संकटका सारथि बन्दै पत्रकार «

संकटका सारथि बन्दै पत्रकार

गएको हप्ता दिनअघि हामी नेपाल पत्रकार महासंघ, काभ्रे शाखाको कार्यालयमा पुग्दा अध्यक्ष बद्रीराज तिमल्सिना अलि हतारमा थिए । महासंघ काभ्रे शाखाले स्थापना गरेको आपत्कालीन राहत कोषमा नेपाल प्रेस युनियनका तर्फबाट सहयोग रकम हस्तान्तरणका लागि पुगेका टोलीलाई छोटो समय दिएर उनी बिदा भए । महामारी नियन्त्रणका लागि स्थानीय र सरकार तथा स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य सामग्रीहरू प्रदान गरी थप हौसला प्रदान गर्नु उहाँको अर्को अभियानमा रहेछ ।
विश्वव्यापी रूपमा फैलिएको कोभिड महामारीले काभ्रे जिल्लालाई पनि निकै प्रभाव पारेको थियो । कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि यसको व्यवस्थापन, रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयहरूले निषेधाज्ञा गरेका थिए । केही पालिकाहरू सिल गरिएका थिए । सडकमा साइरन बजाउँदै प्रहरी र एम्बुलेन्सहरू गुडिरहेका थिए । कोरोनाको कहर सामुदायिक स्तरसम्म फैलिएको थियो । कोभिडका बिरामीहरूले अस्पतालमा बेड पाउन सकिरहेका थिएनन् । अक्सिजन, आईसीयू र भेन्टिलेटरको अभाव सिर्जना भएको थियो । कतिले अकालमा ज्यान गुमाइरहेका थिए, कति जना त अक्सिजन नपाएर छट्पटाइरहेका थिए । बिरामीका आफन्तहरूको आँसु रोकिएको थिएन । हरेक पत्रकारहरूको कलमले मृत्युको खबर लेखिरहेको थियो ।
सबै पत्रकारहरु घरभित्रै रहेर प्रविधिको उपयोग गरी समाचार संकलन र प्रकाशन गरिरहेको समयमा पत्रकारिता र समाजसेवालाई समानान्तर रूपमा अघि बढाई संकट निवारण कार्यमा निरन्तरता दिंदै संकटका सारथिका रूपमा महासंघका अध्यक्ष तिमल्सिनाले खेलेको भूमिका प्रशंसनीय छ । पत्रकारिता पेसाको संवद्र्धन, पत्रकारहरूको संरक्षण र हितका लागि विभिन्न सामाजिक संघसंस्था, व्यक्ति तथा शुभेच्छुकहरूसँग समन्वय गरी आपत्कालीन राहत कोषको स्थापना गरेर यसलाई मजबुत बनाउने अभियानमा सिङ्गो कार्य समिति प्रतिबद्ध ढंगबाट लागेको छ । आफ्नो पेसा, आबद्ध सदस्य, संगठनका साथै सामाजिक हितका कार्यहरू गर्नु कुशल नेतृत्वमा हुनुपर्ने एउटा गुण हो ।
पत्रकार महासंघ काभ्रेको समन्वयमा प्रारम्भ भएको सामाजिक संस्था र आनी छोइङ डोल्मा फाउन्डेसन तथा सिंगापुर रेडक्रसद्वारा कोरोना विशेष अस्पताललाई भेन्टिलेटर मेसिन उपलब्ध गराइयो । कोभिड–१९ बाट संक्रमितहरूको जीवन रक्षार्थ सक्रिय रहेको अस्पताल, स्वास्थ्य संस्थालाई भेन्टिलेटर, हाईफ्लो अक्सिजन कन्सन्ट्रेटर, पीपीई सेटलगायतका अत्यावश्यक सामग्रीहरू वितरण गरेर उदारणीय कार्य गरेका छन् । कोरोना भाइरसको संक्रमणको जोखिम नियन्त्रण तथा व्यवस्थापनका लागि स्थानीय पालिकाहरूसमेत स्वास्थ्य सामग्री वितरण गर्नु पत्रकारिता पेसा पनि समाजप्रति पूर्ण उत्तरदायी रहन्छ भन्ने बलियो प्रमाण पनि हो ।
हरमानिसको स्वास्थ्य र ज्यान उत्तिकै महत्वपूर्ण छ । महामारीको सन्त्रासमा रुमल्लिएको सामाजिक मानसिकताभन्दा बाहिर निस्केर त्रासदी र चुनौतीपूर्ण दैनिकीलाई चिर्दै मस्तिष्कमा समाजको चिन्ता, हृदयमा मानवीय सेवाका साथ युद्धभूमिमा होमिएका यी पत्रकार युद्धभूमिको सिपाहीसरह महामारीविरुद्ध लडिरहेका छन् । सायद उनलाई कोरोनाले मर्छु भन्ने डर पटक्कै लाग्दैन । उनको समाजसेवाको भावनालाई बुझ्ने हो भने यस्तो लाग्छ कि यो विषम परिस्थितिमा कसैले पनि ज्यान गुमाउनु नपरोस् ।
सूचना विभागले जारी गरेको पत्रकार परिचयपत्र गलामा भिरेर अस्पताल, स्वास्थ्य केन्द्रका साथै स्थानीय तहहरूले सञ्चालन गरेका अस्थायी कोभिड अस्पताल र आइसोलेसनसम्म पुगेर समाचार लिएर हैन, आवश्यक स्वास्थ्य सामग्री दिएर फर्किन्थे । संकटको घडीमा पत्रकारका अभिभावकलाई समाचारको कन्टेन हैन, नागरिक सुरक्षाको प्रत्याभूति चाहिएको छ । पत्रकार महासंघ काभ्रेका अध्यक्ष नै महामारीविरुद्धको अभियानमा अग्रपंक्तिमा रहेर मानवीय सेवामा सक्रिय रहँदा पत्रकारिता पेसा र मर्यादालाई अझ उचाइमा पु-याएको छ ।

प्रतिक्रिया दिनुहोस्