रंगशालामा क्रिकेट मैदान संरक्षण र बहुउद्देश्यीय हलमा पार्केटिङ सुरु «

रंगशालामा क्रिकेट मैदान संरक्षण र बहुउद्देश्यीय हलमा पार्केटिङ सुरु


पोखरा रंगशालामा हाल अन्तर्राष्ट्रियस्तरको फुटबल मैदान निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
१ अर्ब २८ करोडको पोखरा फुटबल मैदान निर्माणको काम हाल अन्तिम चरणमा पुगेसँंगै पोखरामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता सञ्चालनका लागि अत्यावश्यक फ्लटलाइट र स्कोरबोर्डसमेत आवश्यक भएको पोखराका खेलकुदकर्मीहरूले बताएका छन् । १३औं दक्षिण एसियाली खेदकुद (साग)को अवसरमा पोखरामा ठूलो बजेटको केही काम भएसँंगै पोखरा फुटबल मैदानमा अन्तर्राष्ट्रिय खेलकुद गतिविधिका लागि रातको समयमा समेत खेल्न मिल्ने गरी फ्लटलाइट र स्कोरबोर्ड अत्यावश्यक भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङले बताए । रंगशालामा फ्लटलाइट र स्कोरबोर्ड व्यवस्थापनका लागि राखेपमा विशेष पहल गर्ने उनले जनाए ।
अखिल नेपाल फुटबल संघका केन्द्रीय उपाध्यक्ष कृष्ण थापाले पोखरामा सभा अर्ब बढीको बजेटमा पोखरा फुटबल मैदान बनेसँंगै अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न फुटबल चेन्जिङ रुमदेखि फ्लटलाइट स्कोरबोर्डलगायतका कुरा आवश्यक हुने बताए । फुटबल मैदान र प्यारापिट ठीक भएको बताएका उनले टेक्निकल बक्स, रेफ्रि रुम, अफिसियल बक्स, मिडियाका लागि छुट्टै कक्षलगायतका संरचना आवश्यक पर्ने थापाले बताए ।
पोखरा फुटबल मैदानको हाल दक्षिणपट्टिको केही भागमा मात्र छानो हाल्ने काम भएकाले प्यारापिटसहित सिटहरुको सुरक्षा र दर्शकको समेत सुरक्षाका लागि सबैतिर प्यारापिटमा छानो हाल्दा रंगशालाको केही वर्ष टिकाउ हुने निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर इन्जिनियर दीपक बरालले बताए । पोखरा फुटबल मैदानको निर्माणकार्य हालसम्म करिब ९० प्रतिशत सम्पन्न भएको उनले जनाए ।
हाल पोखरा फुटबल मैदान निर्माणको कामको गति बढाएको बरालले बताए । ढिलोमा कात्तिकदेखि मंसिरसम्म पोखरा फुटबल मैदान निर्माण सम्पन्न गरी राखेपालाई हस्तान्तरण गर्ने ई. बरालले बतााए । आफ्नै ठाउँमा बहुचर्चित फुटबल मैदान बनाउन पाउनु आफ्नो लागि ठूलो उपलब्धि भएको उनले जनाए । भुक्तानी ढिलाइ भएकाले बीचमा काम स्थगित भएको उनले गुनासो गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले रंगशालाको बाँकी रहेको काम सम्पन्न गरे बजेटको व्यवस्थापन गर्ने आश्वासन आएसँंगै आफूहरूले कोरोनाको दोस्रो लहरका बाबजुद पनि भारतबाटै कामदार झिकाएर उक्त परियोजनाको कामलाई अघि बढाएको बरालले जनाए ।
त्यसैगरी कोरोनाको समयमै पोखरा रंगशालामा क्रिकेट मैदानको तारबार लगाउने र बहुउद्धेश्य कबर्ड हलमा पार्केटिङ गर्ने काम सुरु भएको राखेप सदस्य गुरुङले जनाए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो वर्षमा हुने भएकाले रंगशालासहित कास्की एवं प्रदेशका जिल्लामा विभिन्न खेलकुदको भौतिक संरचना बनाउन आग्रह गरिएको उनले जनाए ।
क्रिकेट मैदानको इनर फेन्सिङका लागि हाल २५ लाखको बजेटको काम सुरु भएको पोखरा क्रिकेट मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष कमल थापाले बताए । कोरोनाको समयमै आफूहरूले मजदुरहरूलाई आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरी काममा लगाएको उनले जनाए । नेपाल क्रिकेट संघअन्तर्गत पोखरा क्रिकेट मैदानका क्यूरेटर प्रजित राउतले क्रिकेट मैदानमा ३ सय मिटरको पर्खालसहितको तारजाली लगाउने हुँदा मैदानको अब संरक्षण हुने उनले बताए । घाँस काट्ने मेसिन बिग्रिएका कारण हाल मैदानमा पलाइको घाससमेत काट्न नपाएको उनले जनाए ।
राखेपको बजेटबाटै यस वर्ष पोखरा रंगशालाका बाँकी रहेका काम सुरु भएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए । बहुउद्धेश्य सभाहलमा करिब ९० लाखको बजेटमा काम हुन लागेको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्