राष्ट्रिय प्रसारण लाइनमा जोडियो कालिकोट «

राष्ट्रिय प्रसारण लाइनमा जोडियो कालिकोट


राष्ट्रिय प्रसारण लाइनको पहुँचमा नपुगेका साविक कर्णालीका पाँच जिल्लामध्ये कालिकोटमा राष्ट्रिय प्रसारणलाइन पुगेको छ । गत सोमबारदेखि कालिकोट जिल्लामा परीक्षण प्रसारण सुरु भएसँंगै वर्षौंदेखि अन्धकार झेल्दै आइरहेका कालिकोटबासीले उज्यालो पाउने भएका छन् ।
कर्णाली प्रदेशको सुर्खेतमा पुगेको राष्ट्रिय विद्युत्को प्रसारणलाइन केही वर्षदेखि दैलेख जिल्लामा विस्तार भएको लाइन कालिकोट पुगेपछि कालिकोटबासी अब अन्धकारबाट मुक्त हुने भएका छन् । साविक कर्णालीका पाँच जिल्लामा ३३ केभी प्रसारणलाइन विस्तार गर्ने संघीय सरकारको पूर्वनिर्धारित लक्ष्यअनुसार कालिकोटमा राष्ट्रिय लाइन पुगेको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाही २०७० सालको निर्वाचनपछि ऊर्जामन्त्री भएको बेला ३३ केभी प्रसारणलाइन साविकको कर्णालीका जिल्लामा विस्तार गर्ने पहल गरेपछि अन्धकार कालिकोटले बल्ल उज्यालो पाएको छ ।
ऊर्जामन्त्री बनेको बेला शाहीले बजेटको व्यवस्था गरी पहल गरेसँंगै कालिकोटबाट नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा पुगेका मोतिलाल महतारा, राष्ट्रिय योजना आयोगका सदस्य मिनबहादुर शाही र संविधानसभा सदस्य तुलाराज विष्ट, जुम्लाका बलबहादुर महतले २०७० सालमा साविक कर्णालीमा राष्ट्रिय लाइनको विस्तृत अध्ययनका लागि माग गरेका थिए । सोहीअनुसार सुर्खेत–दैलेख हुँदै ३३ केभी प्रसारणलाइन कर्णालीका पाँच जिल्लामा विस्तार गर्ने काम भइरहेको छ । विस्तार ढिलाइ भए पनि सबस्टेसन निर्माणका लागि जग्गा उपलब्धसँंगै निरन्तर पहल गरेकाले कालिकोट राष्ट्रिय विद्युत्को पहुँचमा जोडिएको कालिकोटका सरोकारवालाले बताएका छन् ।
दैलेखदेखि दुल्लुसम्म ३१ वटा पोलमा तार विस्तार गर्न बाँकी रहेकाले अहिले ११ केभी पावर लाइनमात्र कालिकोटमा छोडिएको विद्युत् वितरण केन्द्र कालिकोटले जनाएको छ । कार्यालयका प्रमुख मेघराज जोशीले भने, “बाँकी पोलमा तार विस्तार गरसिकेपछि मात्र ३३ केभी लाइन छोड्ने छौँ, अहिले परीक्षण स्वरुप ११ केभी पावरको लाइन निरन्तर दिएका छौं । भोल्टेज पनि कमै छोडेको छ । छोडेको पावरले ठूलो पावर दिने मेसिनबाहेक अन्य टिभी, कम्युटर चलाउन सकिन्छ ।”
कालिकोटमा राष्ट्रिय प्रसारणलाइन जोडिएपछि कालिकोट विद्युत् प्रसारण केन्द्रको कार्यालयलगायत कालिकोटबासीले दिप प्रज्ज्वलन गरी खुसी ब्यक्त गरेका छन् । सोमबार सांँझ ७ बजेदेखि विद्युत् लाइन निरन्तर छोडेपछि कालिकोटबासीले खुसी व्यक्त गरेका छन् ।
कालिकोटको जलविद्युत् आयोजना करिब एब महिनादेखि बन्द रहेर जेनेरेटरबाट वैकल्पिक व्यवस्था भएको कालिकोटमा राष्ट्रिय प्रसारणलाइन जोडिएपछि स्थानीय व्यापारी सञ्चारगृह सबैलाई राहत भएको कालिकोटका सञ्चारकर्मी हस्त चौलागाईंले बताए ।

चार जिल्लामामा कहिले पुग्छ ?
साविक कर्णालीका ५ जिल्लामध्ये कालिकोटमा राष्ट्रिय लाइन पुगेपछि बाँकी जुम्ला, मुगु, डोल्पा र हुम्लामा पनि छिट्टै राष्ट्रिय प्रसारणलाइन जोड्न पहल गर्न नागरिक अगुवाले माग गरेका छन् । जुम्लाका नागरिक अगुवा राजबहादुर महत भन्छन्, “जुम्लाका अधिकांश बस्ती अँध्यारै छन् । जलविद्युत् पनि राम्रो छैन । जुम्लाका जनप्रतिनिधिको चासो र चिन्ता कम भएकाले ढिलाइ भयो ।” जुम्लाका १ लाख २० हजार नागरिकमध्ये ५ प्रतिशतमात्रै नागरिक विद्युत्को पहुँचमा छन् ।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डे भन्छन्, “जुम्लामा पनि राष्ट्रिय लाइन विस्तारका लागि पोल गाडिसकिएको छ । प्राधिकरणको प्राथमिकतामा पनि जुम्ला रहेकाले चाडै प्रसारणलाइन आउनेमा विश्वास व्यक्त गरे । तर जुम्ली अगुवाको पहल कदमी भने न्यून देखिन्छ । कालिकोटमा मात्र नभई प्रसारणलाइन साविकका पाँचैवटा जिल्लामा लाइन विस्तारको कामलाई द्रुत गतिमा बढाई प्राधिकरणको प्रदेश कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्