वर्षामा चीन, हिउँदमा भारत «

वर्षामा चीन, हिउँदमा भारत

हुम्ला-भूगोलको विविधताले अर्थ सामाजिक विविधता पनि उत्तिकै दिन्छ । हुम्लाको पनि विकटका लिमीवासीलाई भूगोलको विविधतासँगै कमाउने विविधता पनि छ । उनीहरू गर्मी र जाडोयाममा कमाउनका लागि आफ्नै सहरदेखि छिमेकी चीन र भारतसमेत जान्छन् । लिमीवासी गर्मीयाममा कमाउन चीन जान्छन् भने जाडोयाममा भारत । दुवैयाममा लिमीवासीमात्र होइन हुम्लाको नाम्खा गाउँपालिकाका अधिकांस युवा कमाउन चीन र भारत जाउआउ गरिरहन्छन् । कमाउन, आराम गर्नलगायतका काममा हिड्नु लिमीवासीको विशेषता हो ।

गर्मीको कथा
चिसोमा मंसिरदेखि नै सहर छिर्ने लिमीवासी गर्मी मौसममा भने कामको लागि चीन सिमाको पुलाङ काउण्टीको ताक्लाकोट र मानसरोबर आसपास जान्छन् । कामको लागि त्यसरी पुलाङ काउण्टीमा जानेहरूले दैनिक ५ सयदेखि १ हजार स्युकर (नेपाली ९ हजार रूपैयाँदेखि १८ हजार रूपैयाँ) सम्म कमाउँछन् । आकर्षक कमाइ भएपछि गर्मीयाममा लिमी उपत्यकाका काम गर्न सक्ने युवाहरू ताक्लाकोट जान्छन् । उनीहरू हिउँदको लागि खाद्यन्न र रसदपानीको बन्दोबस्त गरेर असोज, कात्तिकमा गाउँ फर्कन्छन् । किनकि जाडोयाममा घरकुरुवाको लागि बन्दोबस्तीको सामग्रीहरू जोहो गरिदिनुपर्छ ।
घर छोड्नुभन्दा पहिले हिउँदमा घर कुर्ने र पुजारीको लागि आवश्यक पर्ने बन्दोबस्तीका सामान २ महिना अगाडिदेखि नै ताक्लाकोटबाट खरिद गरिएको छ । घरै पुर्ने गरी हिउँ पर्ने भएकाले आवश्यक इन्धन, दाउरा, खानपानका सबै सामग्री संकलन गरिएको छ । चीनतिर उनीहरू कमाउन मात्रै होइन, आराम गर्नका लागि जान्छन् ।

जाडोको कथा
अहिले जाडोले छोपेको छ । मंसिरभित्रै हुम्लामा दुईपटक हिउँ परिसकेको छ । यसैले लिमीवासी अहिले सहर छिरिसकेका छन् । नाम्खा गाउँपालिकाका– ६ मा तीन गाउँ छन्, तिल, हल्जी र जाङ । अत्याधिक चिसो हुने यी गाउँमा करिब २ सय घरधुरी छन् । यतिबेला गाउँमा वृद्धवृद्धा र गोम्बाका पुजारीबाहेक कोही छैनन् । एकाघरमा बेलुका बालिएको बत्तीबाहेक गाउँ सुनसान छ । लिमीका स्थानीय काठमाडांै जान ५ हजार ३ सय मिटर उचाइको न्यालु लेक पार गरी ४ दिन पैदल हिँडेर सिमकोट पुगेका वडाध्यक्ष पाल्जोर तामाङले बताए । हिउँदमा काम नहुने भएकोले घुम्न र आरामको लागि उनीहरू गाउँनै रित्तो हुने गरी सहर जाने गरेका तामाङ बताउँछन् । “काठमाडौं गएर गुम्बाको दर्शन गर्ने, घुम्ने गर्छन्,” उनले भने, “यो हाम्रो पुरानो चलन हो । वर्षायाममा कडा कामको आराम गर्न, उपचार गर्न र सामानको किनमेलको लागि पनि स्थानी सहर झर्छन् ।”
सदरमुकाम सिमकोटका बाटाघाटामा भने हुलकाहुल लिमीवासी भेटिन्छन् । कोही युवा नेपालगञ्ज, सुर्खेत र काठमाडौंको बौद्धआसपास पुगेका छन् भने कोही भारत पसिसकेका छन् । उनीहरू बैशाखलागेपछि मात्रै गाउँ फर्किन्छन् । उनीहरू भारत गएर काठबाट बन्ने कलात्मक भाँडा (फुरु) बनाउँछन् र त्यसलाई बेच्नको लागि चीनको बजार जान्छन् । आकारअनुसार एउटा फुरुलाई ५ हजार रूपैयाँदेखि लाखौं रूपैयाँसम्म बेच्छन् । चीनमा फुरुलाई विशेषरूपले खरिद गरिन्छ । अझ फुरुमा सुन र चाँदीको बुट्टा भरेकोभए झनै बहुमूल्य हुन्छ । चीनमा सम्पन्नता देखाउनको लागि पनि यो भाँडो घरमा राख्ने प्राचीन मान्यता छ ।

विद्यालयदेखि कार्यालय जेठसम्म बन्द
सदरमुकाम आइपुगेकी लिमीतिल गाउँकी फुटी लामा काठमाडौं जाने तरखरमा छिन् । कारण हो, त्यहाँ अध्ययन गरिरहेका आफ्ना बालबालिका भेट्नु । भन्छिन्, “म छोराछोरी भेट्न काठमाडौं जान लागेकी हुँ, त्यहाँ उनीहरू पढिरहेका छन् ।” उनका गाउँले भने गइसकेका छन् । जाडोले बन्द भएका सम्पूर्ण सरकारी र गैरसरकारी कार्यालय अब जेठमा मात्रै खुल्छन् । विद्यालयहरू असौजमा नै बन्द हुने गरेको र अधिकांश बालबालिकाहरू काठमाडौंका बौद्ध शिक्षालयमा अध्ययनको लागि झरेका छन् । त्यसै गरी भन्सार कार्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकीमा कार्यरत कर्मचारी असौजमा नै घर गएका छन् । प्रहरी चौकीमा कार्यरत प्रहरीलाई अत्याधिक चिसोको कारण सिमकोटमा रहेको जिल्ला प्रहरी कार्यालयमा काजमा खटाइएको छ ।

फरक जीवनशैली
उनीहरूको जीवनशैली जिल्लाका अन्य बासिन्दाभन्दा फरक छ । अरु स्थानका हुम्ली काम नपरिकन गाउँ छोड्दैनन् । नेपाली भाषा पनि राम्रोसँग बोल्न नआउने लिमीवासीहरू जहाँ गएपनि समूहमा नै खानपान र बसोबास गर्छन् भने जहिलपनि बन्दोवस्तीका सामग्री बोकेरै जान्छन् । सहर जाँदा पनि यस्तै गर्छन् । होटेलमा बास बस्न त्यति रुचाउँदैनन् । लिमी गाउँबाट सदरमुकाम सिमकोट आवतजावत गर्न चलन चल्तीका दुई वटा बाटो करिब ४ हजार ३ सय मिटर उचाईको नारा लेक पार गर्दै हिल्सा भएर जाङ हुदै हल्जीबाट अन्तिम गाउँ तिल पुग्छन् ।

 

प्रतिक्रिया दिनुहोस्