पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न निर्देशन : शिक्षामन्त्री «

पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न निर्देशन : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न निर्देशन दिए । केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले सो निर्देशन दिए ।
पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बुधबार सम्पन्न ८८ औ बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र बिक्रेतालाई कानुनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिए ।
उनले सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने, पुरानो नक्सा अंकित बजारमा बिक्री भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानुनअनुसार अनुसार कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका छन् ।
प्रकाशक र बिक्रेताले पुरानो किताबको कभर परिवर्तन गरी पुस्तक बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् । तपाईंहरुले अनुगमन गर्नुस्, देशको आँच पुग्ने गरी पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्नुस्–मन्त्री श्रेष्ठको निर्देशन थियो ।
मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखी नयाँ पुस्तक बिक्री गर्नेमाथि कडा कारबाही गरिने जानकारी दिए । उनले भने,
‘यस विषयमा तत्काल अनुगमन गर्नेछौ, गल्ती गर्ने प्रकाशक र बिक्रेतामथि कारबाही प्रक्रिया अघि बढाउनेछांै । उनले सरकारले नयाँ नक्सा जारी गरिसकेको अवस्थामा पुरानो नक्सा उल्लेख गर्नु गम्भीर त्रुटि भएको बताउँदै त्यस्तामाथि कडा कारबाही गर्नुपर्ने बताए ।
अधिकांश बिक्रेताले नेपालको पुरानो नक्सा उल्लेख गरी बिक्री गरेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेका प्रकाशक र बिक्रेतामाथि कारबाही प्रक्रिया अघि बढाउने जानकारी दिए ।
उनले भने, ‘पुरानो नक्सा राखेर पुस्तक छापाइ गरेको जानकारी पाएका छौं, तीमध्ये केही प्रकाशकलाई स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अघि बढाएका छांै,’ उनको भनाइ थियो ।
अधिकांश पुस्तक प्रकाशक र बिक्रेताले सामाजिक शिक्षा, जिकेलगायतका पुस्तकमा पुरनै नक्सा राखेर छपाइ गरेको पाइएको छ । मन्त्री श्रेष्ठले सरकारले जारी गरेको चुच्चे नक्सा नराखी प्रकाशन गर्ने पुस्तक व्यापारीलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिए ।
बैठकमा मन्त्री श्रेष्ठले कक्षा ६ को पुस्तक अभाव हुन नदिने सूचीकृतमा परेका प्रकाशकको पुस्तक छपाइका लागि स्वीकृत दिनसमेत निर्देशन दिए । बैठकले विभिन्न विषयका कक्षा ६–८ को पाठयक्रम स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्