३६३ गैरसरकारी संस्थाको दर्ता खारेज «

३६३ गैरसरकारी संस्थाको दर्ता खारेज

डोटीमा दर्ता भई लगातार लामो समयदेखि निष्कृय रहेका ३ सय ६३ गैरसरकारी संस्थालाई जिल्ला प्रशासन कार्यालय डोटीले खारेज गरेको छ । जिल्ला प्रशासन कार्यालय डोटीमा संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भई तीन वर्षदेखि नवीकरण नभएका संस्थाहरुको दर्ता खारेज गरिएको जिल्ला प्रशासन कार्यालय डोटीका प्रशासकीय अधिकृत सन्तोष शर्माले जानकारी दिए ।
प्रशासकीय अधिकृत शर्माका अनुसार गैरसरकारी संस्थाको दर्ता खारेज गर्नुअघि ३५ दिने सार्वजनिक सूचना जारी गर्दा पनि आवश्यक कागजातसहित संस्था नवीकरण गर्न नआएपछि खारेज गर्ने निर्णय गरिएको हो । डोटी जिल्लामा जम्मा ६ सय १० दर्ता गैरसरकारी संस्थामध्ये २०५५ सालदेखि २०७३ सालसम्म नवीकरण नगरेका संस्थाहरु खारेजीमा परेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
दर्ता खारेज हुने संस्थाहरुमा अधिकांश साविकका जिल्ला विकास समिति अन्तर्गत सञ्चालित उपभोक्ता समिति, मठ मन्दिर निर्माण समिति, जल उपभोक्ता समिति तथा क्लबहरु रहेका छन् ।
संस्था दर्ता ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका हरेक गैरसरकारी संस्थाहरुले वार्षिक रुपमा नवीकरण गराउनु पर्दछ । वार्षिक नवीकरणका लागि हरेक संस्थाले लेखापरीक्षण, कर चुक्ता, आर्थिक तथा प्रगति प्रतिवेदन र स्थानीय तहको सिफारिस लगायतका कागजात पेश गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय डोटीका संघ÷संस्था शाखा प्रमुख तेजबहादुर खड्काले बताए ।
सम्बन्धित निकायमा दर्ता भइसकेपछि हरेक गैरसरकारी संस्थाहरुले नेपाल सरकारको नीतिलाई पूर्ण पालना गर्नुपर्दछ । केही समस्या आएमा गैरसरकारी संस्था महासंघ जिल्ला शाखाले पनि सहजिकरण र सहयोग गर्दै आएको छ । ती नीतिनियमहरु पालना गर्न नसक्दा ठूलो संख्यामा गैरसरकारी संस्थाहरु दर्ता खारेजीमा परेका गैरसरकारी संस्था महासंघ डोटीका अध्यक्ष रघु बहादुर कठायतले बताए ।
जिल्ला प्रशासन कार्यालय डोटीका तथ्यांक अनुसार डोटी जिल्लामा संस्था दर्ता ऐन अन्तर्गत २०४४ सालदेखि संस्था दर्ता गर्ने कार्य सुरु भएदेखि हालसम्म ६ सय १० गैरसरकारी संस्था दर्ता भएका छन् । जसमा हालसम्म ४ सय २३ संस्थाको दर्ता खारेजी भएपछि १ सय ८७ वटा गैरसरकारी संस्था दर्ता कायम छन् ।

प्रतिक्रिया दिनुहोस्