Logo

धादिङमा दुई दिनमा नदीमा डुबेर पाँच जना बेपत्ता

धादिङका ज्वालामुखी गाउँपालिकाका तीन जना, सिद्धलेक गाउँपालिकाका एक जना र नीलकण्ठ नगरपालिकाका एक जना गरी पाँच जना नदीमा डुबेर हराइरहेका छन् । मंगलबार बूढीगण्डकी नदीमा डुबेर बेपत्ता हुनेमा ज्वालामुखी गाउँपालिका–२ बस्ने २२ वर्षीय सुवास नेपाली, दिनेश नेपाली र १९ वर्षीय सन्तोष नेपाली छन् । उनीहरू ज्वालामुखी २ जोगेटार गाउँका आफन्तको मृत्युपछि दाहसंस्कारका लागि बूढीगण्डकी नदी किनारको पशुपति थानको घाटमा मलामी गएका ती युवाहरू शव जलाएर नुहाउने क्रममा नदीमा डुबेर हराइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले बताए । शव जलाएर घर फर्कनु अघि मलामीहरू नुहाउन नदीमा पसेकोमा उनीहरू तीन जनालाई भने नदीले बगाएर बेपत्ता भएपछि प्रहरी, स्थानीयवासीको टोली घटना लगत्तै खोजीमा जुटेका थिए । घटना मंगलबार दिउँसो सवा ३ बजेतिर भएको हो ।
यसैगरी गजुरी गाउँपालिका–१ स्थित त्रिशूली नदीमा माछामार्न गएका १ जना मंगलबार पौने ४ बजेदेखि हराइरहेका छन् । जिल्लाकै सिद्धलेक ६ का २८ वर्षीय रामबहादुर बिसंखे त्रिशूली नदीमा जाल हान्ने क्रममा लडेर बेपत्ता भएका हुन् । घटना लगत्तै नेपाली सेना, प्रहरी र स्थानीयले खोजतलास जारी राखेको तर फेला नपरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
यसैगरी नीलकण्ठ–१० स्थित आँखु नदीमा डुबेर नीलकण्ठ नगरपालिका ३ का ३६ वर्षीय सुमन श्रेष्ठ बेपत्ता भएका छन् । नदी तथा खोलामा डुबेर बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले बताएको छ । यो समाचार तयार पार्दासम्म पाँचै जना हराइरहेका छन् ।

फरक फरक स्थानबाट नदीमा हराईरहेका चारै जनाको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्