रुकुम पूर्वको प्रमुख व्यवसाय भेडापालन «

रुकुम पूर्वको प्रमुख व्यवसाय भेडापालन

रुकुम-देशकै कान्छो जिल्ला रुकुम पूर्वका ग्रामीण क्षेत्रका किसानको मुख्य व्यवसाय नै भेडापालन बन्दै गएको छ । यहाँका कतिपय युवा वैदेशिक रोजगारीमा गएका छन् भने बसेकाहरूले पशुपालनलाई प्राथमिकता दिँदै आएका छन् । पशुपालनमा पनि भेडापालन यहाँका किसानको रोजाइमा पर्ने गरेको छ । जिल्लाका तीन वटै स्थानीय तहहरू पुथा उत्तरगंगा गाउँपालिका, भूमे गाउँपालिका र सिस्ने गाउँपालिकाका अधिकांश ठाउँमा भेडाबाख्रापालन गर्ने गरिएको छ ।
यी तीन गाउँपालिकामा परम्परागत रूपमा हुँदै आएको व्यावसायिक काम भनेकै पशुपालन हो । पुथा उत्तरगंगा गाउँपालिका–११ तकसेराका रामकुमार बुढा अहिले ६९ वर्षका भए । उनी अझै भेडाबाख्रापालनबाटै जीवन गुजारा गरिरहेका छन् । उनले अहिले १ सय ६० वटा भेडाबाख्रा पालिरहेका छन् । वार्षिक १ लाख ५० हजार रूपैयाँ भन्दा बढी आम्दानी गर्ने उनी नियमित घर खर्चसँगै केही आपतकालिन खर्चका लागि यही पेशाबाट बचत गर्दै आएका छन । “क्याबजुको (बाजेको बाजे) पालादेखि नै भेडाबाख्रापालनबाट नै घर चलाउँदै आएका छौं,” उनले भने, “बर्षायाममा ओड्ने घुम्चे (पानी तार्ने), घरमा ओछ्याउने कामुल, अनि ओढ्ने बोक्कु (जाकेट) को रूपमा प्रयोग गरिने सामग्री भेडाबाख्राका ऊनबाट तातो खाल्का कपडाको रूपमा नै बन्ने गरेको छ ।” तयार पारिएका सामग्री प्रतिगोटा १ हजार ५ सयदेखि लिएर ७ हजार रूपैयाँसम्ममा बिक्री गर्ने गरेको उनले बताए । आफूले पालेका भेडाबाट प्रत्येक वर्ष माघ र असोज महिनामा ऊन कात्ने गरेको उनले जानकारी दिए ।
वैशाखदेखि असोजसम्म बुकी (लेक) ठाउँमा गोठ सारेर चरण गर्ने गरिएको अर्का स्थानीय रामकुमार बुढाले बताए । “असोजदेखि मंसिर र चैत्र महिनामा मध्यम ठाउँमा र पौषदेखि फागुन महिनामा बेसी हिउँ नपर्ने ठाउँमा गोठ सारेर पालन गर्ने गरिएको छ,” उनले भने । भूमे गाउँपालिका वडा नम्बर २ गाबाङका सेते बुढाले पनि ५०-६० वटा भेडाबाख्रा पालेका छन् । उनी पनि १० वर्षदेखि यही व्यवसायमा संलग्न छन् । उनले पनि वार्षिक १ लाख रूपैयाँ आम्दानी गर्ने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्