन्वय समितिको काम देखिएको छैन ।