सम्भव नेपालद्वारा गोरखाका ५ स्थानीय तहलाई एम्बुलेन्स प्रदान «

सम्भव नेपालद्वारा गोरखाका ५ स्थानीय तहलाई एम्बुलेन्स प्रदान

सम्भव नेपालले गोरखाका ५ स्थानीय तहलाई एम्बुलेन्स प्रदान गरेको छ । गोरखा नगरपालिका, धार्चे गाउँपालिका, गण्डकी गाउँपालिका, भीमसेन थापा गाउँपालिका र सहिद लखन गाउँपालिकाका लागि सम्भव नेपालले एम्बुलेन्स प्रदान गरेको हो । गोरखा नगरपालिकामा बुधबार एक कार्यक्रमको आयोजना गरी गोरखा नगरपालिकालाई २ वटा र अन्य पालिकालाई १/१ वटा एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।
कोभिडका बिरामी ओसारपोसारका लागि स्थानीय तहको मागअनुसार नै एम्बुलेन्स सहयोग गरेको सम्भव नेपालका अध्यक्ष प्रेम खत्रीले बताए । ‘गोरखा मेरो गृहजिल्ला हो । मेरो स्थायी ठेगाना आरुघाट गाउँपालिका ८ हो,’ उनले भने, ‘अहिले कोरोनाले जताततै समस्या छ । यस्तो अवस्थामा के सहयोग गर्नुपर्छ भनेर जनप्रतिनिधिहरूसँग बुझ्दा एम्बुलेन्स चाहिएको बताए । सोही आधारमा कच्ची बाटोमा सहजै गुड्न सक्ने एम्बुलेन्स खरिद गरी उपलब्ध गराएको छु ।’ प्रतिएम्बुलेन्स १२ लाख रुपैयाँ मूल्य परेको उनको भनाइ छ । बिरामीका लागि अक्सिजन सिलिण्डरको समेत व्यवस्था रहेको एम्बुलेन्समा कोभिड संक्रमणको जोखिम कम गर्न चालक र बिरामी सिटबीचमा पाटेसन गरी सुरक्षित बनाइएको छ । बिरामी कुरुवाका लागि आरामदायी सिट पनि राखिएको छ ।
एम्बुलेन्सका साथमा ५० हजार पिस मास्क, ८ सय लिटर सेनिटाइजर, ६ प्याकेट ग्लोब्स, ३०/३० थान पिपिई, फेस सिल्ड र स्प्रे गन, ६/६ थान स्ट्रेचर र थर्मल गन, अक्सिमिटर १ सय थान, एन्टिजेन किट ६ सय थान र भिटिएम १२ सय थान पनि पालिकालाई उपलब्ध गराईएको सम्भव नेपालका अध्यक्ष खत्रीले बताए । यिनै सामग्रीमध्येको मास्क र सेनिटाइजर आरुघाट र चुमनुब्री गाउँपालिकाका लागि पनि उपलब्ध गराएको उनकोे भनाइ छ । स्थानीय तहलाई एम्बुलेन्स र स्वास्थ्य सामग्रीसमेत गरी करिब १ करोड रुपैयाँ बराबरको सहयोग गरेको उनले बताए ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले सहयोग प्राप्त एम्बुलेन्स कोभिडका बिरामीलाई अस्पताल आउजाउ गर्नका लागि निःशुल्क उपलब्ध गराउने बताए । ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, सुत्केरी र अपाङ्गता भएकाहरूका लागि पनि निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने मेयर पन्तले प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्