स्थायी समितिमा सरकारको आलोचना भएको छैन : गुरुङ «

स्थायी समितिमा सरकारको आलोचना भएको छैन : गुरुङ

गण्डकी प्रदेशका अर्थ तथा योजनामन्त्री एवम् नेकपाका स्थायी समिति सदस्य किरण गुरुङले स्थायी समिति बैठकमा सरकारको बारेमा नेताहरुले आलोचना नगरेको तर सुझाव दिएको स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा गुरुङले जारी स्थायी समिति बैठकमा बोल्ने नेताहरुले सरकार असफल भयो भनेर टिप्पणी वा आरोप नलगाएको जिकिर गरे ।
उनले भने, “बैठकमा कोही पनि नेताहरुले सरकार असफल भयो भनेर बोल्नुभएको छैन । तर, सरकार र पार्टी दुवैको कामबारे नेताहरुले सुझाव दिनुभएको छ । सरकारका काममा सुधार गर्नको लागि जोड दिनुभएको छ ।” साक्षात्कारमा उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताए । उनले भने, “सरकार असफल भयो भने पार्टी पनि असफल हुन्छ । त्यसैले सरकारले अब आफ्ना कार्यशैली सुधार गरोस् भनेर नेताहरुले बैठकमा धारणा राख्नुभएको छ ।”
बैठकभित्र नेताहरुले एउटा कुरा बोलेको तर बाहिर मिडियामा आउँदा अर्कै भएर आउने गरेकोमा उनले गुनासो पोखे । उनले भने, “बैठकमा हाम्रा नेताहरुले यसो भन्नुभयो भनेर जे जति कुरा आएका छन्, त्यसमा कुनै सत्यता छैन । बाहिर त पार्टी नै फुट्न लाग्यो भनेर कुरा आयो । तर, बैठकभित्र त्यस्तो कुरा भएको छैन ।” उनले नेता वामदेव गौतमले बैठकमा सुझाव र आफ्नो विचारको रुपमा कुराहरु राखेको स्पष्ट पारे । उनले भने, “उहाँको सुझावमात्रै हो । तर, बाहिर फरक मत भनेर आयो । उहाँले पेश गरेको कुरा सुझाव हो, तर फरक मत होइन ।”
आफूहरुले बैठकमा लागेका कुराहरु निर्धक्क राख्ने गरेको सुनाउँदै उनले नेताहरुले कुनै आग्रह वा पूर्वाग्रह नपालेको पनि जिकिर गरे । आगामी दिनमा पार्टीलाई एक ढिक्का बनाएर लैजानेमा नेताहरुले जोड दिएको पनि उनले सुनाए । स्थायी समिति बैठक यसअघि समयमै नबसेकोले विरोधका स्वर सुनिएको तर सरकारले बेठिक नै ग-यो भनेर कोही पनि नेताले टिप्पणी नगरेको उनको स्पष्टोक्ति थियो ।
फरक प्रसंगमा मन्त्री गुरुङले गण्डकी प्रदेशलाई पर्यटनको राजधानी बनाउनेगरी काम थालिएको पनि विश्वास दिलाए । उनले भने, “हामीले यो प्रदेशलाई पर्यटकीय प्रदेशको रुपमा विकास गर्नेगरी काम अघि बढाएका छौं । प्रदेशका जनतालाई समृद्ध बनाउनेगरी काम गरिरहेका छौं ।” गण्डकी प्रदेशकै राष्ट्रिय गौरवको योजना कोरला–त्रिवेणी राजमार्ग, पुष्पलाल मध्यपहाडी लोकमार्गलगायत यातायातका सञ्जाल अघि बढाउने पनि उनले सुनाए । त्यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि अब चाँडै बन्ने भएकोले गण्डकी प्रदेशको विकास अब द्रुत गतिमा अघि बढ्ने गुरुङले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्