नेपालबाटै मानसरोवर कैलाशको दर्शन «

नेपालबाटै मानसरोवर कैलाशको दर्शन

हुम्ला-मानसरोवर कैलाश तिर्थयात्रा नेपालबाटै गर्न सकिने भएको छ । चिनको पुलाङ्ग काउण्टीमा रहेको मानसरोवर कैलाश तिर्थयात्राको एक मात्र असल गन्तव्यस्थल हुम्लाको हिल्सा र सिमकोट नाका भएको भएता पनि हाल नेपालबाटै दर्शन गराउन सकिने सम्भावना बढेको हो । नाम्खा गाउँपालिकाको आगामी वर्षको योजना अनुसार लिमीको लाप्चा भञ्याङ्गबाट यो सम्भावना देखिएको हो । सम्म परेको भुभागबाट प्रष्ट रुपमा चिनको मानसरोवर र कैलाश दृश्य देखिने भुभाग नेपालमा नै पाईए पछि यो सम्भावना बढेको हो ।
नाम्खाको लाप्चा लाबाट मानसरोवर र कैलाश एकैपटक दृश्यावलोकन गरी दर्शन गर्न पाईने उचित स्थानको रुपमा विकास हुँदै आएको छ । आन्तरिक पर्यटकले मात्र हाल उपयोग गर्दै आएको सो स्थानलाई गाउँपालिकाले केही व्यवस्थित गर्ने सोच रहेको प्रमूख प्रशासकिय अधिकृत बमबहादुर सुनारले बताउनु भयो । यस वर्ष भ्यू टावर सहितको अन्य आकर्षक गन्तव्स्थलको रुपमा विकास गर्न लागिएको सुनारको भनाई रहेको छ । मौसम सफा भएको बेला सुन्दर मानसरोवर र कैलाश एकै साथ दृश्यावलोकन गरी दर्शन गर्न सक्ने वातावरण सिर्जना पालिकाले गर्न लागेको हो ।
नाम्खा गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्नको लागि प्रचार प्रसार र अन्य सुविधा सहित पर्यटकलाई लाप्चाबाट दर्शन गराई पर्यटन प्रवद्र्धनको लागि टेवा पुर्याई गाउँपालिकाको आर्थिक समुन्नती बढाउनको लागि पहल गरिने अध्यक्ष विष्णु लामाले बताउनु भयो । यस वर्ष महोत्सव गरी ५ सय तिर्थयात्रीलाई दर्शन गराएको र यस वर्ष सडकको गुणस्तर वृद्धी गरी आगामी दिनमा अझ यसको वृद्धी गराउने गाउँपालिकाको योजना रहेको अध्यक्ष लामाको भनाई रहेको छ ।
‘सिमकोटबाट एक दिनको पैदल यात्रा पछि सवारी साधनको यात्रा मार्फत लिमीको लाच्चा ला पुग्न सकिने वातावरण सिर्जना गरिने छ’, अध्यक्ष लामाले बताउनु भयो । यसको लागि सडकको स्तरोन्तती, सवारी साधनको प्रयाप्तता लगायतको सुविधामा जोड दिईने गाउँपालिकाको योजना रहेको छ । हाल नाम्खा गाउँपालिकाको सबै जसो वडाहरुमा सडकको ट्रयाक खुलि सकेको भएको भएता पनि सहज सवारी साधन सञ्चालनमा समस्या भईरहेको छ । यसको स्तरोन्नती गर्न सकेमा सुन्दर दृश्यावलोकन र फरक संस्कृतीको स्वाद पर्यटकले लिन सक्ने अवस्था लिमीमा रहेको छ ।
हरेक वर्ष पैदल यात्रा, वन्यजन्तु, बोटविरुवा, संस्कृती अवलोकनको लागि आन्तरिक तथा तेस्रो मुलुकका पर्यटकको राम्रो आवागमन लिमी र लाप्चा भञ्याङ्गमा हुने गरेको छ । विशेष गरी त्यस क्षेत्रमा भाद्रको अन्तिम देखी कार्तिकको पहिलो हप्तामा मौसममा सुधार आउने भएकोले पर्यटक र तिर्थयात्रीको आवागमनको उपस्थिती बाक्लो हुने गरेको छ । तेस्रो मुलुकका पर्यटक पैदलै भ्रमण गर्न रुचाएको भएता पनि आन्तरिक पर्यटकको लागि भने सवारीको सुविधा जरुरी हुने गरेको छ ।
समुद्री सतहबाट ४ हजार ८ सय मिटरको उचाईमा रहेको लिमीको लाप्चा भञ्ज्याङ्ग अति नै सुन्दर ठाउँ पनि हो । लाप्चा भञ्याङ्गबाट पशुपन्छीको आकर्षक वासस्थानको रुपमा चिनिएको यो भञ्याङ्गबाट दर्शनको साथमा वन्यजन्तु र पशुपंछीको अवलोकन गर्न पाईने भए पछि पर्यटकको रोजाई रहँदै आएको छ ।सदरमुकाम सिमकोटबाट पैदल हिँडेर नेपाली यात्रीको लागि ३ दिन र तेस्रो मुलुकका यात्रीले ६ दिनको हिँडाई पछि लिमी लाप्चा भञ्याङ्ग पुग्ने गरेका छन् । नेपालकै अति नै सुन्दर ठाउँको रुपमा पर्यटकले लाप्चा भञ्याङ्ग र लिमी उपत्यकालाई लिने गरेको पाईएको छ ।
नाम्खा गाउँपालिकाले कैलाश दर्शनको लागि विभिन्न आकर्षक योजनाको साथमा यसलाई विकास गर्ने योजना बनाएको छ । सडक बाटोको लागि सुधार गरेर पर्यटकिय स्थलको विकास गर्न सकिएमा नाम्खा गाउँपालिकामा हुम्लाकै सबैभन्दा बढी गन्तव्यस्थल हुन सक्ने अवस्था रहेको छ । वन चौंरी, वन घोडा र वन्यजन्तुको उपयुक्त वासस्थानको लागि समेत लिमी लाप्चा भञ्याङ्ग प्रसिद्ध रहेको छ । यस वर्षको आँकडा अनुसार तेस्रो मुलुकका पर्यटक ३ सय ७६ र आन्तरिक पर्यटक ७ सय २१ जनाले मानसरोवर कैलाश नेपालबाटै गरेको तथ्याँक नाम्खा गाउँपालिकाले सार्वजनिक गरेको छ । यस क्षेत्रको भ्रमणको लागि स्थानिय प्रशासनबाट अनुमती लिनु पर्ने प्रावधान रहेको छ । नेपाल सरकारले हुम्लाको सिमकोट बाहेक सबै क्षेत्रलाई निषेधाज्ञा घोषणा गरेको छ भने भ्रमण र अध्ययनको लागि सरकारको अनुमति विना कोही कसैलाई हुम्लाको सबै क्षेत्र भ्रमण गर्न नपाउने प्रावधान रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्