स्थानीय तह र प्रदेशले पाउने अधिकारका लागि आवाज उठाउने

नवनिर्वाचित राष्ट्रिय सभा सदस्य दृग नारायण पाण्डेले संघीयताको आधारमा स्थानीय तह र प्रदेशले पाउने अधिकारका लागि आफूले दह्रो गरी आवाज उठाउने बताए छ ।
बुधबार राष्ट्रिय सभा सदस्यको शपथ ग्रहणपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै देशको संघीयता, समावेशी र समानुपातिकताको आधारमा स्थानीय तह र प्रदेशले पाउने अधिकार अझै पनि पाउन नसकेको भन्दै त्यसको निम्ति संसदमार्फत् बुलन्द आवाज उठाउने बताए । उनले नेपालको लोकतन्त्र र संविधान ओझेलमा देखिएको टिप्पणी पनि गरे । उनले भने, ‘मेरो प्राथमिकता भनेको अहिलेको अवस्थामा लोकतन्त्र वा संविधान नै ओझेलमा देखिएको छ । लोकतन्त्र र संविधानमाथि नै विभिन्न किसिमका तत्वहरू टीकाटिप्पणीहरू, वक्तव्यवाजी गरिरहेका छन् । त्यसले गर्दा अहिले यो देशको जुन संघीयता हो, समानुपातिक, समावेशी हो । यो वास्तवमा जुन ठाउँमा जहाँसम्म पुग्नुपर्ने हो त्यो अहिले पुग्न सकेको छैन र अहिले पाउने अधिकार संघीयताको आधारमा स्थानीय तह, प्रदेशसम्म पूरा अधिकार नि पुगेको छैन । यी विषय वस्तुहरूलाई समेटेर संसदमा हामी सबै मान्यज्यूहरूको छलफलद्धारा हामीले यसलाई बुलन्द रूपले आवाज माथि उठाउनेछौं ।’
नेपाली कांग्रेसका उम्मेदवार पाण्डेले नेकपा(माओवादी केन्द्र), नेकपा(एमाले) माधव नेपाल पक्ष, जसपा उपेन्द्र यादव पक्ष र जनमोर्चाको समेत समर्थनमा जेठ १७ गते लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको हो । उनले बुधबार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट शपथग्रहण गरे ।