‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू «

‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू

हेटौंडा-३ नम्बर प्रदेशभित्रका सरकारी विद्यालयका विद्यार्थीले अब विद्यालयमै सामान्य किसिमका स्वास्थ्य सेवा पाउने भएका छन् । विद्यालयमा कुनै विद्यार्थी बिरामी भए वा चोटपटक लागेमा सरकारी नर्सले नै प्राथमिक उपचार गर्नेछन् । जटिल स्वास्थ्य समस्या देखिए तुरुन्त ठूलो स्वास्थ्य संस्थामा लैजान नर्सले सिफारिस गर्नेछिन् ।
विद्यालयमा नियमित खटिने नर्सले प्राथमिक उपचारको सामग्री तथा औषधिसहित विद्यालयमा खटिनेछन् । साथमा नर्सले विद्यार्थीलाई स्वास्थ्यसम्बन्धी सचेतनासमेत प्रदान गर्नेछन् । ३ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले पाइलट प्रोजेक्टको रुपमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सुरु गरेको छ ।
१३ जिल्लाका २० विद्यालयमा नर्स छनौट गरी केही दिनअघि पठाइएको छ । मन्त्रालयले यस कार्यक्रमका लागि आबद्ध भएका २० जना नर्सहरूलाई ललितपुरस्थित पाटन अस्पतालमा तीन दिनको सेवा प्रवेश तालिम प्रदान गरी विद्यालयमा पठाएको हो ।
चालू आर्थिक वर्षमा छनौट भएका विद्यालयहरूमा सिन्धुपाल्चोक चौतारास्थित कृष्णरत्न मावि, भीमटारस्थित भीमेश्वर मावि, सिन्धुलीस्थित जनज्योति मावि (फोस्रेटार), रसुवास्थित कालिका हिमालयन मावि (कालिकास्थान), रामेछापस्थित मन्थली मावि (मन्थली), नुवाकोटस्थित विन्दुकेशर मावि, तुक्सार (मेघान) र त्रिभुवन मावि (त्रिशूली) मा कार्यक्रम लागू भएका छन् ।
त्यस्तै मकवानपुरको महेन्द्र मावि बकैया–४, आधुनिक मावि(हेटौडा), ललितपुरको आदर्शसोल मावि, त्रिपद्मा विद्याश्रम मावि, पार्वती मावि ढुंगखर्क (काभ्रेपलाञ्चोक), काठमाडौँस्थित जनसेवा मावि (पाँगा), पद्मकन्या मावि, दोलखास्थित हनुमन्तेश्वर मावि, चितवनस्थित नारायणी मावि (भरतपुर), दुर्गाशेषकान्त अधिकारी मावि (भरतपुर), धादिङस्थित निलकण्ठ मावि (धादिङबेसी), चन्द्रोदय मावि (बेनिघाट) र बागेश्वरी मावि (भक्तपुर) छनौट भएको मन्त्रालयले जनाएको छ ।
स्वस्थ नागरिक उत्पादन गर्ने उद्देश्यले प्रत्येक बालबालिकाको स्वाथ्य रेखदेखको लागि विद्यालय नर्स कार्यक्रम सुरु गरिएको मन्त्रालयले जनाएको छ । “नर्सले प्रत्येक विद्यार्थीको स्वास्थ्यबारे जानकारी लिन्छन् । उनीहरूलाई आफूसँगै घर परिवारलाई स्वस्थ रहने तरिकाबारे पनि सिकाउँछन्,” मन्त्रालयकी कार्यक्रम संयोजक तथा पब्लिक हेल्थ नर्स मिलन घिमिरेले भनिन् ।
नर्सहरूका लागि प्रत्येक विद्यालयले दुईवटा कोठाको व्यवस्था गरेको छ । घिमिरेका अनुसार एउटा कोठामा विद्यार्थीका उपचार तथा अन्य गतिविधि गर्न र अर्को कोठा नर्सका लागि आवश्यक सामग्रीहरू राख्नका लागि छुट्याइएको छ । मन्त्रालयले विद्यालयमा खटेका नर्सहरूलाई आवश्यक ल्यापटप, उपचारका सामग्री तथा विभिन्न औषधीहरू समेत उपलब्ध गराइएको छ ।
यस कार्यक्रमलाई पाइलट प्रोजेक्टको रुपमा हेरिएको छ । यस कार्यक्रम प्रभावकारी देखिएको खण्डमा आगामी वर्षको नीति तथा कार्यक्रममा मन्त्रालयले थप विद्यालयमा समेत लागू गर्दै लैजाने योजना बनाएको कार्यक्रम संयोजक घिमिरेले बताइन् । यस कार्यक्रमको लागि यसवर्ष मन्त्रालयले एक करोड रुपैयाँ विनियोजन गरेको छ । नर्सहरूका लागि आवश्यक सामग्री तथा सेवासुविधा प्रदान गर्न यो रकम अपुग हुने अवस्था देखिएको घिमिरेको भनाइ छ ।
संघीय सरकारले अघिल्लो आवको नीति तथा कार्यक्रममा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम घोषणा गरे पनि कार्यान्वयन भने गर्न सकेको थिएन । प्रदेश मन्त्रालयले भने यस वर्षदेखि यो कार्यक्रमलाई लागू गर्न सुरु गरेको हो । यसवर्ष यो कार्यक्रम स्थानीय तहसँगको सहकार्यमा सुरु गरिएको भए पनि अर्को वर्षदेखि स्थानीय तहमा नै बजेट पठाएर स्थानीय तहमार्फत् नै कार्यक्रम सञ्चालन गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्