ईपीएलको उपाधि ललितपुरलाई «

ईपीएलको उपाधि ललितपुरलाई

भैरहवा ग्लाडियटर्सलाई पराजित गर्दै ललितपुर प्याट्रियट्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल)को उपाधि जितेको छ । भैरहवालाई १४ रनले हराउँदै ललितपुरले उपाधि उचालेको हो ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेल रोमाञ्चक बन्यो । खेलको अन्तिम ओभरमा ललितपुरका योगेन्द्रसिंह कार्कीले पहिलो बलमा भैरहवाका रोहितकुमार पौडेलको विकेट लिए भने भुवन कार्की र कुसल भुर्तेल रन आउट भएपछि भैरहवा दोस्रो पटक ईपीएलको उपविजेतमा सीमित रह्यो ।
भैहरवाका लागि ४ चौका र १ छक्काको मद्दतमा ३४ रन बनाएर खेलिरहेका ओपनिङ ब्याट्सम्यान प्रदिपसिंह ऐरीलाई योगेन्द्रसिंह कार्कीको बलमा कप्तान ज्ञानेन्द्र मल्लले क्याच आउट गरे । त्यस्तै २९ रन बनाएर खेलिरहेका भारतीय खेलाडी रवि इन्दर सिंहलाई पवन शराफको बलमा योगेन्द्रसिंह कार्कीले क्याच आउट गरे ।
१७ औं ओभरमा दुुई विकेट गुमाएपछि भैरहवा दबाबमा रहेको थियो भने रायन टेन डोस्काटे र कप्तान शरद भेषावकर समान १४—१४ रनको छोटो योगफलमा पवेलियन फर्किएपछि भैरहवा दबाबमा देखिएको थियो । कुसल मल्लले १६ रन र मोहमद नाभेलले १० रन लिए ।
भैरहवाविरुद्ध ४ ओभर बलिङ गरेका ललित नारायण राजवंशीले १७ रन खर्चेर ३ विकेट लिए भने ४ ओभर नै बलिङ गरेका पवन शराफले २६ रन खर्चेर २ विकेट लिएका थिए ।
४ ओभर बलिङ गरेका योगेन्द्रसिंह कार्कीले २९ रन खर्चेर २ विकेट लिए । यसअघि ललितपुरका ओपनिङ ब्याट्सम्यान गौरव तोमर र जसकिसन कोल्सावालाले ४१ रनको साझेदारी पारी खेले । फाइनल हेर्न त्रिवि क्रिकेट मैदानमा हजारौं दर्शक उपस्थित थिए ।
पहिलो इनिङमा ललितपुरले राम्रो सुरुआत गरेको थियो । ललितपुरका लागि ५२ बलमा ३ छक्का र ३ चौकाको मद्दतमा ५७ रन बनाएर खेलिरहेका भारतीय खेलाडी जय किसन कोल्सावालालाई कृष्ण कार्कीले बोल्ड आउट गरेका थिए । त्यस्तै, ललितपुरका लागि २४ रन नाएर खेलिरहेका सन्दीप जोरालाई भुवन कार्कीको बलमा अभिनास बोहराले क्याच आउट गरे । ओपनिङ ब्याट्सम्यान गौरव तोमरलाई २३ रनमा खेलिरहँदा रायन टेन डोस्काटेको बलमा रवि इनदर सिहंले क्याच गरेका थिए ।
कुसल भुर्तेललाई कृष्ण कार्कीको बलमा कुसल मल्लले क्याच आउट गरे भने १० रनमा खेलिरहेका कप्तान ज्ञानेन्द्र मल्ल अर्का कप्तान शरद भेषावकरको बलमा कुसल मल्लद्वारा क्याच भए ।
ललितपुरविरुद्ध भैरहवाका बलर कृष्ण कार्कीले उत्कृष्ट बलिङ गरे । उनले २ ओभर बलिङ गर्दै १५ रन दिएर ३ विकेट लिए । त्यस्तै, मोहमद नाभेद र रायन टेन डोस्काटेले समान दुई—दुई विकेट लिए भने कप्तान शरद भेषावकर र भुवन कार्कीले समान एक—एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्