करको दायरा फराकिलो पारिने «

करको दायरा फराकिलो पारिने

नेपालगन्ज-अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली अर्थतन्त्र सधैं विदेशी पुँजीमा निर्भर रहन नहुने बताएका छन् । उनले पूँजी निर्माणको अभिन्न अंग राजस्व भएकाले राजस्व बढाउनेतर्फ ध्यान दिनुपर्ने बताए ।
नेपालगन्जमा शनिबार गरिएको कार्यक्रममा उनले सरकारले करको दरभन्दा पनि दायरा बढाउने नीति लिएको भन्दै करको दायरा बढाएर कर नतिरेका व्यक्ति र क्षेत्रलाई समेटिने स्पष्ट पारे । “सरकारले कर बढाउने भन्दा पनि करको दायरा फराकिलो पार्ने काम गर्छ,” उनले भने । आत्मनिर्भर अर्थतन्त्रका लागि राज्यले केही वस्तु संरक्षणको नीति लिएको भन्दै मन्त्री खतिवडाले सिमेन्ट, चिनीलगायतका केही आधारभूत वस्तुमा सरकार आत्मनिर्भर हुन चाहेको बताए । सरकारले किसानलाई सहयोग गर्ने नीति लिएको अर्थमन्त्री खतिवडाको भनाइ थियो । “नेपाली किसानको दूध बिक्री नहुने र विदेशबाट धूलो दूध आयात भइरहने अवस्था आउन नदिन सरकार प्रतिबद्ध छ,” उनले भने ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय नेपालगन्जको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । अत्याधुनिक प्रविधियुक्त उक्त भवनको अर्थमन्त्री डा. युवराज खतिवडाले एक समारोहकाबीच उद्घाटन गरे । कार्यक्रममा आन्तरिक राजसव विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले करको दायराभित्र समावेश हुन सरोकारवालाहरूलाई आग्रह गरे ।
नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले उद्योगी व्यवसायीले भयरहीत वातावरणमा व्यवसाय गर्न चाहेको बताए ।
आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख कर अधिकृत प्रकाश पौडेलले अत्याधुनिक भवन सञ्चालनमा आएपछि सेवाप्रवाहमा सहज हुने बताए । ४ करोड ४८ लाख रूपैयाँको लागतमा निर्माण भएको भवन २०७१ कात्तिकदेखि कुश्वेश्वर निशान जेभी काठमाडौंले निर्माण गरेको हो । चार तले भवनमा १२ कोठा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्